श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा इन्टर्न चिकित्सकहरूको श्रम शोषण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
- उनले निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको र यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको बताइन्।
- सांसद ओलीले समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गर्दै समयमै सम्बोधन नभए भविष्यमा चिकित्सकहरूको गम्भीर अभाव हुने चेतावनी दिइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूको श्रम शोषण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरिन्।
सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको ओलीले बताइन्। नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण नयाँ चिकित्सकहरूको निरन्तर श्रम शोषण भइरहेको र यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको उनको भनाइ छ। समयमै यो अवस्थालाई सम्बोधन नगरिए निकट भविष्यमै नेपालले चिकित्सक र स्वास्थ्यकर्मीको गम्भीर अभाव भोग्नुपर्ने उनले चेतावनी दिइन्।
सांसद ओलीले भनिन्, ‘यो विषय चिकित्सकहरूको पेसागत हितसँग मात्र सम्बन्धित छैन, यो देशको समग्र स्वास्थ्य प्रणाली र जनस्वास्थ्यसँग गाँसिएको अत्यन्त गम्भीर राष्ट्रिय सरोकारको विषय हो।’ उनले नेपालको श्रम ऐन २०७४ अनुसार तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन्।
विभिन्न कार्यदलले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिससहितको प्रतिवेदन तयार पारे पनि हालसम्म कार्यान्वयन नभएको उनले सदनलाई जानकारी गराइन्। प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा पनि आयोगले बैठक बसेर ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाएको छैन।
सरकारबाट पटकपटक आश्वासन पाए पनि कुनै ठोस पहल नभएको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमै शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेको समेत ओलीले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण