देशभर किन बढ्यो रेबिजविरुद्ध खोपको अभाव ?
सारांश
- देशभर माग अनुसार रेबिजविरुद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको छ ।
- कुकुर, बाँदर, बिरालो लगायतका जनावरले टोकेर खोप लगाउन जानेको सङ्ख्या बढेको छ ।
- स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र चार हजार पाँच सय भाइल खोप आउने र आगामी आर्थिक वर्षमा अभाव हुन नदिने जनाएको छ ।
काठमाडौँ । देशभर माग अनुसार रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्ति हुन सकेको छैन । माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो ।
जिल्ला अस्पताल धादिङका प्रमुख डा. नवीन महासेठले सरकारले माग अनुसार भ्याक्सिन उपलब्ध नगराएपछि संस्थाबाट भ्याक्सिन किनेर जोहो गर्न बाध्य भएको बताए । उनले भने, ‘भ्याक्सिनको अभाव छ । माग बढी भएपछि संस्थाबाट किनेर खोप ल्याउनुपरेको छ ।’
जिल्ला अस्पताल रसुवाका सूचना अधिकारी नरेन्द्र थापाले केही महिना खोप अभाव भए पनि अहिले केही सहज भएको बताए । उनले भने, ‘वैशाखतिर अभाव थियो । अहिले हामीकहाँ ६ भाइल भ्याक्सिन छ ।’
यो आर्थिक वर्षमा खरिद गरेको खोपभन्दा खोप लगाउनेको सङ्ख्या बढेपछि हाल अभाव देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अस्पतालहरूमा कुकुर, बाँदर, बिरालो, चितुवा, बाघ, भालु, स्याल लगायतका जनावरले टोकेर बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन जान्छन् । खोप आपूर्ति पर्याप्त नहुँदा समस्या देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्गलबार ५५९ जनाले खोप लगाएको ओपीडी इन्चार्ज शंकर पाण्डेले जानकारी दिए । यस्तै, बुधबार ५४८ जनाले खोप लगाएका थिए ।

बिहीबार ६७२ जनाले खोप लगाएको पाण्डेले जानकारी दिए । अस्पतालको रेकर्ड शाखाका अनुसार पछिल्लो पाँच वर्षमा ५५ जना रेबिज रोग लागेर भर्ना भएका छन् । रेबिज रोग लागेकामध्ये रेबिज रोगको मृत्युदर शतप्रतिशत हुने चिकित्सक बताउँछन् । सन् २०२२ मा ४ जना, सन् २०२३ मा ६ जना, सन् २०२४ मा १९ जना र सन् २०२६ मा ४ जना रेबिज रोग लागेर भर्ना भएका थिए ।
ओपीडी इन्चार्ज पाण्डेले भने, ‘पहिले पहिले जनावरले टोकेमा खोप नलगाउने प्रवृत्ति थियो । अहिले सचेतना पनि बढ्यो । त्यही भएर पनि खोपको माग बढेको हो ।’
टेकु अस्पतालका अनुसार रेबिजको खोप लगाउन आउने ९५ प्रतिशत कुकुरले टोकेर आउने गर्छन् । यस्तै, बाँदरले टोकेर २ प्रतिशत र बिरालोले टोकेर एक प्रतिशत जति खोप लगाउन आउँछन् । २ प्रतिशत भने अन्य जनावरले टोकेर अस्पताल पुग्ने गर्छन् ।
- खोप लगाउनेको सङ्ख्या बढ्दै
तीन वर्ष यता रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्नेहरूको सङ्ख्या बढेको छ । टेकु अस्पतालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ४२ हजार १४९ डोज (मात्रा) खोप लगाइएको थियो । सो वर्ष ६३ हजार ८१५ जनालाई खोप लगाइएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा एक लाख ६० हजार ४०८ डोज (मात्रा) खोप लगाइएको थियो । सो वर्ष ८० हजार ३७९ जनालाई खोप लगाइएको थियो ।
आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म एक लाख ७७ हजार ७८७ डोज(मात्रा) खोप लगाइएको थियो ।
- चार हजार पाँच सय भाइल खोप आउँदै
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार एक हप्ताभित्रै चार हजार पाँच सय भाइल रेबिजविरुद्ध भ्याक्सिन आउन लागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले संसद् बैठकमा भनेकी थिइन्, ‘चालु आर्थिक वर्ष दुई पटकसम्म टेण्डर रद्द भई तेस्रो पटक टेण्डर मार्फत आपूर्ति हुन लागेकाले केही ढिला भएको छ । कानुन बमोजिम प्रक्रिया र अवधि पूरा हुने बित्तिकै आपूर्ति सहज हुनेछ ।’
उनले हाल देशभर १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौजुदा रहेको बताइन् । खोपको आवश्यकता अनुसार ध्यानमा राखी संघीय अस्पताल र प्रदेश अस्पतालमा आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खोप आपूर्तिको व्यवस्था मिलाइएको उनको भनाइ थियो । उनले भनिन्, ‘तत्काल अभाव पूर्ति गर्न एक हप्ताभित्र विश्व स्वास्थ्य संगठनमार्फत् चार हजार पाँच सय भाइल आउँदैछ । आगामी आर्थिक वर्षमा भ्याक्सिन अभाव हुन नदिन बहुवर्षिय खरिद प्रक्रिया अवलम्बन गरिनेछ ।’
स्वास्थ्य मन्त्रालयले हाल देशभर १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौजुदा रहेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड ९८ लाख रुपैयाँ बराबरको रेबिज विरुद्धको खोप आपूर्तिका लागि ठेक्का भइसकेको छ ।
एक एमएलको २ लाख ३४ हजार भाइल र ०.५ एमएलको एक लाख ९० हजार भाइल एन्टी रेबिज भ्याक्सिन आपूर्तिका लागि टेण्डर भइसकेको छ । व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख चेतननिधि वाग्लेले प्रदेशहरूमा ११ हजार भायल रेबिजविरुद्धको खोप मौज्दात रहेको बताए । उनले भने, ‘एक एमएलको १८० भाइल र ०.५ एमएलको ८६० भाइल खोप महाशाखामा स्टक छ । खोप सहज बनाउन महाशाखा लागिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
-
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
८ वर्षको लामो पर्खाइपछि ठुलो पर्दामा प्रीति जिन्टाको कमब्याक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण