रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रवि लामिछाने र बालेन शाहको पुस्ताले आगामी ३० वर्ष देशको नेतृत्व गर्नुपर्ने बताएका छन्।
- उनले रास्वपाको सफलतालाई नेपाली इतिहासको नयाँ क्रान्तिको रूपमा व्याख्या गर्दै यसलाई जनताको मन जितेर र आधुनिक प्रविधिमार्फत हासिल गरिएको उपलब्धि भनेका छन्।
- भट्टराईले पुराना पुस्ताका साथीहरूलाई षडयन्त्रको सिद्धान्त त्यागेर नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गर्दै उनीहरूको एकता र सुशासन तथा समृद्धिको लक्ष्यमा केन्द्रित हुन शुभकामना दिएका छन्।
म अस्ति असार ४ गते मात्रै ७१ वर्ष पुगेर ७२ वर्ष लागेँ। तर आज तपाईंहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेरले धेरै पछिका साथीहरू देख्दा म आफैँ ७२ होइन, २७ वर्षको छु कि जस्तो मलाई अनुभूति भएको छ। तपाईंलाई थाहा छ, म आफूलाई एउटा निरन्तर विद्रोहीको रूपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसैमा सुम्पेको छु।
तपाईंहरू यो समकालीन नेपालका सबैभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्रै भन्न खोजेँ भने— यो जुन रास्वपाले चार वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिमार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईंहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।
मेरा पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ। उहाँहरू खाली यो 'कन्स्पिरेसी थ्योरी' (षडयन्त्रको सिद्धान्त) उल्लेख गरेर— "यो दक्षिणले गरायो, यो उत्तरले गरायो, यो पश्चिमले गरायो" भन्ने कथा बुनिरहनुभएको छ। तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँड्नेहरू ज्वारभाटाको विरुद्धमा, टाइडको विरुद्धमा लाग्छन्। उनीहरू भन्नेले भनिरहन्छन्, तर सत्य र न्यायको पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुहुनेछ।
मैले आफैँले गत १०-११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ। अहिले म यो रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू, हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ— "स्वार्थ के पाउन लाग्यो? के ललिपप देखाइदियो?" भन्छन्। म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त? सबैथोक प्राप्त गरेको मान्छे, तपाईंहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे। अनि मैले के ललिपप खाने यो उमेरमा?
म त ललिपप होइन, तपाईंहरू साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बीपी-पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो। र, त्यसको अगुवा शक्तिको रूपमा रास्वपा जुन आएको छ, यसको निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
मेरो खाली दुई-तीनटा मात्रै तपाईंहरूलाई केही सुझाव हो भने— एउटा, यो क्रान्ति भनेको, निरन्तर परिवर्तन भनेको एउटा 'रिले रेस' हो। एउटा पुस्ताले एउटा विन्दुसम्म पुर्याउँछ, अर्को पुस्ताले त्योभन्दा अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन् अगाडि पुर्याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टंकप्रसाद, बीपी, पुष्पलालहरूले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पुर्यायो। र अब तपाईंहरूको यो नयाँ पुस्ताले, हाम्रो रविजी र बालेनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ, यसलाई सुशासन र समृद्धिको एउटा चुचुरोमा पुर्याओस्, विश्वकै नमुना बनाओस्। त्यस अर्थमा म तपाईंहरूलाई विशेष शुभकामना दिन चाहन्छु।
र, एक दुई वटा कुरा अलिकति के सचेत हुन जरुरी छ, म पूर्व—तपाईंहरूको सद्भावले प्रधानमन्त्री पनि भइटोपलेको मान्छे र ५० लाखको पुरस्कार टाउकोमा भइसकेको पनि मान्छे— र नेपालको जुन एउटा जटिल भू-राजनीति छ, देशको हिमाल, पहाड, तराई-मधेसको जुन विविधता छ, हाम्रा राज्यका अङ्ग यति कमजोर र भ्रष्टाचारले जर्जर छन्, त्यसको बीचमा हामीले कसरी सुशासन र समृद्धि ल्याउने भन्ने अहम् प्रश्न छ। त्यसैले त्यसको निम्ति जनताले तपाईंहरूलाई मत दिएकै त्यसकै निम्ति हो, सुशासन र समृद्धिकै निम्ति हो। अरूले जेसुकै भनून्, अरूका कुरा सुन्नुस्। तर मलाई तपाईंको चुनावताका पनि सुनेँ— "चुपचाप घण्टीमा छाप" भन्ने तपाईंको नारा निकै पपुलर भएको सुनेको थिएँ। अब सायद, तपाईंहरू त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले, अब "चुपचाप सुशासन र विकास" भनेर तपाईंले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ। पक्कै सोच्नुभएकै छ तपाईंहरूले।
सुशासन र समृद्धिको जुन विषय छ, अब अहिले यहाँ व्याख्या गर्ने समय छैन, म त्यता जान्नँ। पक्कै पनि तपाईंले त्यसलाई सोचेर नेपाली जनता, ५०औँ लाख युवाहरू जो अहिले विदेश जान बाध्य छन्, एउटा तपाईंहरूलाई "चुपचाप घण्टीमा छाप" भनेर मेसेज पठाउनेहरू पनि नेपालका ११०-१७० देशमा छरिएका युवाहरू, तिनीहरूकै सबैभन्दा ठुलो योगदान छ। त्यसैले त्यो अभिमतलाई ध्यान दिएर तपाईंहरूले सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नुहोस् र तपाईंलाई सफलता मिल्नेछ।
र अन्त्यमा, मेरो केही निजी सुझाव के हो भने— यो महाधिवेशन भनेको विचार, नीति, कार्यक्रमलाई प्रष्टता दिने, ५ वर्षसम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमानै हो— रविजी, बालेनजीहरूको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु र तपाईंहरूले मन बनाएको पनि म बुझ्छु। र अरू साथीहरू पनि— यो नाम लिनु बडो अन्यथा अर्थ लाग्छ— म यहाँ बस्नुभएका साथीहरूलाई चिन्दछु। म खुसी छु, जो मन्त्रिपरिषद्मा हुनुहुन्छ— हाम्रो स्वर्णिम वाग्लेजी, हाम्रो शिशिर खनालजी लगायतका जो मन्त्रीज्यूहरू हुनुहुन्छ। अब कमी-कमजोरी अलिअलि हुन सक्छन्, तर मूल रूपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनुभएको छ, मलाई लाग्छ उहाँहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्न सक्नुहुन्छ।
अहिले भर्खर यहाँ देख्दैथेँ, मेरो जिल्लाकै मित्र सुदन गुरुङजी, उहाँसँग त्यति धेरै उता छैन तर एउटा जल्दो युवाको रूपमा उहाँले जुन एउटा आँट देखाइरहनुभएको छ। र उहाँलाई पनि, उहाँहरूलाई पनि जुँगाले तान्ने प्रयास भइरहेको छ, त्यसबाट उत्तेजित नभईकन उहाँ अगाडि बढ्नुहोस्। मेरो जिल्लाकै युवा साथी हुनुको नाताले पनि मेरो उहाँलाई शुभकामना, र सबैलाई मेरो शुभकामना छ।
मेरो खाली एउटा मात्रै अनुभवजन्य आधार के हो भने, खासगरी रविजी र बालेनजीहरूलाई— नेतृत्व भनेको असाध्यै महत्त्वपूर्ण हुन्छ यस्तो नयाँ शक्ति जुन उदय भएको छ, त्यतिबेला। वैचारिक रूपले प्रष्टता त चाहिन्छ नै, मुख्य कुरा त त्यही हो। तपाईंहरूको जुन अहिलेको विधानको केही कुरा छिटपुट बाहिर आएको छ, मूल रूपमा म त्यो ठिकै देख्छु। केही अलिकति अस्पष्टताहरू छन्, मैले खुला रूपमा सामाजिक सञ्जालमा पनि राखेको छु। खासगरी तपाईंले 'संवैधानिक समाजवाद' जुन भन्नुभएको छ, त्यो के हो अलि व्याख्या गरिदिए राम्रो हुन्थ्यो भनेर मैले हिजो लेखेको पनि थिएँ। त्यसरी यी विषयमा त तपाईंहरूको ध्यान जाने नै छ।
मैले भन्न खोजेको कुरा चाहिँ के छ भने— नेतृत्व। यो तपाईंले यति ठुलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पूरा ५ वर्ष कार्यकाल पूरा गर्नुपर्छ। म त चाहन्छु १०-१५ वर्षसम्म राजनीतिक स्थिरता पाओस् भन्ने मेरो चाहना छ। त्यसको निम्ति 'की' कुरा के हुन्छ भने— अब हामी त मान्छे हौँ, हामीभित्र स्वार्थी-लोभीपना अलिअलि हुन्छ पनि। अनि अरू आसेपासे र बाह्य विभिन्न भित्रका शक्तिहरूले पनि खेलेर "कोभन्दा को ठुलो? रवि ठुलो कि बालेन ठुलो?" भनेर त्यहाँ खेलिदिन सक्छन्। त्यो खतरा म त्यहाँ देख्छु।
मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँहरू कुराकानी खासखुस गरिरहनुभएको छ। गर्नुस्, गर्नुस् र पटक-पटक भेट्नुस्। गरिराख्नुस् र भेटिराख्नुस्। तपाईंहरूको एकतामा नै यसको, रास्वपाको तत्कालको ५ वर्षको निम्ति भविष्य सुनिश्चित छ। ५ वर्षसम्म एक भएर तपाईंहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईंलाई शुभकामना हुन्छ।
र अन्त्यमा, मेरा पुस्ताका, मेरा समवयी साथीहरू जसले षडयन्त्रको सिद्धान्त आविष्कार गरेर यो 'जेनजी' विद्रोह, यो रास्वपाको उदयलाई पचाउन नसकेर अनेकथरी उहाँहरूले तानाबाना बुन्नुभएको छ, त्यसमा केही सत्यता होला, तर त्यो प्रमुख पाटो होइन। त्यसैले म उहाँहरूलाई अकबर-बीरबलको पालाको एउटा कथा भनेर आफ्नो कुरा टुङ्ग्याउँछु।
तपाईंलाई थाहा छ, बादशाह अकबर, अंग्रेजहरूले भारतमा उपनिवेश जगाउनुअघि सबैभन्दा ठुलो साम्राज्यका बादशाह थिए। र उनको यति ठुला मुठा जुँगा तपाईंले देख्नुभएको होला, यस्तो जुँगा तिनले पाल्थे। एकदिन उनले भाइभारदारहरूलाई बोलाएर के भनेछन् भने— "हेर भाइभारदार हो, मेरो यो जुँगा उखेल्नेलाई के सजाय दिउँ?" भनेछन् उनले। अनि त भाइभारदार त चाकरी गर्ने मान्छे हुन्छन्, बादशाहको चाकरी गरेर केही पाइएला भन्ने लोभ थियो होला। एउटाले भनेछ— "त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ", अर्कोले भने— "खाल्डो खनेर पुर्नुपर्छ", अर्कोले भने— "होइन त्यसलाई काट्नुपर्छ", यस्तै यस्तै भन्दै गए सबै।
तर बीरबल एउटा छेउमा बसेर मुसुमुसु हाँसिरहेका रहेछन्। अनि अकबरले भनेछन्— "बीरबल, तिमी त चुपचाप हाँसेर मात्र बस्छौ, बोल्दैनौ किन हो?" भनेको। उनले भनेछन्— "जहाँपनाह सरकार, जहाँपनाह भन्थे बादशाहलाई, जहाँपनाह! त्यो तपाईंको जुँगा तान्ने मान्छेलाई मिठाई खान दिनुस्" भनेछन् उनले।
"भने के भन्छौ तिमी? मेरो जुँगा तान्नेलाई मिठाई खान दिने?" भनेर जङ्गिए। अनि उनले फेरि भनेछन्— "जहाँपनाह, हजुरको यत्रो सुरक्षा छ, त्यसभित्र नाघेर पस्ने कसको हिम्मत हुन्छ? अनि तपाईंको काखमा बसेर जुँगा उखेल्ने कसको हिम्मत हुन्छ? त्यो तपाईंको आफ्नै नाति हो। त्यसैले नातिले जुँगा उखेल्यो भनेर तपाईंले सजाय दिने होइन, उसलाई मिठाई दिनुस्" भन्नुहुन्थ्यो रे।
त्यसैले मेरा पुराना साथीहरूलाई पनि आग्रह— तपाईं हाम्रा जुँगा (मेरा नि अलिअलि उखेल्नुहुन्छ साथीहरूले कहिलेकाहीँ, र छोटै छन् मेरा त बादशाहका जस्ता त छैनन्), उखेले भने पनि हामीले हाम्रै छोरानाति, यो पुस्ता— बालेन्द्रजी त भर्खर ३६ वर्षको हुनुहुन्छ, मेरो छोरीभन्दा ४ वर्ष कान्छो हुनुहुन्छ, रविजी ५० को आसपास हुनुहुन्छ। भने उहाँहरूले त आगामी १५-२० वर्ष, ३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई तान्ने होइन, उहाँहरूले हामीलाई मिठाई खुवाएर, उहाँहरूलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो उहाँहरूलाई आग्रह, अहङ्कारले तपाईंलाई नच्यापोस् र बहुदलीय लोकतन्त्रमा अरू भिन्न विचारहरू पनि हुन्छन्, त्यसलाई पनि साथ लिएर अगाडि बढ्नुहोस्। मेरो तपाईंहरूलाई यही शुभकामना छ।
(पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार रास्वपाको उद्घाटन समारोहमा राखेको धारणाको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण