सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
जानकारी

गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?

सोमबार, ०८ असार २०८३, १६ : ३०
सोमबार, ०८ असार २०८३

सारांश

  • कांग्रेस सभापति गगन थापाले २०१८ सालमा चितवनको गेष्टहाउस चौरमा 'जय नेपाल' र लोकतन्त्र मागेकै कारणले ५० जनाको लास गाडिएको बताएका छन् ।
  • यो घटना २०१७ साल पुस १ गते पञ्चायती शासन व्यवस्था सुरु भएपछि कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिसँग सम्बन्धित छ ।
  • त्यसबेला चितवनमा आन्दोलनमा सहभागी भएका क्रान्तिकारी योद्धाहरूलाई तत्कालीन सरकारले मारेर गेष्टहाउस चौर र नारायणीको तिरमा ग्राभेलले पुरेको थियो ।

काठमाडौँ । नेपाली कांग्रेसमा सभापति गगन थापाले आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा २०१८ सालमा ‘जय नेपाल’ भनेकै कारण र लोकतन्त्र मागेकै कारणले ५० जनाको लास गाडिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन पुगेका सभापति थापाले भने, ‘अहिले तपाईंहरू उभिएकै ठाउँमा, चितवनको यही भूमिमा वि.सं. २०१८ मा जय नेपाल भनेकै कारणले र लोकतन्त्र मागेकै कारणले ५० जनाको लास गाडिएको थियो । आज तपाईहरुको निलो झण्डा फहराउन पाएको पनि उनीहरूकै कारणले हो । त्यसलाई नभुल्नु होला ।’

सभापति थापाले यससम्बन्धी भनाइ यत्तिमै रोकेनन् । उनले थप प्रस्ट पार्दै भने, ‘निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनु पर्दछ । त्यो पुराना आन्दोलनका बलिदान र सहिदलाई बिर्सन मिल्दैन । विगतका योगदानलाई भुल्नु हुँदैन ।’

कांग्रेस सभापति थापाले उल्लेख गरेको सो घटना २०१७ साल पुस १ गते नेपाली कांग्रेसका संस्थापक जननेता विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार अपदस्थ गरेर पञ्चायती शासन व्यवस्था सुरु गरेपछि त्यसविरुद्ध गरिएको आन्दोलनसँग जोडिएको छ । कांग्रेसले पञ्चायती शासनविरुद्ध २०१८ साल लागे लगत्तै नेता सुवर्ण शमशेरको नेतृत्वमा सशस्त्र क्रान्ति सुरु गरेको थियो ।

त्यही क्रान्ति अन्तर्गतको कार्यक्रममा चितवनको गेष्टहाउस चौर घटना जोडिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । ‘यो घटना कांग्रेसले जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेपछि कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिसँग सम्बन्धित छ,’ सभापति खनालले रातोपाटीसँग भने, ‘त्यो क्रान्तिको सुरुवात चितवनमा गर्ने क्रममा बखान सिंह, लालध्वज गुरुङलगायतले नेतृत्व गर्नुभएको थियो । त्यो अभियानको क्रममा अहिले भएको गेस्ट हाउस चौर र सँगै जोडिएको हाल यातायात विभागले प्रयोग गरेको भवनमा त्यतिखेर आन्दोलनमा जोडिएका, जनताको प्रजातन्त्रको पुनःस्थापनाको लागि आन्दोलन गरिरहेका र चारतारे झण्डा हातमा लिएर जय नेपाल भनिरहेका क्रान्तिकारी योद्धाहरूलाई तत्कालीन सरकारले काट्ने काम गर्‍यो । केही आन्दोलनकारीका शवहरूलाई त्यहीँ काटियो, र केही शवहरूलाई त्यहाँबाट नारायणीको तिरमा लगेर १ हजार ट्रयाक्टर ग्राभेलले पुरिएको तथ्य पत्ता लागेको छ ।’

यता पत्रकार सिताराम बरालले चितवनको यो घटनाको नेतृत्वकर्ता जगतप्रकाशजंग शाह भएको उल्लेख गरेका छन् । बरालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जगतप्रकाशजंग शाह राजा रणबहादुर शाहका जेठा छोरा रणोद्योत शाहतर्फका सन्तति रहेको र २०१५  सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङबाट उम्मेदवार (गोर्खा परिषदका भरत शमशेरबाट पराजित) हुनुहुन्थ्यो ।’ जगतप्रकाश २०१७ को ‘कू’पछि सशस्त्र संघर्षमा होमिएर चितवन कब्जाको नेतृत्व गर्दै चितवन आएको उनले उल्लेख गरेका छन् ।

बरालले शाहको नेतृत्वमा चितवन कब्जा भए पनि काठमाडौँबाट गएको सरकारी सेनाले छलकपटद्वारा उनलाई गिरफ्तार गरेको पनि उल्लेख गरेका छन् । अन्य योद्धा मारिए पनि नातामा राजा महेन्द्रको नाताभित्रको पर्ने भएकाले शाहलाई तत्काल नमारी नारायणहिटी ल्याइएको उनले उल्लेख गरेका छन् । राजा महेन्द्रले शाहलाई आत्मसमर्पण गर्न भने पनि नगरेपछि चितवन फर्काइ क्रमैसँग हातखुट्टा काटियो, हातखुट्टाविनाको शरीर खाल्डोमा हाली शिरोच्छेदन गरिएको बरालले लेखेका छन् ।

चितवनका नेपाली कांग्रेसका पुराना नेतामध्ये गनिने केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेपाली कांग्रेस चितवनका पूर्वसभापति उदयनाथ अधिकारीसहितका कांग्रेसका नेताहरू भागेर बाँचेको र धेरै नेताहरूलाई तत्कालीन सेनाले मारेर त्यही स्थानमा गाडेको बताए ।  

सशस्त्र क्रान्तिका क्रममा कांग्रेसले चितवनलाई ७२ घण्टा जति ‘क्याप्चर’ गरेपछि नेपाली सेना आएर सिज गरी धेरै आन्दोलनकारीलाई पक्राउ गरेको उनको भनाइ छ । ‘नेपाली कांग्रेसले चितवनलाई ७२ घण्टा कब्जामा लिएपछि नेपाली सेना आएर सिज गर्‍यो । त्यसपछि धेरै साथीहरू पक्राउ परे । भाग्ने भागिहाले, नभाग्नेहरूलाई समातेर ल्याएर अहिलेको गेस्ट हाउस चौरमा राख्ने, पिट्ने, मार्ने र खाल्डो खनेर गाड्ने काम भयो,’ गुरुङले रातोपाटीसँग भने, ‘त्यतिबेला करिब ८०–८५ जना साथीहरू बेपत्ता हुनुभएको छ । तीमध्ये केही मारिएको भन्ने छ ।’

गुरुङले त्यो घटनामा कांग्रेस चितवनका पूर्वसभापति उदयनाथ अधिकारी पक्राउ खाएर पनि भागेको बताए । अधिकारीलाई सेनाले पक्राउ गरेर पनि कमाण्डरको गुरुबा भएकाले छोडिदिएको उनले बताए । ‘स्वर्गाीय नेता उदयनाथ अधिकारीज्यूलाई पक्राउ गरेर गेस्ट हाउसमा लगिएको थियो । तर, उहाँ बाच्नुभयो । उहाँ आर्मीको कमाण्डरको गुरुबा परेर बाँच्नुभयो,’ गुरुङले भने, ‘गुरुबा परेको हुनाले गुरुलाई मार्न हुँदैन भनेर कमाण्डरले भनेपछि उहाँलाई छोडिएको र बाँच्नुभएको हो भन्ने सुन्छौँ ।’

त्यो घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क बाहिर आएको छैन । कांग्रेस चितवन सभापति खनालले डा. सूर्यमणि खनालले लेखेको किताबमा २६ जनाको मृत्यु भएको उल्लेख गरेको आफूले अध्ययनका क्रममा भेटाएको बताए । उनले भने, ‘डा. सूर्यमणि ढकालले आन्दोलनका क्रममा २६ जनाको मृत्यु भएको उल्लेख गर्नुभएको मैले उहाँले लेखेको किताब अध्ययन गर्दा भेटाएको थिएँ । पछि हामीले खोज्दै जाने क्रममा थप ३१ जना थपिएको देखियो । यकिन तथ्याङ्क पाइएको छैन ।’

खनालले चितवन कांग्रेसले प्राप्त प्रमाणका आधारमा हराएका बेपत्ता भएका त्यतिखेरका क्रान्तिकारी योद्धाहरूलाई पनि त्यही घटनामा मारिएको हुनुपर्छ भनेर ५७ जना गेष्टहाउस चौरमा गाडिएको विवरण तयार गरेको जानकारी दिए । विवरण खोज्न भने समय लाग्ने उनले बताए ।

चितवन क्याप्चर गर्ने क्रममा तनहुँ, गोरखा, लमजुङ, र धादिङका कांग्रेस नेता कार्यकर्ता त्यो आन्दोलनमा पुगेको विवरण पाइएको खनालले बताए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङले आफूले हरिप्रसाद गुरुङको मृत्यु त्यही आन्दोलनमा मृत्यु भएको विवरण पाएको जानकारी दिए । त्यस्तै बुद्धिसिंह गुरुङ पनि बेपत्ता भएको सूची पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप