बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा

बिहीबार, १८ असार २०८३, ०४ : ३६
बिहीबार, १८ असार २०८३

सारांश

  • बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
  • सेनेगलले २-० को अग्रता लिए पनि अन्तिम मिनेटमा बेल्जियमले खेल बराबरी गर्‍यो।
  • अतिरिक्त समयको अन्तिम क्षणमा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले रोमाञ्चक जित हात पारेको हो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा सेनेगलमाथि ३–२ को  जित निकाल्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको सियाटलमा निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको अन्तिम क्षणमा भीएआर पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले रोमाञ्चक जित हात पारेको हो ।

नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु भएको खेलमा फिफा वरीयताको १५औँ स्थानमा रहेको सेनेगलले ९ औँ स्थानको बेल्जियमविरुद्ध सुरुवाती आक्रामक खेल प्रदर्शन गर्‍यो ।

खेलको २४ औँ मिनेटमा हबिब डियाराले गोल गर्दै सेनेगललाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै अर्थात् ५१औँ मिनेटमा स्ट्राइकर इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० को आरामदायी स्थितिमा पुगेको थियो ।

तर, खेल सकिन मात्र ४ मिनेट बाँकी छँदा बेल्जियमले खेलमा अविश्वसनीय कमब्याक गर्‍यो । खेलको ८६औँ मिनेटमा बेल्जियमका भरपर्दा स्ट्राइकर रोमेलु लुकाकुले गोल फर्काउँदै गोल अन्तरलाई २–१ मा झारे । त्यसको तीन मिनेटपछि अर्थात् ८९औँ मिनेटमा मिडफिल्डर युरी टिलेमान्सले उत्कृष्ट गोल गर्दै निर्धारित समयको खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो १५ मिनेटमा दुवै टोलीले निकै संघर्ष गरे पनि गोल हुन सकेन र अतिरिक्त समयको मध्यान्तरसम्म पनि खेल २–२ कै स्थितिमा रह्यो ।

खेल पेनाल्टी सुटआउटतर्फ अघि बढिरहेका बेला अतिरिक्त समयको इन्जुरी समयमा भीएआरको लामो रिभ्यू पछि बेल्जियमले पेनाल्टीको अवसर पायो । उक्त महत्त्वपूर्ण अवसरमा युरी टिलेमान्सले पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को सनसनीपूर्ण जित दिलाए ।

यसअघि दुवै टोली निकै उतारचढावपूर्ण यात्रा पार गर्दै अन्तिम ३२ मा आइपुगेका थिए । समूह ‘जी’ मा रहेको बेल्जियमले पहिलो खेलमा इजिप्टसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा इरानसँग गोलरहित बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा न्युजिल्याण्डलाई ५–१ ले पराजित गर्दै बेल्जियमले नकआउट चरणको यात्रा तय गरेको थियो ।

उता समूह ‘आई’ मा रहेको सेनेगलले सुरुआती दुई खेलमा फ्रान्ससँग ३–१ र नर्वेसँग ३–२ को पराजय बेहोरे पनि अन्तिम खेलमा इराकलाई ५–० ले पराजित गर्दै नाटकीय रूपमा अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

यो नाटकीय जितसँगै बेल्जियमले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ भने उत्कृष्ट प्रदर्शनका बाबजुद सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप