ललितपुर रैथाने बस्तीमा अनुमति बिना टिपर चलाउन रोक
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नगरको ट्राफिक चाप व्यवस्थापन, सहरी सौन्दर्य कायम राख्न र सडक पूर्वाधार सुदृढ बनाउन विशेष योजना समावेश गरेको छ ।
- आवासीय क्षेत्रहरूमा टिपर जस्ता ठुला सवारी साधनको आवागमनलाई नियन्त्रण गर्ने नीति लिइएको छ ।
- ठैब, हरिसिद्धि, धापाखेल र बुङ्गमती लगायतका रैथाने बस्ती र आवासीय क्षेत्रहरूमा वडा कार्यालयको पूर्वसहमति बिना टिपर चलाउन नपाउने व्यवस्था गरिएको छ ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले नयाँ नीति तथा कार्यक्रममा नगरको ट्राफिक चाप व्यवस्थित गर्न, सहरी सौन्दर्य कायम राख्न र सडक पूर्वाधारलाई थप सुदृढ बनाउन विशेष योजनाहरू समावेश गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रममा महानगरपालिकाले बागमती, नख्खु र कर्मनाशा कोरिडोर सडक निर्माणलाई अघि बढाउँदै आवासीय क्षेत्रहरूमा टिपर जस्ता ठुला सवारी साधनको आवागमनलाई नियन्त्रण गर्ने नीति लिएको उल्लेख छ ।
आवासीय क्षेत्रमा टिपर रोक
महानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार नख्खु, बागमती र कर्मनाशा कोरिडोर निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ । टिपर लगायतका ठुला र गह्रुँगा सवारी साधनहरूको आवागमनलाई व्यवस्थापन गर्न मुख्य रूपमा नख्खु र बागमती कोरिडोर सडकहरूबाट मात्र सञ्चालन गर्ने गरी सम्बन्धित निकायहरूसँग समन्वय गरिने जनाइएको छ ।
‘रैथाने बस्ती र आवासीय क्षेत्रहरूको सुरक्षा तथा वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै ठैब, हरिसिद्धि, धापाखेल र बुङ्गमती लगायतका क्षेत्रहरूमा सम्बन्धित वडा कार्यालयको पूर्वसहमति बिना टिपर चलाउन नपाउने’ नीति कार्यक्रममा उल्लेख छ ।
पाइलट प्रोजेक्टका रूपमा ‘युटिलिटी कोरिडोर’
सडक खनिरहने समस्या न्यूनीकरण गर्न र सहरी सौन्दर्यलाई जोगाउन महानगरपालिकाले ‘युटिलिटी कोरिडोर’को अवधारणा अघि सारेको छ । यसअन्तर्गत तार, पाइप लगायतका भूमिगत संरचनाहरूलाई व्यवस्थित रूपमा राख्न सकिने सहरी सडकहरूको पहिचान गरिनेछ । प्रारम्भिक चरणमा निश्चित सडकहरू छनोट गरी पाइलटिङको रूपमा यसको निर्माण कार्य सुरु गरिने कार्यक्रममा उल्लेख छ ।
रणनीतिक सडकहरूको वर्गीकरण
यातायात सञ्जाललाई थप व्यवस्थित र उत्तरदायी बनाउन महानगरले दीर्घकालीन महत्त्व बोकेका सडकहरू पहिचान गरी रणनीतिक सडकहरूको वर्गीकरण गर्ने भएको छ । यस वर्गीकरण अन्तर्गत कुन सडक महानगरपालिकाको कार्यालयले र कुन सडक सम्बन्धित वडा कार्यालयले निर्माण तथा मर्मत सम्भार गर्ने भन्ने विषय स्पष्ट रूपमा तोकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
-
स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा
-
संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण