बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
सारांश
- बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने ब्राजिलियन महिलालाई अदालतले निलम्बित जेल सजाय सुनाएको छ।
- ती महिलाले गत डिसेम्बरदेखि गायक जङकुकलाई पछ्याउन सुरु गरेकी थिइन् र उनको घरमा चिठी तथा तस्बिर छोड्ने प्रयास गरेकी थिइन्।
- अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरेमा उनलाई दक्षिण कोरियाबाट देश निकाला गरिने सम्भावना छ।
सियोल। प्रख्यात दक्षिण कोरियाली के-पप ब्यान्ड बीटीएसका स्टार गायक जङकुकको घरमा चेतावनीका बाबजुद बारम्बार पुगेर दुःख दिने एक ब्राजिलियन महिलालाई अदालतले निलम्बित जेल सजाय सुनाएको छ।
ती महिलाले एकै पटकको भ्रमणमा मात्रै जङकुकको घरको ढोकामा रहेको घण्टी १३३ पटकसम्म बजाएकी थिइन्।
पहिचान नखुलाइएकी ती महिलाले गत वर्षको डिसेम्बर महिनादेखि २८ वर्षीय गायक जङकुकलाई पछ्याउन सुरु गरेकी थिइन्। उनले गायकप्रतिको ‘मायाका कारण’ उनको घरको ढोकामा चिठी र तस्बिरहरू छोड्ने प्रयास समेत गरेकी थिइन्।
सियोलको एक जिल्ला अदालतले उनलाई दुई वर्षका लागि निलम्बित रहने गरी एक वर्षको जेल सजाय सुनाएको छ। अदालतको यो फैसलाविरुद्ध उनले पुनरावेदन नगरेमा उनलाई दक्षिण कोरियाबाट देश निकाला गरिने सम्भावना छ।
अदालती कागजात अनुसार ती महिला पहिलो पटक गत डिसेम्बर ७ मा सियोलस्थित जङकुकको घर पुगेकी थिइन्। त्यहाँ उनले घर वरिपरि घुम्ने, पर्खालबाट भित्र सामानहरू फाल्ने र ढोकाको कापबाट चिठीहरू छिराउने काम गरेकी थिइन्। त्यसको केही दिनपछि उनी फेरि त्यहाँ पुगेर १३३ पटकसम्म घण्टी बजाइन्, जसलाई अदालतले ‘अत्यधिक आशक्तिको पराकाष्ठा’ भनेको छ।
डिसेम्बर १३ मा खाना डेलिभरी गर्ने मानिसको पछि लाग्दै साइड गेटबाट घरभित्र छिर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो। भोलिपल्टै उनलाई पुनः सो क्षेत्रमा नआउने चेतावनीसहित छाडिए पनि उनले त्यसको बेवास्ता गरिन्।
त्यसपछिका हप्ताहरूमा पनि उनको आउने क्रम नरोकिएपछि प्रहरीले उनलाई जङकुकको घरको १०० मिटर वरपर आउन नपाउने गरी आपत्कालीन आदेश जारी गरेको थियो। तर पनि उनी रोकिनन्। अन्ततः फेब्रुअरीमा प्रहरीले यो मामला सरकारी वकिलकहाँ पठाएको थियो।
अदालतका अनुसार ती महिला कुल २२ पटक जङकुकको घर पुगेकी थिइन्। फैसला सुनाउँदै जिल्ला न्यायाधीशले महिलाबाट फेरि यस्तो अपराध हुने जोखिम ‘उल्लेखनीय नरहेको’ लगायतका केही खुकुला कारकहरूलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए।
यसअघि गत वर्षको जुन महिनामा पनि सैन्य सेवा सकेर फर्किए लगत्तै जङकुकको घरमा प्रवेश गर्ने प्रयास गर्दा एक चिनियाँ महिला पक्राउ परेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण