मानव विकासको भविष्य : के हामी आफ्ना बालबालिकाको रूप र गुण आफैँ तय गर्न सक्नेछौँ ?
सारांश
- मानव विकासक्रम जारी छ र जीनहरू निश्चित जनसङ्ख्यामा बढी सामान्य हुँदै गइरहेका छन्, तर यो परिवर्तन धेरै पुस्ताहरूमा हुने गर्छ।
- खानपान, वातावरणीय कारकहरू र बसाइँसराइले मानव विकासलाई प्रभाव पारेको छ, जसले शारीरिक अनुकूलन र स्थानीय विविधता विकास गरेको छ।
- जीन सम्पादन प्रविधिले भविष्यमा मानिसहरूलाई आफ्ना बालबालिकाको रूप र गुणहरू छनोट गर्ने क्षमता दिन सक्छ, जसले मानव विकासको भविष्यलाई मानिसकै हातमा पुर्याउनेछ।
के मानिस अझै पनि विकसित हुँदै छन् र भविष्यमा हाम्रा रूपहरू फरक हुन सक्छन् ? के हामी होचा हुनेछौँ वा अझ अग्ला ?
मानिसका शारीरिक गुणहरू फरक हुन सक्छन् वा तिनीहरूलाई पूर्ण रूपमा आनुवंशिक (जेनेटिक) रूपले कुनै निश्चित विशेषताअनुसार डिजाइन गर्न सकिन्छ। सभ्यताको विकाससँगै हामी पनि परिवर्तन हुँदै गएका छौँ।
पहिले रोग, भोकमरी र मौसमका कठिन परिस्थितिहरूले हाम्रो इभोलुसन (विकासक्रम) लाई प्रभाव पार्थे। सभ्यताहरूको विकास हुँदै जाँदा हाम्रो इभोलुसनमा यी कारकहरूको प्रभाव कम हुँदै गयो।
तर युकेस्थित एङ्गलिया रस्किन युनिभर्सिटीका मानवविज्ञानी तथा इभोलुसनरी जेनेटिसिस्ट डा. जेसन हड्सन भन्छन्, ‘विकास आज पनि निस्सन्देह जारी छ। हामी यो कुरा किन जान्दछौँ भने केही जीनहरू निश्चित जनसङ्ख्यामा बढी सामान्य हुँदै गइरहेका छन् तर यो परिवर्तन धेरै पुस्ताहरूमा हुने गर्छ। त्यसैले कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा यो विकासवादी परिवर्तन देख्न सक्दैन।’
मानव विविधता
अमेरिकाको स्मिथसोनियन नेसनल म्युजियम अफ नेचुरल हिस्ट्रीकी पेलियोएन्थ्रोपोलोजिस्ट ब्रियाना पोबिनरका अनुसार हाम्रो खानपानले हाम्रो हालैको विकासमा धेरै ठुलो भूमिका खेलेको छ।
उनी भन्छिन्, ‘आज विश्वको लगभग एक तिहाइ जनसङ्ख्याले वयस्क अवस्थामा पनि दूध पचाउन सक्छ। जब कि ५ देखि १० हजार वर्ष पहिले लगभग कसैले पनि यसो गर्न सक्दैनथ्यो। यो निकै द्रुत गतिमा भएको विकासवादी परिवर्तन हो।’
पोबिनर बुझाउँछिन्, ‘यो तब सुरु भयो जब मानिसहरूले दुग्ध जनावरहरू पाल्न थाले। अनिकालको समयमा बोसो र प्रोटिन हुने दूध पचाउन सक्ने मानिसहरू बाँच्ने सम्भावना बढी थियो र उनीहरूले आफ्ना जीनहरू अगाडि बढाउन सके। यसरी यी जीनहरू धेरै छिटो फैलिए।’
अन्य वातावरणीय कारकहरूले पनि मानव विकासलाई अझ पहिलेदेखि नै प्रभाव पारेका छन्। जब हजारौँ वर्ष पहिले अफ्रिकाबाट हाम्रो प्रजाति विश्वका विभिन्न भागमा फैलियो, त्यसले फरकफरक किसिमको हावापानीको सामना गर्नुपर्यो र नयाँ शारीरिक अनुकूलनहरू विकास गर्यो। उदाहरणका लागि, जहाँ यूभी (पराबैजनी) प्रकाश कम थियो, त्यहाँ हल्का रङ्गको छाला विकास भयो ताकि शरीरले भिटामिन डी राम्रोसँग बनाउन सकोस्।
हड्सनका अनुसार मानिसहरू एकअर्काबाट छुट्टिएर विभिन्न क्षेत्रमा बसोबास गर्न थालेपछि स्थानीय विविधता विकसित भयो। अब बसाइँसराइ र भूमण्डलीकरण जस्ता विभिन्न माध्यमबाट हामी फेरि एकसाथ आएका छौँ।
यो भूमण्डलीकरणले जैविक विविधता कम हुन सक्ने सम्भावनालाई इङ्गित गर्छ तर कुराहरू त्यति सरल भने छैनन्।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार सन् २०२४ मा विश्वभर लगभग ४० करोड शल्यक्रिया र गैर-शल्यक्रिया सौन्दर्य प्रक्रियाहरू सम्पन्न गरिए। यो सन् २०२० को तुलनामा ४० प्रतिशतले बढी हो। अर्थात् मानिसहरूमा आफू जन्मँदा जस्तो देखिन्छ, त्योभन्दा केही फरक देखिने चाहना बढिरहेको छ।
हड्सन एउटा यस्तो विषयमा अनुसन्धान गर्छन्, जसलाई ‘असोर्टेटिभ मेटिङ’ भनिन्छ। अर्थात् जब जीवहरूले आफूसँग मिल्दोजुल्दो साथी छान्छन्। हड्सन भन्छन्, ‘असोर्टेटिभ मेटिङले पहिलेदेखि नै भइरहेको कुनै पनि प्राकृतिक छनोटलाई अझ तीव्र पार्न सक्छ, जसले गर्दा कुनै जनसङ्ख्यामा केही खास गुणहरू बढ्न सक्छन्।’
अनुसन्धानकर्ताहरूले यो पनि देखेका छन्– तपाईं जति अग्लो हुनुहुन्छ, तपाईंको जीवनसाथी पनि अग्लो हुने सम्भावना त्यति नै बढी हुन्छ।
उनी भन्छन्, ‘उचाइ, तौल र अनुहारको संरचना जस्ता धेरै कुराहरू केही समूहहरूमा असोर्टेटिभ पाइएका छन् तर सबैमा होइन र यसको अन्ततः जीनको आवृत्तिमा प्रभाव पर्छ।’
यसको केही अंश सामाजिक र सांस्कृतिक कारणहरूसँग जोडिएको हुन्छ, जस्तै मानिसहरू अक्सर आफ्नै जातीय समूहभित्र विवाह गर्छन्। अनि केही जनसङ्ख्यामा यी कारकहरू परिवर्तन पनि भइरहेका छन्।
हड्सनका अनुसार यस्ता धेरै कुराले मानव विकासलाई निरन्तर प्रभाव पारिरहेका छन्।
‘सबै मानिसकै हातमा छ’
तर केही यस्ता विकल्पहरू पनि हुन्छन् जसले विकासलाई प्रभाव पार्दैनन्। उदाहरणका लागि, पोबिनर भन्छिन्, ‘यदि तपाईं जिम जानुहुन्छ र कसरत गरेर मांसपेशी बनाउनुहुन्छ भने, यसको अर्थ तपाईंका बालबालिकाले पनि राम्रो मांसपेशीका लागि जीन पाउनेछन् भन्ने होइन।’
ओर्थोडोन्टिक्सदेखि कस्मेटिक प्रक्रियाहरूसम्म, धेरै शारीरिक गुणहरू अब एउटै जीवनकालमा बदल्न सकिन्छ। यस्ता परिवर्तनहरू अक्सर प्राकृतिक छनोटको सट्टा सामाजिक छनोटबाट प्रभावित हुन्छन्।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार सन् २०२४ मा विश्वभर लगभग ४० करोड शल्यक्रिया र गैर-शल्यक्रिया सौन्दर्य प्रक्रियाहरू सम्पन्न गरिए। यो सन् २०२० को तुलनामा ४० प्रतिशतले बढी हो। अर्थात् मानिसहरूमा आफू जन्मँदा जस्तो देखिन्छ, त्योभन्दा केही फरक देखिने चाहना बढिरहेको छ।
डेनमार्कको आरहुस युनिभर्सिटीका पूर्व एसोसिएट प्रोफेसर तथा बायोइन्फर्मेटिक्स विशेषज्ञ थोमस मेलुन्ड भन्छन्, ‘चिकित्सा विज्ञानमार्फत हाम्रो रूपरङ्ग बदल्ने यो बढ्दो क्षमताको अर्थ अब सधैँ तपाईंको जीनले तय गरेजस्तै देखिनुपर्छ भन्ने हुँदैन।’
भविष्यमा सायद हामी बाहिरी रूप मात्र बदल्न सक्नेछैनौँ। वैज्ञानिकहरू ‘क्रिस्पर’ नामक प्रविधिको प्रयोग गरेर मानव जीन सम्पादन गरिरहेका छन्।
यस प्रविधिमार्फत एउटा भागले लक्षित डीएनए खोज्छ र अर्कोले त्यसलाई बदलिदिन्छ। यो प्रविधि निरन्तर राम्रो हुँदै छ। केही सीमित आनुवंशिक रोगहरू, जस्तै रगतसम्बन्धी केही गडबडीको उपचारमा यसको प्रयोग सुरु पनि भइसकेको छ।
यदि यो प्रविधि धेरै अगाडि बढ्यो र व्यापक रूपमा उपलब्ध भयो भने, सिद्धान्ततः एक दिन यस्तो सम्भव हुन सक्छ– मानवका अन्य गुणहरूलाई आनुवंशिक स्तरमै बदल्न सकियोस्। त्यो पनि धेरै पुस्ताहरूमा बिस्तारै होइन, एउटै पुस्तामै। अर्थात् हामी आफ्ना बालबालिकामा मनचाहे गुणहरू विकास गर्ने क्षमता राख्नेछौँ।
र यदि यो जर्मलाइन कोषिकाहरूमा गरियो भने, अर्थात् ती कोषिकाहरू जुन शुक्रकीट र अण्डा बन्छन्, जीनमा गरिएका परिवर्तनहरू आउने पुस्ताहरूमा पनि हस्तान्तरण हुन सक्छन्।
तर यसलाई सुरक्षित र पूर्ण वारेन्टीका साथ गर्न सकिने अवस्थाबाट हामी अझै धेरै टाढा छौँ।
हड्सन भन्छन्, ‘मानिसहरूमा यसो गर्नु उचित होइन, यो पूर्ण रूपमा अनैतिक हुनेछ भन्ने कुरा अहिले लगभग पूर्ण रूपमा स्वीकार गरिएको छ।’ तर उनको अनुमान छ, भविष्यमा यो बदलिन सक्छ।
उनी भन्छन्, ‘५ हजार वर्षपछि सायद अवस्था उल्टो हुन सक्छ। अर्थात् एउटा यस्तो समय आउन सक्छ जब जीनोम सम्पादन गर्नु अनैतिक नभई, यसलाई नगर्नु चाहिँ अनैतिक मानिनेछ किनभने हामी वंशाणुगत रोगहरू निर्मूल पार्न सक्षम हुन सक्छौँ।’
यदि यो प्रविधि व्यापक रूपमा उपलब्ध भयो भने, यसले आमाबाबुलाई आफ्ना बालबालिकाको रूपरङ्ग र अन्य गुणहरू जीन सम्पादनमार्फत छनोट गर्ने विकल्प पनि दिन सक्छ।
हड्सन भन्छन्, ‘व्यापक अर्थमा मानव विकासको भविष्य वास्तवमै मानिसकै हातमा जानेछ तर हामी अझै त्यो अवस्थाबाट धेरै टाढा छौँ।’ यस प्रविधिको बारेमा अझै धेरै कुरा बुझ्न बाँकी रहेको र आफ्नो जीवनकालमा यसको यस्तो रूप नदेख्ने आशा गरेको उनी बताउँछन्।
नयाँ प्रजातिहरू
मेलुन्ड भन्छन्, ‘हाम्रो वातावरण कसरी परिवर्तन हुनेछ भन्ने कुरा थाहा नभएसम्म भविष्यमा मानिसहरू कस्ता देखिनेछन् भनेर अनुमान लगाउन असम्भव छ।’
यदि धेरै टाढाको भविष्यको कुरा गर्ने हो भने, यो सम्भव छ, हामी एउटा नयाँ प्रजाति बनिसकेका हुनेछौँ।
लगभग दस लाख वर्ष पहिले ‘होमो इरेक्टस’ जस्ता मानव प्रजातिहरू पृथ्वीमा थिए। हाम्रो आफ्नै प्रजाति, ‘होमो सेपियन्स’, लगभग ३ लाख वर्ष पहिले अस्तित्वमा आयो।
मेलुन्ड भन्छन्, ‘यदि हामी अझै दस लाख वर्ष पर्खियौँ भने, हाम्रा सन्तान हामीभन्दा त्यति नै फरक हुनेछन्, जति होमो इरेक्टस हामीभन्दा फरक छ।’ यद्यपि उनी चेतावनी दिन्छन्– प्रजातिहरूबिचको भिन्नता सायद हामीले सोचेजति स्पष्ट हुनेछैन। उनी भन्छन्, ‘मलाई विश्वास छैन– कुनै होमो इरेक्टसलाई देखेर हामी ऊ हामीभन्दा धेरै फरक छ भनी पहिचान गर्न सक्नेछौँ।’
हाम्रो प्रजाति दुई भागमा बाँडिनु पनि सम्भव छ। उदाहरणका लागि यदि हामीमध्ये केही मानिसहरू अन्तरिक्ष जस्तो नयाँ वातावरणमा बस्न थाल्यौँ भने यस्तो हुन सक्छ।
मेलुन्ड भन्छन्, ‘यदि तपाईं चन्द्रमामा बस्नुहुन्छ भने त्यहाँ कम गुरुत्वाकर्षण हुनेछ, र मङ्गल ग्रहमा पनि कम गुरुत्वाकर्षण छ, त्यसैले त्यहाँको वातावरणअनुसार अनुकूलन गर्नुपर्ने हुन्छ।’ वास्तवमा एउटा नयाँ प्रजाति विकसित हुनका लागि यी जनसङ्ख्याहरू धेरै पुस्तासम्म पृथ्वीका मानिसहरूभन्दा पूर्ण रूपमा अलग रहनुपर्छ।
तर यदि हामीले विकासलाई पूर्ण रूपमा भाग्यको भरमा छोडेनौँ भने के होला ?
जीन प्रविधिको मद्दतले आफ्ना जीन बदल्ने सम्भावनासँगै मेलुन्डको विश्वास छ, ‘असली प्रश्न यो होइन कि जीवविज्ञानले हामीसँग के गर्नेछ, बरु यो हो कि हामी के रोज्नेछौँ।’
(बीबीसीका लागि कलेक्टिभ न्युजरुमको तर्फबाट प्रकाशित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण