शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्रको १०० दिनः राजदूतका लागि विज्ञापनदेखि प्रधानमन्त्रीको सामूहिक भेटसम्म

शनिबार, २० असार २०८३, २० : ४७
शनिबार, २० असार २०८३

काठमाडौँ । असार २० गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा आज पत्रकार सम्मेलन आयोजना गर्‍यो । 

पत्रकार सम्मेलनमा परराष्ट्र तथा कूटनीतिक मामिलामा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको जनाएको छ । सरकारले कूटनीतिक सम्बन्ध सुदृढीकरण, संकटमा परेका नागरिकको उद्धार र प्रशासनिक पारदर्शितामा नवीन सुरुवात गरेको जनाएको छ । कूटनीतिक मर्यादा र नयाँ अभ्यासको थालनी परराष्ट्र नीतिलाई थप सशक्त र सन्तुलित बनाउन प्रधानमन्त्री बालेनबाट विदेशी राजदूतहरूसँग सामूहिक ब्रिफिङ गर्ने नयाँ कूटनीतिक अभ्यासको थालनी गरिएको जानकारी गराएको छ । 

कूटनीतिक आचारसंहिताको पूर्ण पालना गर्दै परराष्ट्रमन्त्री शिशिर खनालबाट छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण सम्पन्न गरेको छ । सो भ्रमणका क्रममा नेपालको विकास प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सीमा विवादबारे राष्ट्रिय धारणा स्पष्ट पारिएको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी, सरकारले मुलुकको दीर्घकालीन हितका लागि नयाँ रणनीति तर्जुमा गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको पनि भनेको छ ।  संकटमा नागरिकको उद्धार र राहतनागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले परराष्ट्र मन्त्रालयमा २४ घण्टे हटलाइनसहितको ‘इमर्जेन्सी कन्ट्रोल’ टोली गठन गरेको छ । 

जसको माध्यमबाट पश्चिम एसिया संकटका कारण अप्ठ्यारोमा परेका एक हजार ४७ जना र दक्षिणपूर्वी एसियाका अनलाइन स्क्यामिङ केन्द्रमा फसेका ८१९ जना नेपाली नागरिकको सफल उद्धार गरेको जनाएको छ । 

यसैगरी यूएई र साउदी अरब सरकारले विभिन्न कारणले थुनामा राखेका १६१ जना नेपालीहरूलाई सरकारको कूटनीतिक प्रयासमार्फत क्षमादान दिलाउन सरकार सफल भएको जानकारी गराएको छ । 

विदेशमा समस्यामा परेका नेपाली, मृतकको शव व्यवस्थापन र क्षतिपूर्तिका सवालहरूलाई छिटो सम्बोधन गर्न सरकारले मित्र एप्स एप सञ्चालनमा ल्याएको छ । इतिहासमै पहिलो पटक खुला आवेदनबाट राजदूत नियुक्ति पारदर्शी सुशासनको क्षेत्रमा कदम चाल्दै खुला प्रतिस्पर्धा र आवेदनमार्फत राजदूत नियुक्तिको प्रक्रिया थालनी गरिएको र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

यस कदमले कूटनीतिक क्षेत्रमा योग्यता प्रणाली संस्थागत गर्ने अपेक्षा गरिएको जनाएको छ । व्यापार, सम्पदा र अन्तर्राष्ट्रिय मञ्चमा उपस्थितिनेपालको निरन्तरको कूटनीतिक प्रयासपछि नेपाली चियाको भारत निर्यात सहज बनेको छ । 

त्यस्तै, बेलायतसँग गोर्खा सैनिकका माग र हिन्द महासागर सम्मेलनमा नेपालका तर्फबाट सरोकारहरू सशक्त रूपमा उठाइएको छ । सांस्कृतिक कूटनीतिका क्षेत्रमा जर्मनीबाट ८०० वर्ष पुराना ऐतिहासिक सामग्रीहरू नेपाल फर्काउने सम्झौता भएको छ । नेपालकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा गरेपछि सरकारले ‘आरोग्य पर्यटन रणनीति’ समेत कार्यान्वयनमा ल्याएको छ ।

परराष्ट्र मामिलामा युवाहरूको सहभागिता र आकर्षण बढाउन मोफ समर इन्टर्नसीप २०२६’ को नवीन सुरुवात गरिएको छ । प्रविधिमैत्री सेवा प्रवाह र स्थानीयकरण नागरिकलाई दिइने सेवालाई सहज बनाउन कन्सुलर सेवा देशका ५३७ स्थानीय तहमा विस्तार गरिएको जनाएको छ । 

कन्सुलर सेवालाई अनलाइन प्रणालीमा ढाली ट्रयाकिङ गर्न सकिने सुविधा थपिएको छ भने राहदानी सेवामा अनलाइन प्रणालीमार्फत ‘प्रि–इन्रोलमेन्ट’ र ‘अपोइन्टमेन्ट सिस्टम’ अनिवार्य गरी सेवा प्रवाहलाई चुस्त बनाइएको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप