आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
सारांश
- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्य रहेको बताएकी छन् ।
- सडक बालबालिकाको संरक्षणका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भइसकेको र तत्काल उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श र पारिवारिक पुनर्मिलनको कार्यलाई तीव्रता दिइनेछ ।
- यसका साथै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राखिएको छ ।
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्य रहेको बताएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो घोषणा गरेकी हुन् ।
मन्त्री वादीले सडक बालबालिकाको संरक्षणका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भइसकेको जानकारी दिइन् । राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय तह, नेपाल प्रहरी र विभिन्न सङ्घसंस्थाको समन्वयमा सडकमा रहेका बालबालिकाको तत्काल उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श र पारिवारिक पुनर्मिलनको कार्यलाई तीव्रता दिइने उनको भनाइ छ । मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको उल्लेख गर्दै मन्त्री वादीले अब दलित, मधेसी, मुस्लिम, थारू, आदिवासी जनजाति र सीमान्तकृत समुदायको मुद्दालाई पनि प्राथमिकतामा राखिएको बताइन् ।
संसदमा बोल्दै उनले भनिन्, ‘समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्ने उद्देश्यका साथ अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संरक्षण र सशक्तीकरणलाई बजेटको केन्द्रमा राखिएको छ ।’
ज्येष्ठ नागरिकको हकमा सरकारले ५० वटा स्थानीय तहमा दिवा सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । स्थानीय तहकै साझेदारी र आवश्यकताका आधारमा स्थान छनोट गरी मन्त्रालयले आवश्यक कार्यविधि मार्फत सहजीकरण गर्ने मन्त्री वादीले प्रस्ट पारिन् ।
यस्तै, लैङ्गिक हिंसा पीडित महिला तथा किशोरीहरूको सुरक्षित आवास र पुनःस्थापनाका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनःस्थापना केन्द्रको भवन निर्माण गरिने जानकारी समेत उनले दिइन् । हाल यो केन्द्र अस्थायी रूपमा सञ्चालनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण