मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?

मङ्गलबार, २३ असार २०८३, ०९ : ०४
मङ्गलबार, २३ असार २०८३

सारांश

  • देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्।
  • कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ भने बागमती प्रदेशको बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
  • लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्, जसले यातायात सञ्चालनमा समस्या ल्याएको छ।

काठमाडौँ । मंगलबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या आएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुरको भोजपुर नगरपालिका-५, बोखिममा मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीका कारण प्रभावित छ। हाल यो सडक खण्ड एकतर्फी रूपमा सुचारु रहेको र अर्को वैकल्पिक बाटो समेत भएको जानकारी दिइएको छ। 

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू गत जेठ २२ गतेदेखि रोकिएका हुन्।

यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ र ४ महालक्ष्मीस्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध छ। जेठ १५ गतेदेखि बन्द भएको यो बाटो मर्मत कार्य चलिरहेकाले यही महिनाको २५ गतेसम्म बन्द हुने बताइएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्। लुम्बिनी प्रदेशको रोल्पास्थित माडी गाउँपालिका ६ हार्निडाँडामा असार २२ गते गएको पहिरोका कारण रुकुम-घोराही-सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। 

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजेगार्ड खोलामा आएको बाढीले असार १७ गतेदेखि भेरी करिडोर पूर्ण रूपमा बन्द छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पनि गत जेठ २३ गते गएको पहिरोले जाजरकोट-डोल्पा सडक खण्डमा पूर्ण रूपमा अवरोध पुर्‍याएको छ ।

741481510_4476409385937220_9192390500536044681_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप