शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
रास्वपा प्रथम महाधिवेशन

बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन

शनिबार, ०६ असार २०८३, १६ : १९
शनिबार, ०६ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ ।
  • महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै भावुक र सुझबुझपूर्ण धारणा राखेका छन् ।
  • लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने र संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा विगतका त्याग र बलिदानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ ।

महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि भरतपुरस्थित दियालो फुडल्यान्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ ।

महाधिवेशनअघि बसेको यो अन्तिम बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राखेका छन् । उनले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै सहकार्य गर्ने इच्छा व्यक्त गरे । 

सम्बोधनका क्रममा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्रलाई सबैभन्दा महत्त्वपूर्ण आधार स्तम्भका रूपमा व्याख्या गरे । उनले भने, 'आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त संस्थापक सभापतिका रूपमा मैले कति भूमिका निर्वाह गरेँ, त्यो यहाँहरूको मूल्याङ्कनको विषय हो । तर, मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र कुनै सम्झौता गर्ने विषय होइनन् ।'

सभापति लामिछानेले बैठकको सुरुवातमै सबै निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने प्रण गरेका छन् । महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उनले आफ्नो राजनीतिक जीवनभरि यिनै मूल्य र मान्यतामा अडिग रहने प्रतिबद्धतासमेत जनाए ।

देशको वर्तमान राजनीतिक व्यवस्था र उपलब्धिको चर्चा गर्दै लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यहाँसम्म आइपुग्दा भएका त्याग र बलिदानको स्मरण गरे । उनले भने, 'हामी हिजोका त्याग, बलिदान र संघर्षहरूको सम्मानको जगमा उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हिजोको बलिदानको उचाइकै कारण आज हामीले यति फराकिलो दृश्य देख्न पाएका हौँ ।' 

आइतबारदेखि सुरु भई तीन दिनसम्म चल्ने यस महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

लामिछानेको भनाइ जस्ताको त्यस्तै 

केन्द्रीय समितिको बैठकमा यो सुन्दर आकांक्षा बोकेका, रहर बोकेका, हुटहुटी बोकेका, देश प्रेमले ओतप्रोत यी अनुहारहरू मेरो अगाडि छन् । म तपाईहरू सबैलाई फेरि पनि निर्वाचित भइसकेपछि पनि देख्न, हेर्न, कुराकानी गर्न चाहन्छु । म सबैभन्दा पहिला यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । 

अर्को महत्त्वपूर्ण कुरा पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रुपमा, संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सकियो सकिएन, त्यो यहाँहरूले मूल्यांकन गर्नुभएको विषय होला । तर मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै सम्झौता गर्ने विषय होइन । मैले त्यसमा कहिल्यै पनि सम्झौता नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु । 

rabi-chtwan

म बिदा हुनुअघि केन्द्रीय समितिलाई बैठक सुरु हुनु अगाडि र भोलि आउने केन्द्रीय समितिलाई यो संघारमा उभिएर म यहाँहरूलाई यति भन्न चाहन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले पश्चाताप होइन हामीलाई झनै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ ।

त्यसैले म तपाईहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप