रास्वपा महाधिवेशनस्थलको तापक्रम ३६ डिग्रीसम्म पुग्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा असार ७ देखि ९ गतेसम्म हुने पहिलो राष्ट्रिय महाधिवेशनमा करिब ७ हजार जना सहभागी हुने अनुमान छ ।
- भरतपुर क्षेत्रको तापक्रम ३४ डिग्री पुगेको छ र असार ९ गतेसम्म ३५-३६ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
- आयोजक समितिले गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई पिउने पानी, छाता र हल्का कपडा साथमा ल्याउन तथा कम सवारीसाधन प्रयोग गर्न सुझाव दिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा करिब ७ हजार जना सहभागी हुने अनुमान गरिएको छ । चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन आउने क्रम जारी छ ।
अत्यधिक गर्मीका कारण जनजीवनमा असर पर्न सक्ने आयोजक समितिले जनाएको छ । भरतपुर क्षेत्रको तापक्रम शुक्रबार ३४ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार असार ९ गतेसम्म तापक्रम बढेर ३५÷३६ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ ।
यता आयोजक समितिले चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई पिउने पानी, छाता र हल्का कपडा साथमा ल्याउन सुझाव दिएको छ । साथै, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ ।
महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि रास्वपाले विभिन्न १८ वटा उपसमिति गठन गरेको छ । उपसमितिको संयुक्त बैठक बसेर थप निर्णय लिने महामन्त्री भूपदेव शाहले जानकारी दिए । ‘हामी चितवन पुग्दैछौँ । सबै उपसमितिको बैठक बसेर व्यवस्थापनको कामलाई तीव्रता दिनेछौँ’, उनले भने ।
यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुने देखिएपछि डा. तोसीमा कार्की नेतृत्वको स्वास्थ्य सेवा उपसमितिले आवश्यक तयारीको काम गरिरहेको छ । सो समितिमा डा.चन्दा कार्की भण्डारी, डा. प्रभात अधिकारी, डा. लेखजंग थापा, रञ्जु दर्शना र नमिता यादव छन् ।
महाधिवेशनमा करिब प्रतिनिधि तथा शुभेच्छुक गरी कुल ७ हजार सहभागी हुने अनुमान गर्दै त्यसै अनुसार शिविर व्यवस्थापन, हेल्थ डेस्क, एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्रीहरू ‘स्ट्यान्डबाइ’ राखिएको संयोजक कार्कीको स्वकीय रिता थापाले जानकारी दिइन् ।
‘अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण महाधिवेशन प्रतिनिधिहरू, शुभेच्छुक तथा सहभागी अन्य व्यक्तिहरू प्रभावित नहोस् भनेर हामीले टिम नै बनाएर काम गरिरहेका छौँ । केही समस्या भएमा तत्काल हेल्थ डेस्कमा सम्पर्क गर्न सबैलाई आग्रह गर्दछौँ’, थापाले भनिन् ।
महाधिवेशनमा प्रतिनिधिमात्र तीन हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । आवास तथा भोजन व्यवस्थापन संयोजक राजन गौतमका अनुसार अधिकांश प्रतिनिधि र पर्यवेक्षकले होटल बुकिङ गरिसकेका छन् । महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा भरिने अनुमान गरिएको छ ।
सहभागीहरूलाई लक्षित गर्दै होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले विशेष छुटको व्यवस्था गरेका छन् । आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने जनाइएको छ । गौतमका अनुसार महाधिवेशन उद्घाटन गेष्टहाउस चौरमा गर्ने तयारी छ । बन्दसत्र नेपाल उद्योग संघको प्रदर्शनी हलमा हुने उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा घर बनाउन कडा नियम : सेप्टिक ट्याङ्कदेखि दुई रुखसम्म
-
वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण