मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपाको बन्दसत्रमा के-के हुन्छ ?

मङ्गलबार, ०९ असार २०८३, १५ : ५६
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा साङ्गठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।
  • बन्दसत्रमा विधान संशोधन प्रस्ताव, अर्थ-राजनीतिक प्रस्तावना र सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।
  • बन्दसत्रको अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा र निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तरण गरिनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र मङ्गलबार दिउँसोदेखि सुरु भएको छ ।  बन्दसत्रका लागि विभिन्न कार्यक्रमहरू तय गरिएका छन् । 

पार्टी महामन्त्रीद्वारा सञ्चालन गरिने आजको बन्दसत्रमा साङ्गठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल हुने कार्यतालिका रहेको छ ।

बन्दसत्र सुरु भएसँगै केहीबेरमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसलगत्तै कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल अगाडि बढाउनेछिन् । यसैगरी, त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

महाधिवेशनको विशेष आकर्षणका रूपमा विधान संशोधनको प्रस्ताव रहनेछ । केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्नेछन् ।

त्यसपछि पार्टीको नीतिगत दिशा स्पष्ट पार्न उपसभापति डा. स्वर्णिम वाग्लेले 'अर्थ-राजनीतिक प्रस्तावना' प्रस्तुत गर्ने कार्यतालिका छ ।

त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । जसमाथि सहभागीहरूले छलफल गर्नेछन् । 

बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले नै अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नुका साथै आयोजक समितिले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछन् ।

बन्दसत्रको अन्तिम चरणमा निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र कार्यतालिका प्रकाशन गर्नेछ। निर्वाचन आयोगका अनुसार तालिका प्रकाशन भएपछि निर्वाचनका बाँकी प्रक्रियाहरू निरन्तर रूपमा अगाडि बढ्ने रास्वपाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप