राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई खुला पत्र लेख्दै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न आग्रह गरेका छन्।
- राजभण्डारीले पार्टी नेतृत्वमाथि सिद्धान्तविपरीत कार्य, इमानदार कार्यकर्तामाथि कारबाही, निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको र आर्थिक स्रोतमा प्रश्न उठाएका छन्।
- उनले पार्टी कार्यालयका लागि निःशुल्क उपलब्ध गराएको आफ्नो निजी सम्पत्ति खाली गर्न तथा निर्वाचनका क्रममा दिएको ३५ लाख रुपैयाँ तत्काल फिर्ता गर्न माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय समितिलाई खुला पत्र लेख्दै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न आग्रह गरेका छन्।
पत्रमा राजभण्डारीले अध्यक्ष लिङ्देनले पार्टीको सिद्धान्त, राजसंस्था पुनःस्थापनाको आन्दोलन तथा समान विचारधाराबिचको समन्वयलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन्। उनले पार्टीभित्र इमानदार नेता तथा कार्यकर्तामाथि कारबाहीको नीति अवलम्बन गरिएकाले गुटबन्दी, फुट र विभाजनको अवस्था सिर्जना भएको दाबी गरेका छन्।
पत्रमा उनले हालैका निर्वाचनमा राप्रपाले अपेक्षित परिणाम हासिल गर्न नसकेको र अधिकांश उम्मेदवारको जमानत जफत भएको उल्लेख गर्दै त्यसको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन्। समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा पनि नेतृत्वले मनपरी गरेको आरोप उनले लगाएका छन्।
राजभण्डारीले अध्यक्ष लिङ्देनको आर्थिक स्रोतबारे समेत प्रश्न उठाएका छन्। खुला पत्रमा राजभण्डारीले धुम्बाराहीस्थित शशीकला स्मृति भवन आफ्नो निजी सम्पत्ति भएको उल्लेख गर्दै पार्टी सञ्चालनका लागि निःशुल्क उपलब्ध गराइएको तर नेतृत्वप्रति विश्वास समाप्त भएकाले भवन खाली गर्नुपर्ने अवस्था आएको बताएका छन्।
उनले २०७९ सालको निर्वाचनका क्रममा आफूले दिएको ४५ लाख रुपैयाँमध्ये १० लाख रुपैयाँ मात्र फिर्ता आएको र बाँकी ३५ लाख रुपैयाँ तत्काल फिर्ता गर्न माग गरेका छन्। उक्त रकम फिर्ता नगरेको आरोप लगाउँदै उनले पार्टीका कोषाध्यक्षसमेत यस विषयमा जवाफदेही हुनुपर्ने बताएका छन्।
राजभण्डारीका अनुसार भवन खाली गर्नका लागि कानुनी प्रक्रियाअन्तर्गत ३५ दिने सूचना प्रभा लुइँटेलको नामबाट यसअघि नै जारी गरिएको छ। उनले केन्द्रीय समितिले यस विषयमा न्यायोचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै अन्यथा भविष्यमा उत्पन्न हुन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन्।
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्न लागेको सन्दर्भमा दिलबिकासको यो पत्र बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण