शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्‌को पहुँच बाहिर

उत्पादनमा सरकारीभन्दा निजी क्षेत्रको योगदान तीन गुणा बढी
शुक्रबार, ०५ असार २०८३, ०७ : १४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशमा १३५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन भए पनि ६० हजारभन्दा बढी घरपरिवार अझै विद्युत् सेवाबाट वञ्चित छन् ।
  • प्रदेशमा विद्युतीकरणको अवस्था ८८ प्रतिशत पुगेको छ र बाँकी १२ प्रतिशत घरपरिवार टुकी, दियालो र सल्लाको भरमा रात काट्न बाध्य छन् ।
  • विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र बाँकी रहेका ६० हजार घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य राखेको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेश जलस्रोतको धनी मानिन्छ । यहाँका ठुला नदीनालाबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाका बिच पछिल्लो समय उत्पादनमा उल्लेख्य वृद्धि पनि भएको छ । चमेलिया जस्ता ठुला आयोजना र निजी क्षेत्रका कालंगा तथा अपि हाइड्रोले राष्ट्रिय प्रसारण लाइनमा निरन्तर बिजुली थपिरहेका छन् ।

करिब १३५ मेगावाट भन्दा बढी विद्युत् उत्पादन भइरहेको यस प्रदेशमा अझै पनि ६० हजारभन्दा बढी घरपरिवार टुकी, दियालो र सल्लाको भरमा रात काट्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जगतबहादुर चन्दका अनुसार प्रदेशमा विद्युतीकरणको अवस्था ८८ प्रतिशत पुगेको छ । बाँकी १२ प्रतिशतमा विद्युतीकरण हुन अझै बाँकी छ ।

तथ्याङ्क अनुसार सुदूरपश्चिममा हालसम्म ६० हजार ७८७ घरपरिवार विद्युत् सेवाबाट पूर्ण रूपमा वञ्चित छन् । यी घरधुरीमा न त राष्ट्रिय प्रसारण लाइनको तार पुगेको छ, न सोलार वा लघु जलविद्युतको उज्यालो नै ।

अहिले डिजिटल युगमा पनि यी ६० हजार परिवारका बालबालिका साँझ परेपछि उज्यालो देख्न पाउँदैनन् । उनीहरूको दैनिकी दियालो सल्लाको काठ, टुकी वा टर्च लाइटको उज्यालोमा सीमित छ ।

प्रादेशिक कार्यालयको तथ्याङ्क हेर्दा विद्युत् पहुँचको दायरा भने फराकिलो हुँदै गएको देखिन्छ । कार्यालय प्रमुख चन्दका अनुसार हालसम्म सुदूरपश्चिममा विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ४ लाख १७ हजार ७९४ पुगेको छ । यी घरधुरीले राष्ट्रिय प्रसारण लाइनमार्फत् सिधै मिटर जडान गरेर बिजुली बालिरहेका छन् ।

यसका साथै प्रसारण लाइन पुग्न नसकेका ठाउँहरूमा वैकल्पिक ऊर्जाको प्रयोग भइरहेको छ । सोलार तथा साना लघु जलविद्युत् आयोजनाहरूबाट सेवा लिने घरधुरीको सङ्ख्या ८३ हजार ९५६ छ ।

प्रदेशका ८८ वटै स्थानीय तहमा कुनै न कुनै रूपमा विद्युतको पहुँच पुगेको छ । स्थानीय तहमा पुग्नु र हरेक नागरिकको घरमा पुग्नु फरक कुरा हो । स्थानीय तहको केन्द्र वा सुगम वडामा बत्ती पुगे पनि दुर्गम वडाहरू अझै अँध्यारोमै छन् । शतप्रतिशत विद्युतीकरण हुन नसक्दा ती ८८ स्थानीय तहका कुना–कन्दराका बस्ती अझै टुकीकै भरमा छन् ।

सुदूरपश्चिममा विद्युतको माग र आपूर्तिको अवस्था हेर्दा उत्पादन पक्ष सबल बन्दै गएको छ । हाल प्रदेशभित्र कुल उत्पादनमध्ये निजी क्षेत्रको योगदान सरकारी उत्पादनभन्दा तीन गुणा बढी छ ।

सरकारी तवरबाट हाल ३१ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसमा दार्चुलामा रहेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना मुख्य हो भने बाँकी १ दशमलव ६ प्रतिशत साना तथा मझौला माइक्रो हाइड्रोबाट उत्पादन भइरहेको छ ।

यसको ठिक विपरीत निजी क्षेत्रले सुदूरपश्चिमको ऊर्जा क्षेत्रमा क्रान्ति नै ल्याएको छ । हाल निजी क्षेत्रका आयोजनाहरूबाट १ सय ३ दशमलव ८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालंगा हाइड्रो, अपि हाइड्रो, दार्चुला लगायतका आयोजनाहरूले उत्पादन भएको यो बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गरी राष्ट्रिय प्रसारण लाइनमार्फत प्रवाह गरिरहेको छ ।

यसरी हेर्दा प्रदेशभित्रै करिब १३५ मेगावाट बिजुली उत्पादन हुन्छ । आफ्नै आँगनको खोलाबाट उत्पादन भएको बिजुली तारमा बगेर अन्यत्र जान्छ । त्यही खोलाको किनारमा बस्ने स्थानीय भने अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको विद्युतीकरणबाट वञ्चित स्थानीयको गुनासो छ ।

उत्पादन राम्रो भए पनि वितरण प्रणाली र पूर्वाधार विस्तारमा भएको ढिलासुस्तीले नागरिकले यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् ।

विद्युत् प्राधिकरणले अबको दुई वर्षभित्र सुदूरपश्चिमलाई पूर्ण उज्यालो बनाउने लक्ष्य राखेको छ । प्रादेशिक प्रमुख चन्दका अनुसार आगामी दुई वर्षभित्र बाँकी रहेका ६० हजार घरधुरीमा पनि विद्युत् पुर्‍याउने गरी काम भइरहेको छ ।

‘अहिले हामी ८८ प्रतिशत विद्युतीकरणको अवस्थामा छौँ, बाँकी ठाउँमा पनि प्रसारण लाइन विस्तारको काम द्रुत गतिमा अघि बढेको छ,’ उनले भने ।

दुर्गम भौगोलिक बनावट, सडकको असुविधा र बजेट विनियोजन जस्ता चुनौती भए पनि प्राधिकरणले ती ६० हजार परिवारमा विद्युत् विस्तारको काम गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप