ब्राइटनको संघर्षदेखि विश्वकप गोल्डेन बुट दाबेदारसम्म
काठमाडौँ । टोरन्टोमा खेल सकिन अझै आधा घण्टाभन्दा बढी समय बाँकी थियो, तर जर्मनीका समर्थकहरूले भने पर्याप्त देखिसकेका थिए । आइभरी कोस्टविरुद्ध १–० ले पछाडि परेको आफ्नो टोली ‘द एलिफेन्ट्स’को रक्षापंक्ति तोड्न संघर्ष गरिरहेको देखेपछि उनीहरूले डेनिज उन्डाभको नाम जप्न थाले ।
उनीहरूको नजरमा जर्मनीका ‘सुपर–सब’ मैदानमा ल्याउने समय भइसकेको थियो र प्रशिक्षक जुलियन नागेल्सम्यान पनि त्यसमा सहमत भए ।
विश्वकप समूह ‘ई’ को रोमाञ्चक खेलको ६०औँ मिनेटमा नागेल्सम्यानले उन्डाभ, नादिम अमिरी र जेमी लेवेलिङलाई मैदानमा उतारे । आठ मिनेट पनि नबित्दै अमिरीले दायाँ विङबाट उत्कृष्ट क्रस गरे र उन्डाभले भलीमार्फत शानदार गोल गरे ।
इन्जुरी समयमा उन्डाभले फेरि गोल गर्दै जर्मनीलाई तीन अंक दिलाए । यसपटक उनले फेलिक्स नेम्चाबाट पेनाल्टी क्षेत्रभित्र आएको तीव्र पासलाई उत्कृष्ट पहिलो स्पर्शद्वारा नियन्त्रण गरे र आफ्नो परिचित क्लिनिकल शैलीमा गोल गरे ।
विश्वकपमा वैकल्पिक खेलाडीका रूपमा दुई खेल खेल्दा उनले तीन गोल गरिसकेका थिए । त्यसैले अन्तिम सिटी बजिसकेपछि पनि रंगशालाभरि उनको नाम गुञ्जिरहेकै थियो ।
उन्डाभ स्वयं पनि हाँसो रोक्न सकेनन्, किनकि यो सबै कुरा उनलाई अविश्वसनीय लागिरहेको थियो । २९ वर्षको उमेरमा, बाल्यकालमा वेर्डर ब्रेमेनले ‘सानो कद’ भन्दै छाडिदिएको एक कसिलो र बलियो स्ट्राइकरलाई लोथार म्याथाउसले गर्ड मुलरसँग तुलना गरिरहेका थिए ।
कसरी ?
यसको उत्तर उन्डाभसँग पनि थिएन । ‘साँच्चै भन्ने हो भने मलाई थाहा छैन,’ उन्डाभले स्वीकारे । ‘म केवल सही समयमा सही ठाउँमा हुन्छु ।’
तर उनको यात्रा सधैं त्यति सहज भने थिएन ।

धेरै छिटो, धेरै माथि ?
ब्रेमेनले सानो कदका कारण छाडेपछि उन्डाभले किशोरावस्थामा केही समय कारखानामा समेत काम गरेका थिए । जर्मनीको तेस्रो र चौथो श्रेणीका विभिन्न क्लबहरूमा भौतारिएपछि मात्र उनले बेल्जियममा व्यावसायिक फुटबलमा आफ्नो स्थान बनाउन थाले ।
त्यसैले सन् २०२२ मा ब्राइटनमा उनको स्थानान्तरण धेरैका लागि ‘धेरै छिटो, धेरै माथि’ पुगेजस्तो देखियो । त्यसबेला उनले बेल्जियमको जुपिलर प्रो लिगमा युनियन सेन्ट–जिल्वाजका लागि ३९ खेलमा २६ गोल गर्दै उत्कृष्ट सिजन बिताएका थिए ।
प्रतिभा स्पष्ट थियो । एमेक्स स्टेडियम वरिपरि उन्डाभ क्लबका सबैभन्दा प्राकृतिक फिनिसरमध्ये एक भएको चर्चा थियो । त्यहाँ ड्यानी वेलबेक, लिएन्ड्रो ट्रोसार्ड र इभान फर्गुसनजस्ता खेलाडी पनि थिए ।
तर समस्या के थियो भने, ड्रेसिङ रुममा अत्यन्त लोकप्रिय पात्र भए पनि उन्डाभ प्रशिक्षण मैदानको प्रदर्शनलाई प्रिमियर लिगमा दोहोर्याउन असफल भइरहेका थिए ।
‘डेनिजमाथि विश्वास गर’
१९ मार्च २०२३ मा एफए कपको क्वार्टरफाइनलमा ग्रिम्स्बी टाउनविरुद्ध गोल गरे पनि त्यो ब्राइटनका लागि उनको तेस्रो गोल मात्र थियो ।
धेरैलाई संयोग लागेन कि ती तीनवटै गोल तल्लो डिभिजनका टोलीविरुद्ध आएका थिए । उन्डाभ आफ्नो वास्तविक स्तरभन्दा एक–दुई तह माथि खेलिरहेका खेलाडी जस्तै देखिन्थे ।
४ फेब्रुअरी २०२३ मा बोर्नमाउथविरुद्ध पहिलो पटक सुरुआती टोलीमा पर्दा उनले १५ मिनेटभित्र तीन वटा उत्कृष्ट अवसर खेर फालेका थिए । तर प्रशिक्षक रोबर्टो डे जेर्बीलाई उन्डाभको क्षमतामाथि कुनै शंका थिएन ।
ग्रिम्स्बीविरुद्धको ५–० को जितपछि उनले भने, ‘मलाई उनीमाथि धेरै विश्वास छ । म डेनिजमाथि विश्वास गर्छु । उनीसँग ठूलो क्षमता छ र म उनीबाट अझ धेरै चाहन्छु ।’
ब्राइटनको ठूलो ‘पछुतो’
अन्ततः डे जेर्बीको विश्वास सफल भयो । सिजनका अन्तिम आठ खेलमा उन्डाभले पाँच गोल गरे, जसमा एमिरेट्स स्टेडियममा आर्सनलविरुद्धको ३–० को जितमा गरेको गोल पनि समावेश थियो ।

बाहिरबाट हेर्दा उनको करियरले नयाँ मोड लिएको देखिन्थ्यो, र उन्डाभ स्वयंलाई पनि त्यस्तै लागेको थियो । ‘मैले फुटबलमा के महत्त्वपूर्ण हुन्छ भन्ने बुझेँ,’ उनले पछि भने ।
‘टोलीका लागि काम गर्नुपर्छ । कहिलेकाहीँ अनावश्यक लाग्ने दौड पनि गर्नुपर्छ । त्यो बुझ्न मलाई तीन–चार महिना लाग्यो । त्यसपछि म अचानक धेरै प्रभावकारी र टोलीका लागि मूल्यवान् बनेँ ।’
यही कारण अर्को सिजनका लागि उनलाई स्टुटगार्टमा ऋणमा पठाइँदा धेरैलाई आश्चर्य लागेको थियो ।
तर जाओ पेड्रोको आगमनपछि उनको खेल समय प्रभावित हुने निश्चित थियो । त्यसैले डे जेर्बीले ‘केही पछुतो मान्दै’ उनलाई जान अनुमति दिए ।
इटालियन प्रशिक्षकले स्वीकार गरेका थिए – ‘गत वर्ष डेनिजले हाम्रो लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर उनी नियमित खेल्ने अवसरका हकदार थिए ।’
उन्डाभले त्यो अवसरलाई पूर्ण रूपमा उपयोग गरे ।
स्टुटगार्टमा चम्किँदै
२०२३–२४ सिजनको अन्त्यमा क्लब–रेकर्ड राख्दै स्टुटगार्टका पाँच खेलाडी जर्मनीको युरोपियन च्याम्पियनसिप टोलीमा परेका थिए । उन्डाभ पनि तीमध्ये एक थिए ।
सर्हु गुइरासीसँग मिलेर उनले आक्रमण पंक्तिमा उत्कृष्ट साझेदारी बनाए । उनले १८ गोल गरे र ९ असिस्ट दिए ।
स्टुटगार्टले बुन्डेसलिगामा बायर लेभरकुसेनपछि दोस्रो स्थान हासिल गर्दै १४ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनायो । सन् २००७ मा उपाधि जितेपछि त्यो क्लबको सबैभन्दा उत्कृष्ट लिग प्रदर्शन थियो ।
फलस्वरूप डे जेर्बीका उत्तराधिकारी फाबियन हुर्जेलरले उनलाई ब्राइटन फर्काउन प्रयास गरे पनि उन्डाभ फर्कन इच्छुक थिएनन् ।
अगस्ट २०२४ मा उनले स्थायी रूपमा स्टुटगार्टसँग सम्झौता गरे । ३ करोड २६ लाख युरो (२ करोड ८० लाख पाउन्ड ÷ ३ करोड ७० लाख डलर) को स्थानान्तरण शुल्क स्टुटगार्टको क्लब इतिहासकै सबैभन्दा ठुलो थियो । तर खेल निर्देशक फाबियन वोहल्गेमुथलाई त्यो रकम सही लगानी हुनेमा पूर्ण विश्वास थियो र उनी सही साबित भए ।
पुनः जर्मनी टोलीमा
स्टुटगार्टका स्थायी सदस्य बनेपछि केही साना चोटले उनलाई प्रभावित गरे । तर २०२५–२६ सिजनमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी यस वर्ष मार्चमा पुनः जर्मनी टोलीमा फर्किए ।
विश्वकप छनोट अभियानभर टोलीबाहिर रहे पनि क्लबस्तरको उत्कृष्ट प्रदर्शनले उनलाई फर्कायो ।
उन्डाभले २०२५–२६ सिजनमा सबै प्रतियोगितामा २५ गोल र १४ असिस्ट दिए ।
बायर्न म्युनिखका ह्यारी केन, माइकल ओलिसे र लुइस डियाजबाहेक अन्य कुनै खेलाडीले उनीभन्दा बढी प्रत्यक्ष गोल योगदान दिन सकेनन् ।
उनको योगदानमा स्टुटगार्ट बुन्डेसलिगामा चौथो स्थानमा रहँदै पुनः च्याम्पियन्स लिगमा पुग्यो र लगातार दोस्रो पटक डीएफबी–पोकाल फाइनलमा प्रवेश गर्यो ।
अन्तर्राष्ट्रिय फुटबलमा अवसर पाएपछि प्रभाव देखाउन उनलाई धेरै समय लागेन । घानाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले ८८औँ मिनेटमा विजयी गोल गरे । त्यसपछि फिनल्यान्डविरुद्धको विश्वकप तयारी खेलमा थप दुई गोल गरे ।
त्यसपछि धेरैले विश्वकपमा कुरासाओविरुद्धको पहिलो खेलमा उनलाई सुरुआती टोलीमा राख्न माग गरे । तर नागेल्सम्यानले त्यो माग अस्वीकार गरे ।
उनको विश्वास थियो कि विपक्षी खेलाडी थाकिसकेपछि मैदानमा आउने उन्डाभ अझ प्रभावकारी हुन्छन् । घानाविरुद्धको खेलअघि र पछि पनि उनले यही तर्क गरेका थिए । यद्यपि प्रयोग गरिएको भाषाका कारण पछि उनले उन्डाभसँग माफी माग्नुपरेको थियो ।
तर अहिले जर्मनीका सबैभन्दा फर्ममा रहेका फरवार्डलाई बेन्चमा राखिरहन झन् कठिन हुँदै गएको छ ।
के जर्मनीका ‘सुपर–सब’ सुरुवातबाट खेल्नुपर्छ ?
विश्वकपमा उनले केवल तीन गोल मात्र गरेका छैनन्, ११ अन्तर्राष्ट्रिय खेलमा उनको कुल गोल संख्या नौ पुगेको छ । त्यसमाथि केवल ५६ मिनेट खेल्दा उनले दुई असिस्ट पनि दिइसकेका छन् ।
यसले उनलाई जर्मनी टोलीका सबैभन्दा सहज फिनिसर मात्र होइन, सिर्जनात्मक खेलाडीहरूले भरिएको आक्रमण पंक्तिलाई आवश्यक ‘फोकल पोइन्ट’का रूपमा चित्रित गर्न थालिएको छ ।
त्यसैले इक्वेडरविरुद्धको खेलअघि नागेल्सम्यान ठुलो निर्णयको सामना गरिरहेका छन् ।
के उनी काइ हाभट्र्ज वा अर्को कुनै स्टार खेलाडीको स्थानमा बहुपयोगी उन्डाभलाई सुरुआती टोलीमा राख्नेछन् ? वा फेरि ‘सुपर–सब’कै भूमिकामा प्रयोग गर्नेछन् ?
जर्मनी प्रशिक्षकले भने, ‘हामी दुवै विकल्पबारे छलफल गर्नेछौँ, डेनिजसँग पनि, तपाईं भन्न सक्नुहुन्छ, उनको लय किन रोक्ने ? उनी दुई पटक बेन्चबाट आए र दुवै पटक गोल गरे ।’
‘तर तपाईं यो पनि भन्न सक्नुहुन्छ, ‘यति राम्रो प्रदर्शन गरेपछि उनी सुरुआतबाट पनि खेल्न सक्छन्,’ उनले थपे ।
अन्ततः यो नागेल्समानका लागि नराम्रो समस्या होइन । र, उन्डाभका लागि त यो अझै पनि अविश्वसनीय अनुभव हो ।
केवल तीन वर्षअघि उनी ब्राइटनका लागि प्रिमियर लिगमा गोल गर्न संघर्ष गरिरहेका थिए । आज उनी विश्वकपमा जर्मनीका लागि लगातार गोल गरिरहेका छन् ।
‘म यसको आनन्द लिइरहेको छु,’ सबैको मन जित्ने स्वभावका तथा आश्चर्यजनक रूपमा गोल्डेन बुटका दाबेदार बनेका उन्डाभले भने, ‘म यो सबै क्षणलाई आत्मसात गरिरहेको छु ।’
किनकि यो वास्तवमै असाधारण यात्रा रह्यो, र यस्तो यात्रा जसमा उनी गर्व गर्न पाउने पूर्ण अधिकार राख्छन् ।
उन्डाभले डीडब्ल्यूसँग भनेका थिए, ‘मलाई लाग्छ, मैले धेरै अवरोधहरू पार गर्नुपर्यो । त्यसैले नै म आजको मानिस बनेको हुँ ।’
र, सन् २०२६ विश्वकपमा प्रत्येक जर्मन समर्थकको ओठमा झुण्डिएको नाम पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
-
गोलरक्षकका लागि टाउको दुखाइ बन्दै विश्वकपको नयाँ बल ‘ट्रिओन्डा’
-
चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण