बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत

बिहीबार, १८ असार २०८३, ११ : ५८
बिहीबार, १८ असार २०८३

सारांश

  • निर्माता रौनक विक्रम कँडेलले अभिनेता विनय श्रेष्ठविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
  • कँडेलको दाबी अनुसार, फिल्म 'फेरि रेशम फिलिली' निर्माणको क्रममा भएको सम्झौता अनुसार विनयले ९१ लाख रुपैयाँ तिर्न बाँकी छ ।
  • विनयले व्यावसायिक दायित्व नतिरेपछि र नयाँ गाडी खरिद गरेको थाहा पाएपछि आफू कानुनी बाटो रोज्न बाध्य भएको कँडेलले बताएका छन् ।

काठमाडौँ । अभिनेता तथा निर्माता विनय श्रेष्ठ विरुद्ध निर्माता रौनक विक्रम कँडेलले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । फिल्म ‘फेरि रेशम फिलिली’ निर्माणका क्रममा ५०–५० प्रतिशतको हिस्सेदारीमा सहकार्य भए पनि सम्झौता अनुसारको वित्तीय दायित्व विनयले पूरा नगरेको दाबी गर्दै कँडेल अदालत पुगेका हुन् ।

अदालतमा दायर गरिएको फिराद पत्र अनुसार, फिल्मले अपेक्षित व्यापार गर्न नसकी घाटामा गएपछि सिर्जना भएको ऋण र व्यावसायिक दायित्व बापत विनय श्रेष्ठले ९१ लाख रुपैयाँ तिर्नुपर्ने जिकिर कँडेलको छ ।

कँडेलका अनुसार ‘फेरि रेशम फिलिली’ निर्माणको सुरुवातमा दुवै पक्षले फिल्मको मुनाफा र घाटा दुवै बराबर (५०/५० प्रतिशत) बाँड्ने गरी लिखित सम्झौता भएको थियो । तर, फिल्मले बजारमा व्यावसायिक असफलता बेहोरेपछि सिर्जना भएको वितरक तथा अन्य पक्षको बक्यौता तिर्ने दायित्वबाट श्रेष्ठ पन्छिएको कँडेलको आरोप छ ।

‘फिल्म घाटामा गइसकेपछि डिस्ट्रिब्युटरको पैसा र अन्य व्यावसायिक दायित्वहरू तिर्नुपर्ने हुन्छ, जसमा विनयको पनि बराबर संलग्नता रहन्छ’, कँडेलले रातोपाटीसँग भने ‘लिखित सम्झौता नै भए पनि उहाँले ‘तिर्छु–तिर्छु’ मात्र भनिरहनुभयो तर व्यावहारिक रूपमा केही गर्नु भएन ।’ उनले व्यवहारिक रूपमा पैसा नतिरेपछि बाध्य भएर अदालत जानु परेको कँडेलको भनाइ छ ।

यसअघि विवाद मिलाउन निर्माता सङ्घ र वितरकहरूको रोहवरमा पटक–पटक छलफल भएको कँडेलले खुलासा गरेका छन् । कँडेलका अनुसार श्रेष्ठले निर्माता सङ्घ र वितरक गोविन्द शाहीको अगाडि नै आफूले पैसा बुझाउन बाँकी रहेको र बिस्तारै तिर्ने कबुल गरेका थिए । लामो समयसम्म पनि बक्यौता रकम नतिरेका श्रेष्ठले हालै नयाँ गाडी खरिद गरेको देखेपछि आफू कानुनी बाटो रोज्न बाध्य भएको कँडेलले बताए ।

‘एक–डेढ महिनाअघि नयाँ गाडी किन्न उहाँसँग पैसा हुने, तर व्यावसायिक दायित्व तिर्न पैसा नहुने भएपछि मान्छेको नियतै खराब हो भन्ने प्रस्ट भयो । मैले धेरै वर्ष चुप लागेर सहेँ, तर अब चुप लागेर मात्र बस्ने अवस्था रहेन’ कँडेलले भने ।

यस विषयमा अभिनेता विनय श्रेष्ठले अदालतमा मुद्दा गइसकेकोले केही नबोल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप