बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
रास्वपा सचिवालय बैठक

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

बिहीबार, ०४ असार २०८३, १८ : ००
बिहीबार, ०४ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ।
  • रास्वपाको सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहन निर्देशन दिने निर्णय गरेको छ।
  • महाधिवेशनमा २५ सय देखि तीन हजारसम्म प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ र विद्युतीय भोटिङ मेशिनको प्रयोगमार्फत निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु भएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ।

पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

पार्टीका सदस्यहरूबिच कुनै मतभेद नराखि सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्नको लागि निर्वाचन आचारसंहिताभित्र रहेर प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको उनले बताए। 

महामन्त्री बुर्लाकोटीले विद्युतीय भोटिङ मेशिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेको जानकारी दिए। 

बैठकमा विधान संशोधनसम्बन्धी छलफल भई सचिवालयले केन्द्रीय समितिमा पठाउने गरी निर्णय गरेको उनले बताए। अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको समेत उनले जानकारी दिए। 

त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

महाधिवेशनमा २५ सय देखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको महामन्त्री बुर्लाकोटीले बताए । त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एक जना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले ती नजना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको उनले जानकारी दिए । 

पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि विभिन्न दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । 

सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेस प्रदेश बाहेक  अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ भने महाधिवेशनका लागि गठन गरिएका उपसमितिहरूले असार ६ गते साँझसम्म सबै तयारी सक्ने जानकारी गराएको महामन्त्री बुर्लाकोटीले बताए। रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप