शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
शनिबार

जब म चुँडिएँ...

शनिबार, ०६ असार २०८३, १४ : ००
शनिबार, ०६ असार २०८३

म फुल्न चाहन्थेँ– रङ्गीचङ्गी फूलझैँ। म आफूलाई खुब प्रेम गर्दै, आफ्नै अस्तित्वलाई अँगालेर, पूर्ण स्वतन्त्र भई !

तर मेरो त्यो चाहना निर्दयी रूपमा लुछियो, चिथोरियो र उखेल्ने प्रयास गरियो। तर ती कुनै अपरिचित हात थिएनन्। ती तिनै हात थिए, जसलाई मैले कुनै समय बुबा, दाजुभाइ, साथी वा आफ्नो भनेर विश्वास गरेकी थिएँ।

विश्वास, जुन कुनै पनि सम्बन्धको सबैभन्दा सुन्दर आधार हुनुपर्थ्यो। त्यही विश्वास जीवनको सबैभन्दा ठूलो घाउ बन्यो।

हो, यी शब्दहरू पक्कै पनि मेरा हुन्। तर यो हजारौँ महिलाहरूको साझा चित्कार र भोगाइ हो, जसको जीवन फुल्न नपाउँदै चिथोरियो। यो केवल एक भोगाइ होइन, यो त विश्वासको नाममा भएको त्यो आक्रमण थियो, जसले केवल उनीहरूको शरीरलाई मात्र होइन, आत्मा, अस्तित्व र पहिचानलाई समेत च्यातिदियो।

नेपालजस्तो समाजमा यस्ता कथाहरू नयाँ होइनन्। हामीले धेरैपटक यस्ता कथा सुनेका छौँ, देखेका छौँ, क्षणभर आक्रोशित भएका छौँ, तर फेरि बिर्सिएका छौँ। तर के पीडितहरूले भने त्यो पीडा बिर्सिन सक्लान् त? घटना सकिएपछि पनि पीडा सकिँदैन। बरु, कहिलेकाहीँ त वास्तविक सङ्घर्ष त्यसपछि मात्र सुरु हुन्छ। निर्मला पन्तको घटना त्यसको एउटा जिउँदो उदाहरण हो। घटना भएको करिब आठ वर्ष बितिसक्दा पनि न्याय अझै अधुरै छ। देशभर आन्दोलन भयो। सयौँ मानिसहरू न्यायका लागि सडकमा ओर्लिए। घटनामाथि कैयौँ अनुसन्धान भए, बहस भए, तर न्याय भने अझै हराइरहेको छ।

निर्मला पन्त केवल एउटा नाम मात्र होइनन्। उनी हाम्रो समाजको असफलताको प्रतीक हुन्– एउटा यस्तो समाजको प्रतीक, जहाँ पीडितहरूले अझै पनि न्यायका लागि चिच्याइरहनुपर्छ।

यी प्रश्नहरू केवल भावनात्मक होइनन्, हाम्रो समाजको वास्तविकतासँग जोडिएका छन्। किनकि धेरै महिलाहरू आज पनि घरभित्रै असुरक्षित छन्।

यो मेरो व्यक्तिगत भोगाइ पक्कै होइन। तर केही महिनाअघि युट्युबमा प्रसारण भएको ‘रेडबुल इन्साइड द बङ्कर’ छैटौँ शृङ्खला हेर्दै गर्दा, मेरो मनभित्र कैयौँ प्रश्नका छालहरू एकसाथ ठोक्किँदै किनारमा आएर चिच्याएर ठूलो स्वरमा भन्दै थिए– आखिर हामी कस्तो समाजमा बाँचिरहेका छौँ? के हामी महिला साँच्चै सुरक्षित छौँ? के परिवारभित्र पनि सुरक्षा बाँकी छ?

यी प्रश्नहरू केवल भावनात्मक होइनन्, हाम्रो समाजको वास्तविकतासँग जोडिएका छन्। किनकि धेरै महिलाहरू आज पनि घरभित्रै असुरक्षित छन्। धेरै पीडितहरू आज पनि आफ्नै आफन्तदेखि डराएर बाँचिरहेका छन्।

हामीलाई सधैँ सिकाइन्छ– घर सबैभन्दा सुरक्षित ठाउँ हो, आफन्तहरू विश्वासयोग्य हुन्छन्। तर जब तिनै ‘आफ्ना’ भनिएका मानिसहरूबाट चोट पुग्छ, त्यसपछि संसारको कुनै कुना सुरक्षित लाग्दैन। त्यसपछि सम्बन्धहरूमा डर लाग्न थाल्छ। विश्वास बोझ बन्न थाल्छ र आफूलाई नै विश्वास गर्न कठिन हुन्छ।

मैले उक्त शृङ्खला हेरेपछि यो लेख्दै गर्दा, यो लेखाइ मेरा लागि सजिलो थिएन। यो लेख्दै गर्दा मेरा हात काँपिरहेका छन्, शब्दहरू अड्किरहेका छन्। यो कँपाइ केवल डरको होइन। यो कँपाइ ती पीडितहरूको अनुभवको भार हो। ती शब्दहरूको पीडा हो, जुन सुन्दा पनि आत्मा थरथराउँछ। कहिलेकाहीँ, अरूको कथा सुन्दै गर्दा पनि हामी आफ्नै समाजको कुरूप अनुहारसँग आमनेसामने हुने रहेछौँ।

यौन हिंसाको पीडा केवल त्यो एक क्षणमा सीमित हुँदैन। त्यो घटनापछि पनि पीडितले आफूभित्र अनगिन्ती युद्धहरू लडिरहनुपर्छ। कति महिलाहरू त यस्तो उमेरमै यौन शोषणको सिकार भएका हुन्छन्, जहाँ उनीहरूलाई आफूमाथि वास्तवमा के भइरहेको छ भन्ने बुझ्ने चेतनासमेत विकसित भइसकेको हुँदैन।

धेरै पीडितहरू अपराधीभन्दा समाजको प्रतिक्रियासँग बढी डराउँछन्। किनकि हाम्रो समाज अझै पनि पीडितलाई प्रश्न गर्छ, अपराधीलाई होइन। हामी अझै पनि पीडितको कपडा, व्यवहार, समय र मौनताको विश्लेषण गर्छौँ, तर अपराधीको मानसिकता र हिंसालाई प्रश्न गर्न बिर्सिन्छौँ।

बाल्यकालको त्यो उमेर, जहाँ एउटा बच्चाले संसारलाई विश्वासको आँखाले हेर्छ, त्यही उमेरमा उसको विश्वासमाथि सबैभन्दा क्रूर आक्रमण गरिन्छ। धेरैलाई त वर्षौँसम्म आफूले भोगेको कुरा ‘अपराध’ थियो भन्ने नै थाहा हुँदैन। उनीहरू त्यो घटनालाई सामान्य ठान्दै, डर र अन्योललाई भित्र दबाएर बाँचिरहेका हुन्छन्।

तर समय बित्दै जाँदा, जब उनीहरू बिस्तारै सचेत बन्छन्, जब उनीहरूले आफ्नो भोगाइलाई शब्द दिन थाल्छन्, तब उनीहरूभित्र दबिएको पीडा फेरि उठ्न थाल्छ। र, त्यसपछि वर्षौँ पुरानो घाउ बोकेर, असङ्ख्य डर र सामाजिक त्राससँग लड्दै, पीडितहरू बल्लतल्ल साहस जुटाएर आफ्नो मौनता तोड्न खोज्छन्।

तर विडम्बना, उनीहरूले आवाज उठाउनेबित्तिकै समाज उनीहरूको साथमा उभिनुको सट्टा प्रश्न र कथ्य रच्न थाल्छ। झन् दुःखद कुरा त के छ भने, धेरै परिवारहरू यस्ता घटनाहरू लुकाउन खोज्छन्। ‘मान्छेले के भन्लान्’, ‘परिवारको इज्जत जान्छ’, ‘समाजले हामीलाई के भन्ला’ भन्ने वाक्यहरूले पीडितको घाउ झन् गहिरो बनाउँछन्। किनकि त्यहाँ पीडितको पीडाभन्दा ठूलो कुरा ‘समाजको धारणा’लाई बनाइन्छ।

यसैकारणले धेरै महिलाहरू न्यायभन्दा पहिले मौनता रोज्छन्। किनकि बोल्दा उनीहरूले फेरि अर्को हिंसा भोग्नुपर्छ– चरित्रमाथिको हिंसा। उनीहरूको सत्यतामाथि प्रश्न उठाइन्छ। उनीहरूको नियतमाथि प्रश्न उठाइन्छ। उनीहरूको मौनतामाथि प्रश्न उठाइन्छ। समाज सहजै सोध्छ– त्यतिबेला किन नबोलेको त? किन यति वर्ष चुप बसेको? घटना भएको यत्रो समयपछि किन बोलेको? तिम्रो स्वार्थ के हो? आदि–इत्यादि प्रश्नहरू सोध्न समाजलाई धेरै सजिलो लाग्छ।

तर बोल्ने क्षणसम्म आउन एउटा पीडितले कति सङ्घर्ष गर्नुपरेको हुन्छ भन्ने समाजले कहिल्यै बुझ्न खोज्दैन। डरले घाँटी थिचिरहेको अवस्थामा आवाज सहजै आउँदैन। जब लाजले शब्दहरूलाई रोकिरहेको हुन्छ; जब आफ्नै आत्माले आफूलाई दोषी ठानिरहेको हुन्छ; र सबैभन्दा ठूलो कुरा, जब समाजको निर्णयप्रतिको त्रासले एउटा मानिसलाई पूर्ण रूपमा मौन बनाइरहेको हुन्छ।

हामीले पीडितलाई ‘किन बोलिनौ?’ भन्नुभन्दा पहिले आफूलाई सोध्न जरुरी छ– ‘किन उनीहरूलाई हामीले बोल्न सुरक्षित वातावरण दिन सकेनौँ?

धेरै पीडितहरू अपराधीभन्दा समाजको प्रतिक्रियासँग बढी डराउँछन्। किनकि हाम्रो समाज अझै पनि पीडितलाई प्रश्न गर्छ, अपराधीलाई होइन। हामी अझै पनि पीडितको कपडा, व्यवहार, समय र मौनताको विश्लेषण गर्छौँ, तर अपराधीको मानसिकता र हिंसालाई प्रश्न गर्न बिर्सिन्छौँ।

हामीले समाजको यही संरचना बदल्न आवश्यक छ। हामीले पीडितलाई ‘किन बोलिनौ?’ भन्नुभन्दा पहिले आफूलाई सोध्न जरुरी छ– ‘किन उनीहरूलाई हामीले बोल्न सुरक्षित वातावरण दिन सकेनौँ?’

जबसम्म पीडितहरूले आफ्नो कथा सुनाउँदा डराउनुपर्छ, जबसम्म न्याय माग्दा उनीहरूलाई नै दोषी महसुस गराइन्छ, तबसम्म हाम्रो समाज वास्तवमै सुरक्षित भन्न मिल्दैन।

आज पनि धेरै महिलाहरू मौन छन्। उनीहरू बोल्न चाहन्छन्, तर बोल्न सकिरहेका छैनन्। किनकि परिवारले ‘इज्जत’ नामको ट्याग झुन्ड्याइदिएको छ। यही मौनताभित्र हजारौँ चिच्याहटहरू लुकेका छन्। तर अब प्रश्न उठाउन आवश्यक छ– हामी कस्तो समाज निर्माण गर्दैछौँ? जहाँ महिलाहरूले आफ्नै घरमा डराउनुपर्छ? जहाँ पीडितहरूले नै आफूलाई दोषी ठान्नुपर्छ? जहाँ न्याय वर्षौँसम्म हराइरहन्छ?

यदि हामीले यी प्रश्नहरूको सामना गर्न सकेनौँ भने, हामी केवल आधुनिक देखिने, तर भित्रबाट असुरक्षित सामाजिक तानाबाना बुनिरहेका हुन्छौँ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले बलात्कारलाई गम्भीर फौजदारी अपराधका रूपमा परिभाषित गर्दै पीडितको उमेर, अवस्था र अपराधको प्रकृतिअनुसार कडा सजायको व्यवस्था गरेको छ। कानुनअनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गरेमा १६ देखि २० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था छ। त्यसैगरी, १० वर्षमाथिका र १४ वर्षमुनिका बालिकामाथि बलात्कार भएमा १४ वर्षदेखि १६ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ।

त्यस्तै, १४ वर्ष वा सोभन्दा माथि तर १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार भएमा १२ देखि १४ वर्षसम्म कैद सजायको व्यवस्था छ भने १६ वर्षदेखि १८ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ। १८ वर्ष वा सोभन्दा माथिकी महिलामाथि बलात्कार भएको प्रमाणित भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

वैवाहिक सम्बन्धभित्र हुने बलात्कारलाई समेत कानुनले अपराध मानेको छ र त्यस्तो कसुरमा ५ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

नेपालको सन्दर्भमा कानुनी दस्तावेजमा नीतिनियम र कानुन कडा देखिन्छ। तर प्रश्न कानुनको अस्तित्वभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयनसँग जोडिएको छ। किनभने विगतका अनेक घटनाहरूले देखाएका छन्– दोषीलाई कानुनी कठघरामा उभ्याउनुभन्दा उनीहरूलाई विभिन्न शक्तिकेन्द्रबाट संरक्षण गर्ने प्रवृत्ति अझै पूर्ण रूपमा अन्त्य भएको छैन।

जब अपराधीको राजनीतिक पहुँच, आर्थिक हैसियत वा सामाजिक प्रभाव कानुनभन्दा माथि उभिन थाल्छ, तब पीडितको न्यायमाथिको विश्वास कमजोर बन्छ। न्याय केवल अदालतको फैसला होइन, राज्यप्रति नागरिकले गर्ने विश्वासको आधार पनि हो। यदि बलात्कारजस्तो संवेदनशील घटनामा समेत प्रभाव र पहुँचका आधारमा फरक व्यवहार गरिन्छ भने कानुनको शासनमाथि नै प्रश्न उठ्न थाल्छ।

बलात्कार कुनै व्यक्तिगत गल्ती वा निजी विवाद होइन। यो मानव अधिकारविरुद्धको गम्भीर हिंसा हो। यसले एउटा व्यक्तिको शरीरमाथि मात्र होइन, उसको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षित जीवन बाँच्ने अधिकारमाथि नै आक्रमण गर्छ। त्यसैले यस्ता घटनामा राजनीतिक, सामाजिक वा आर्थिक हैसियतका आधारमा कुनै पनि प्रकारको छुट दिनु न्यायको आधारभूत सिद्धान्तविपरीत हुन्छ।

बलात्कारविरुद्धको लडाइँ केवल अदालतको लडाइँ होइन। यो सामाजिक चेतनाको, राज्यको जवाफदेहिताको र मानव मर्यादाको रक्षा गर्ने सामूहिक सङ्घर्ष हो।

तर दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि पीडितलाई नै प्रश्न गर्ने, घटना दबाउने, मिलापत्र गराउने वा मुद्दालाई प्रभावमा पार्ने प्रयासहरू देखिने गरेका छन्। यस्तो प्रवृत्तिले अपराधीलाई संरक्षण दिन्छ र पीडितलाई पटकपटक पीडित बनाउँछ।

यौन हिंसाका घटनामा कुनै सम्झौता हुन सक्दैन। कुनै राजनीतिक हस्तक्षेप स्वीकार्य हुन सक्दैन। कुनै संरक्षण न्यायसङ्गत हुन सक्दैन। राज्यको पहिलो दायित्व पीडितको पक्षमा उभिनु, सत्यतथ्यको निष्पक्ष अनुसन्धान गर्नु र अपराधीलाई कानुनको दायरामा ल्याउनु हो।

जबसम्म बलात्कारका घटनामा दोषीले सजाय पाउने निश्चितता स्थापित हुँदैन, तबसम्म कानुनका धाराहरू केवल कागजमा मात्र सीमित रहनेछन्। न्यायको वास्तविक अर्थ त्यतिबेला मात्र पूरा हुन्छ, जब पीडितले आफू सुरक्षित महसुस गर्न सक्छ र अपराधीले आफ्नो पहुँच वा शक्तिको भरमा कानुनबाट उम्किन सक्दैन।

बलात्कारविरुद्धको लडाइँ केवल अदालतको लडाइँ होइन। यो सामाजिक चेतनाको, राज्यको जवाफदेहिताको र मानव मर्यादाको रक्षा गर्ने सामूहिक सङ्घर्ष हो। पीडितको आवाज सुन्ने, उसको पीडालाई सम्मान गर्ने र अपराधीलाई कुनै पनि हालतमा संरक्षण नगर्ने संस्कृतिको विकास नै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको आधार बन्न सक्छ।

हामीले कानुन मात्र होइन, सोच परिवर्तन गर्न आवश्यक छ। पीडितको दोष केलाउने प्रवृत्ति त्याग्नुपर्छ। सहमतिको अर्थ बुझ्नुपर्छ, बालबालिकालाई सम्मान र समानताको शिक्षा दिनुपर्छ तथा महिलाको स्वतन्त्र अस्तित्वलाई स्वीकार्नुपर्छ।

‘जब म चुँडिएँ’ यो एउटा शीर्षक मात्र होइन। यो हजारौँ महिलाहरूको वास्तविकता हो– त्यो वास्तविकता, जसलाई समाजले धेरैपटक दबाउन खोज्छ। तर दबाइएका आवाजहरू एक दिन अवश्य सतहमा आउनेछन्। र, जब ती आवाजहरू बोल्न थाल्छन्, त्यसले केवल एउटा कथा होइन, समाजको सिङ्गो विवेकलाई प्रश्न गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भण्डारी
प्रमिला भण्डारी
लेखकबाट थप