शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
सारांश
- एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ सहभागी रहेको कार्यक्रमका बीच विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
- सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार पौडेललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
- पौडेललाई सुरुमा सुर्खेतबाट काठमाडौँ पठाउने तयारी भए पनि जहाज छुटेपछि नेपालगञ्ज पठाइएको छ ।
सुर्खेत । सोमबार बिहानैदेखि वीरेन्द्रनगरको चर्चित शुभ होटलमा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम’ चलिरहेको थियो ।
सुझाव संकलन कार्यदलको आयोजनामा गरिएको उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी एमाले कर्णाली प्रदेश कमिटीले लिएको थियो । कार्यक्रमका लागि आइतबार बेलुका नै वीरेन्द्रनगर आइपुगेका एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ मञ्चमा थिए । यस्तै, एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल पनि मञ्चमै थिए ।
मञ्चमा बसेका ५ जना प्रतिनिधिमध्ये पौडेल बिच्चैमा बसेका थिए । एमाले केन्द्रीय सदस्य रुद्रबहादुर शाहीका अनुसार, सोमबार दिनभर प्रदेशका नेताहरूबाट सुझाव सुन्ने मात्रै कार्यक्रम थियो । क्रमैसँग जिल्लागत नेताहरूले कुुरा राखिरहेका थिए । जाजरकोटका नेताहरूले कुरा राख्दै थिए । बेलुका सवा ५ बजेतिर पिएसओ पौडेल छेउ गए ।
उनले भनेअनुुसार, कसैलाई केही नभनेर पौडेल बाहिर निस्किए । ‘हामीले त कतै पिसाब गर्न निस्कनुभयो कि भन्ने सोच्यौं, तल फ्लोअरबाट कुरा राख्ने क्रम चलिरहेको थियो,’ केन्द्रीय सदस्य शाहीले रातोपाटीसँग भने, ‘प्रहरी भित्र गएन, प्रहरी गएको भए त थाहा भैहाल्यो ।’ एकैपटक पछि फेसबुक हेर्दा त समाचारमा ‘विष्णु पौडेल’ पक्राउ परेको भन्ने खबर आएपछि आफूहरू अचम्मित परेको उनले बताए ।
धेरैजसो नेताहरू भित्रै बसिरहेको बेला एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाबाहेक अन्य कसैलाई पनि यो कुराको जानकारी थिएन । देवकोटाले पनि पीएसओसँग प्रहरीका अधिकारीहरूले समन्वय गरिरहेको कुरा आफूले थाहा पाएको बताए । त्यसबाहेक अन्य कुरा केही थाहा नभएको उनको भनाइ छ ।
प्रहरीको आग्रहमा पीएसओ ‘काठमाडौं जानुपर्ने भयो’ भनेर कोठामा लिन आएका थिए । त्यहाँ कुरा भएको थियो ।
पौडेललाई नियन्त्रणमा लिन सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । सँगै करिब एक दर्जनजति सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको थियो । त्यसपछि एसपी पोखरेलले पौडेललाई पक्राउ पुर्जी थमाए । ‘त्यसपछि चुपचाप सिभिलको गाडीमा पौडेल बसे,’ एक जना प्रत्यक्षदर्शीले भने, ‘अगाडि एसपी पोखरेल हिँड्नुभयो, पछिल्लो गाडीमा पौडेल ।’ पोखरेलले पौडेललाई होटलबाट सीधै जिल्ला प्रहरी कार्यालय लगे ।
यतिबेलासम्म पनि सबैजसो कार्यक्रम हलभित्र रहेका नेता, कार्यकर्तालाई जानकारी नै थिएन । ‘समाचार आएपछि एकछिन सन्नाटा छाएजस्तो भयो,’ अर्का एक नेताले भने, ‘त्यसपछि एकछिन खासखुस भयो, अनि कार्यक्रम चलिरह्यो ।’
पार्टी पुनर्गठनको अभियान लिएर आएका पौडेलले एक शब्द पनि बोल्नै नपाएर पक्राउ गरिएको ती नेताले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेर उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।
पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालयमा राखियो । सुरुमा सुर्खेतबाट नै काठमाडौँ पठाउने तयारी थियो । तर, जहाज कार्यतालिका छुटेपछि नेपालगञ्जबाट पठाउने भनेर आवश्यक सबै प्रक्रिया पूरा गरी प्रहरी निरीक्षक श्याम प्रसाद यादवको जिम्मा लगाएर नेपालगञ्ज पठाइएको बोहोराले बताए ।
यद्यपि वीरेन्द्रनगरबाट नेपालगञ्ज जान चार घण्टाको दूरी भएकाले ढिलाइ भयो, जसका कारण पौडेललाई नेपालगञ्जमै राखिएको छ । सुरुमा नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको तालिम केन्द्रमा राख्नेगरी पठाइएको बोहोराले बताए । यद्यपि बाँकी उताको कुरा आफूलाई थाहा नहुने उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको प्राङ्गणबाट प्रहरी गाडीमा चढ्दै गर्दा पौडेल निरास देखिएका थिए ।
...त्यसपछि कार्यक्रममा के भयो ?
‘मञ्चमा बसेका नेतागणले थाह पाए पनि थाहा नपाएजस्तो गर्नुभयो,’ अर्का एक नेताले भने, ‘कार्यक्रम स्थगितचाहिँ भएन ।’ सोमबार नेतागणबाट मन्तव्य दिने कार्यतालिका थिएन । अन्तिममा एमाले सचिव, कर्णाली प्रदेश इन्चार्जसमेत रहेका यामलाल कँडेलले बोलेर सोमबारको कार्यक्रम सकियो ।
कँडेलले भनेः सरकारले आतंक सिर्जना गर्यो
कार्यक्रममा सहभागी नेता दल रावलका अनुसार, कँडेलले उक्त विषयमा केही बोले । कँडेलले सरकारले आतंक सिर्जना गर्ने काम भएको बताए । ‘सरकारले आतंक सिर्जना काम गर्यो,’ मुख्यमन्त्री कँडेलले भने, ‘यसले राम्रो गर्दैन । भोलि काठमाडौँ जाने व्यक्तिलाई सुर्खेत पठाएर राम्रो गरेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण