बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विश्वकप २०२६ः गोल्डेन बुटमाथिको घम्साघम्सी

बुधबार, १७ असार २०८३, १४ : ५८
बुधबार, १७ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणसँगै सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धाले नाटकिय रुप लिएको छ । पहिलो खेलमै अर्जेटिनी कप्तान लियोनल मेसीले ह्याट्रिक र दोस्रोमा ‘डबल’ सट मारेपछि उनी प्रबल दाबेदार भएर निस्किए । 

लगत्तै आफ्ना पहिला दुवै खेलमा फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डले समेत दुई–दुई गर्दै गोल्डेन बुट दौड खुला रहेको ‘शंखघोष’ गरे ।   

प्रतियोगिता नकआउट चरणसम्म आइपुग्दा शीर्ष गोलकर्ताको यो दौड झन् रोमाञ्चक बनेको छ । अर्जेन्टिनाका ‘फ्लि’ र फ्रेन्च ‘किकि’ समान ६–६ गोलसहित शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

उनीहरूको ठीक पछाडि नर्वेली भाइकिङ एर्लिङ हालान्डको खातामा ५ गोल छ भने, फ्रान्सकै उस्मान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले ४–४ गोल सुरक्षित गरिसकेका छन् । यससँगै विश्वकप २०२६को गोल्डेन बल दाबेदारीको दौड अझै बृहत् बनेको छ ।

गोल्डेन बुट पुरस्कार के हो र यसको निर्णय कसरी हुन्छ ?

फिफाले प्रतियोगिताको अन्त्यमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट पुरस्कार प्रदान गर्छ । सन् २०२२ को कतार विश्वकपमा आठ गोल गरेका फ्रान्सका किलियन एम्बाप्पे हालका गोल्डेन बुट विजेता हुन् ।

यदि प्रतियोगिताको अन्त्यमा दुई खेलाडीले समान गोल गरेका छन् भने सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीलाई विजेता घोषित गरिन्छ ।

यदि गोल र असिस्ट दुवै बराबर भए भने कम समय मैदानमा बिताएर ती गोल र असिस्ट गर्ने खेलाडीले गोल्डेन बुट जित्छ ।

अहिलेसम्म विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडीहरू

किलियन एम्बाप्पे (फ्रान्स) – ६ गोल, २ असिस्ट

लियोनेल मेस्सी (अर्जेन्टिना) – ६ गोल, ० असिस्ट

एर्लिङ हालान्ड (नर्वे) – ५ गोल, ० असिस्ट

उस्मान डेम्बेले (फ्रान्स) – ४ गोल, २ असिस्ट

भिनिसियस जुनियर (ब्राजिल) – ४ गोल, १ असिस्ट

हाल विश्वकप खेलिरहेका खेलाडीमध्ये कसले कति पटक गोल्डेन बुट जितेका छन् ?

एक–एक पटक गोल्डेन बुट जितिसकेका किलियन एम्बाप्पे, ह्यारी केन र जेम्स रोड्रिगेज दोस्रो पटक जित्ने लक्ष्यमा छन् ।

इङ्ल्यान्डका ह्यारी केनले सन् २०१८ को रुस विश्वकपमा यो पुरस्कार जितेका थिए भने कोलम्बियाका जेम्स रोड्रिगेज सन् २०१४ को ब्राजिल विश्वकपका सर्वाधिक गोलकर्ता बनेका थिए ।

हालसम्म कुनै पनि खेलाडीले गोल्डेन बुट दुई पटक जित्न सकेका छैनन् ।

के क्रिस्टियानो रोनाल्डोले यस वर्ष गोल्डेन बुट जित्न सक्छन् ?

सम्भव छ, तर त्यसका लागि उनले छिटो र लगातार गोल गर्नुपर्नेछ ।

पोर्चुगलका अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपमा हालसम्म दुई गोल गरेका छन् । दुवै गोल समूह चरणमा उज्बेकिस्तानविरुद्ध ५–० को जितमा आएका थिए । पोर्चुगल प्रतियोगितामा लामो यात्रा गर्ने लक्ष्यमा छ र टोलीले आफ्ना कप्तानबाट थप गोलको अपेक्षा गरेको छ ।

एउटै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?

फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनले सन् १९५८ को स्विडेन विश्वकपमा १३ गोल गर्दै अहिलेसम्म कायम रहेको कीर्तिमान बनाएका थिए ।

हंगेरीका सान्दोर कोचिसले सन् १९५४ को स्विट्जरल्यान्ड विश्वकपमा ११ गोल गरेका थिए भने पश्चिम जर्मनीका गर्ड मुलरले १९७० को मेक्सिको विश्वकपमा १० गोल गरेका थिए ।

फिफा विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरू

लियोनेल मेस्सी (अर्जेन्टिना) – १९ गोल

किलियन एम्बाप्पे (फ्रान्स) – १८ गोल

मिरोस्लाभ क्लोजे (जर्मनी) – १६ गोल

रोनाल्डो (ब्राजिल) – १५ गोल

गर्ड मुलर (पश्चिम जर्मनी) – १४ गोल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप