३५ वर्ष पार गरेका महिलाले जान्नैपर्ने शरीरका परिवर्तन र समाधानका ६ उपाय
सारांश
- ३५ वर्षपछि महिलाको शरीरमा एस्ट्रोजन हर्मोनको स्तरमा उतारचढाव आउन थाल्छ भने प्रोजेस्टेरोन हर्मोन घट्दै जान्छ ।
- यो उमेरपछि कपाल फुल्ने, पेट वरिपरि बोसो बढ्ने, निद्रामा समस्या, मुड बारम्बार फेरिने जस्ता लक्षण देखिन थाल्छन् ।
- रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पर्याप्त सुत्ने, मांसपेशी बलियो बनाउने व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने र हर्मोन सन्तुलनमा सघाउने खाना खाने जस्ता उपाय अपनाउन सकिन्छ ।
काठमाडौँ । के तपाईंको उमेर ३५ वर्ष कटिसक्यो ? के तपाईंलाई अत्यधिक थकान, निद्रामा समस्या, चिडचिडापन वा चिन्ता महसुस हुन थालेको छ ? यस्तो महसुस गर्ने तपाईं एक्लै हुनुहुन्न ।
हाम्रा वरपर धेरै महिलाहरूले आफ्नो शरीर र मुडमा यस्ता साना–ठूला परिवर्तन महसुस गरिरहेका हुन्छन् । यस्ता परिवर्तनलाई धेरैले कामको चाप वा व्यस्त जीवनशैलीको असर ठानेर बेवास्ता गर्ने गर्छन् । तर विज्ञहरू यसको मुख्य कारण शरीरमा हुने हर्मोनसम्बन्धी प्राकृतिक परिवर्तनलाई मान्छन् ।
यो सामान्य स्ट्रेस (तनाव) होइन । यो त ३५ वर्षपछि महिलाको शरीरमा आउने ठूलो परिवर्तनको सुरुवात हो, जुन सीधै हाम्रो हर्मोनसँग जोडिएको हुन्छ । यो उमेरपछि ‘एस्ट्रोजन’ हर्मोनको स्तरमा उतारचढाव आउन थाल्छ भने ‘प्रोजेस्टेरोन’ हर्मोन घट्दै जान्छ ।
साथै, तनाव बढाउने ‘कोर्टिसोल’ हर्मोनको मात्रा बढ्ने, शरीरको इन्सुलिन संवेदनशीलता कम हुने र मांसपेशीको घनत्व पनि बिस्तारै घट्न थाल्छ । यी सबै परिवर्तन एकैसाथ हुँदा शारीरिक र मानसिक स्वास्थ्यमा विभिन्न असरहरू देखिन थाल्छन् ।
कुन-कुन लक्षण देखिन्छन् ?
३५ वर्षपछि महिलामा सामान्यतः यस्ता लक्षणहरू देखिन थाल्छन् :
• कपाल फुल्नु
• पेट वरिपरि बोसो बढ्नु
• राति राम्रोसँग निद्रा नलाग्नु
• मुड बारम्बार फेरिनु
• ध्यान केन्द्रित गर्न कठिनाइ हुनु
• गुलियो खाने इच्छा बढ्नु
• दिनभरि ऊर्जा कम भएको (थकान) महसुस हुनु
लामो समयसम्म लगातार तनावमा रहँदा शरीरमा ‘प्रोजेस्टेरोन’ हर्मोनको मात्रा अझ घट्न सक्छ । यसले चिन्ता बढाउने, निद्रा बिगार्ने तथा महिनावारीको चक्र अनियमित हुन सक्ने सम्भावना बढाउँछ ।
यी ६ उपाय अपनाएर समस्या कम गर्न सकिन्छ :
१. रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने
खानामा कार्बोहाइड्रेट मात्र नभई प्रोटिन, फाइबर र स्वस्थ बोसो (हेल्दी फ्याट) पनि सन्तुलित रूपमा समावेश गर्नुपर्छ । खाना खाँदा पहिले तरकारी र प्रोटिनयुक्त परिकार तथा त्यसपछि मात्र कार्बोहाइड्रेट खाने बानी राम्रो मानिन्छ ।
२. खाना खाएपछि हिँड्ने
हरेक मुख्य भोजनपछि कम्तीमा १० मिनेट हल्का हिँड्दा रगतमा चिनीको मात्रा सन्तुलित रहनुका साथै हर्मोनलाई पनि सन्तुलित राख्न मद्दत पुग्ने विज्ञहरू बताउँछन् ।
३. पर्याप्त सुत्ने
निद्राले हाम्रो शरीरमा औषधिको जस्तै काम गर्छ । सुत्दाखेरि हाम्रो शरीरको हर्मोन ‘रिसेट’ हुन्छ । निद्रा बिग्रियो भने कोर्टिसोल बढ्छ, जसले हर्मोनको सन्तुलनलाई झनै बिगार्छ । राम्रो निद्रा पाउनका लागि बेलुका छिट्टै खाना खाने, सुत्नुअघि मोबाइल वा अन्य स्क्रिनबाट टाढा रहने तथा नियमित समयमा सुत्ने बानी बसाल्नुहोस् ।
४. मांसपेशी बलियो बनाउने व्यायाम गर्ने
मांसपेशीले हाम्रो शरीरमा इन्सुलिन संवेदनशीलता (सेन्सिटिभिटी) सुधार्छ । यसले एस्ट्रोजन हर्मोन र मेटाबोलिजमलाई सघाउँछ र हड्डीलाई पनि बलियो बनाउँछ । त्यसैले हप्तामा कम्तीमा दुईदेखि तीन दिनसम्म शक्ति बढाउने व्यायाम (स्ट्रेन्थ ट्रेनिङ) गर्नुहोस् ।
५. तनाव व्यवस्थापन गर्ने
कसैको पनि जीवनमा तनावलाई शून्य बनाउन सम्भव हुँदैन । तर, शरीरलाई यसबाट उम्किने मौका भने दिनुपर्छ । यसका लागि गहिरो सास फेर्ने, प्राणायाम गर्ने, बिहानको घाममा केही समय बस्ने र आफ्ना लागि थोरै मात्र भए पनि शान्त समय छुट्याउनुपर्छ । आफ्नो कामको सीमा तय गर्नुहोस् अनि अरूले भनेको कुरा वा कामलाई 'नाइँ' भन्न पनि सिक्नुहोस् ।
६. हर्मोन सन्तुलनमा सघाउने खाना खाने
आफ्नो खानामा हरियो पातयुक्त तरकारी, काउली, बन्दाकोभी, विभिन्न बीउबिजन, नट्स, स्वस्थ बोसो र पर्याप्त प्रोटिनयुक्त भोजन नियमित रूपमा समावेश गर्नुहोस् । फाइबरयुक्त खानाले शरीरमा आवश्यकभन्दा बढी भएको एस्ट्रोजन हटाउन सहयोग गर्ने भएकाले प्रशोधित खाद्य पदार्थभन्दा घरमै बनाइएको ताजा र सन्तुलित खाना रोज्नु उपयुक्त हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण