मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे

सोमबार, ०८ असार २०८३, १४ : २४
सोमबार, ०८ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने बताएका छन्।
  • उनले किसानहरू प्रताडित भइरहेको तर राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको भन्दै सरकारको आलोचना गरे।
  • आङ्देम्बेले नेपाली कांग्रेस परिणामका निम्ति सरकारलाई सहयोगीका रूपमा साथ दिन तयार रहेको स्पष्ट पारे।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्। उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे।

सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै नेता आङ्देम्बेले संसदभित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको पनि दाबी गरे। किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनको भनाइ थियो।

‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्‍याइरहेको छ । त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौँ’ आङ्देम्बेले भने।

उनले सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको बताए।

‘संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो । सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौँ,’ उनले भने।

आङ्देम्बेले देशभरका नागरिकमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको पनि बताए। मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ थियो।

‘पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ तर त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छ’, उनले भने।

उनले विगतमा राजनीतिक दलहरूले जनताको विश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको स्वीकार गरे। ‘जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै जनताको आक्रोश र निराशा नयाँ पार्टीहरूतर्फ गएको हो’ उनले भने।

कांग्रेस अहिले सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको पनि आङ्देम्बेले स्पष्ट पारे। संसदमा आफूले व्यक्त गरेका धारणा र कांग्रेस सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देश एउटै रहेको उनको भनाइ थियो।

‘अहिलेको प्रतिपक्ष विरोधका निम्ति विरोध गर्न आएको होइन, परिणामका निम्ति साथ दिन आएको हो’ उनले भने, ‘नेपाली कांग्रेस परिणाम प्राप्त गर्नका निम्ति सरकारलाई विरोधीका रूपमा होइन, सहयोगीका रूपमा साथ दिन तयार छ।’

आङ्देम्बेले सत्ता र प्रतिपक्ष दुवैले जनताको अपेक्षाअनुसार परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्रको सफलताको आधार पनि त्यही भएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप