मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !

सोमबार, ०८ असार २०८३, १७ : ५३
सोमबार, ०८ असार २०८३

सारांश

  • विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ।
  • सो ट्याङ्कर आज बिहान सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा फेला परेको थियो र अहिले सुनसरी प्रहरीको नियन्त्रणमा छ।
  • प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झन्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको अनुमान गरिएको छ।

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको एउटा ट्याङ्कर नै चोरी भएको छ ।

पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर गएराति चोरी भएको हो । खोजी गर्ने क्रममा उक्त ट्याङ्कर आज बिहान सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा फेला परेको थियो । उक्त ट्याङ्कर अहिले सुनसरी प्रहरीको नियन्त्रणमा छ ।

ट्याङ्कर धनी नवीन कर्णका अनुसार ट्याङ्करमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर आइतबार साँझ ८ बजे पार्किङमा प्रवेश गरेको थियो । निगमको क्यु (लाइन) मा सो ट्याङ्कर राखिएको थियो । ‘हामी सबै जना आयल निगममा तालिममा थियौँ, बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको थाहा पायौँ,’ कर्णले भने । चालकहरू तालिममा रहेको मौका छोपेर ट्याङ्कर चोरी भएको हुनसक्ने उनले बताए ।

प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झन्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको कर्णले बताए । ‘२० हजार लिटर तेल थियो, अहिले नापजाँच गर्दा हजार–बाह्र सय लिटर तेल पुग्दैन कि भन्ने अनुमान छ,’ उनले भने ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्याङ्करलाई डिपोमा ल्याइने तयारी गरिएको छ । आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले पनि ट्याङ्कर चोरी भएको पुष्टि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप