मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

आर्थिक अनुशासनविपरीत काम गर्नेलाई निर्मम कारबाही गरिन्छ : सशस्त्र प्रहरी

मङ्गलबार, २३ असार २०८३, १२ : ११
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सशस्त्र प्रहरी बल नेपालले संगठनभित्र आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ लागू गर्दै आर्थिक अनियमिततामा संलग्न जोसुकै कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।
  • सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासनविपरीत काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्मम ढंगले कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
  • नेपाल एपीएफ स्कुल, कीर्तिपुरमा भएको भनिएको आर्थिक अनियमितताप्रति प्रधान कार्यालय गम्भीर रहेको र यस विषयमा नेपाल प्रहरीलाई थप अनुसन्धानका लागि अनुरोध गरिएको छ।

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले संगठनभित्र आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ लागू गर्दै आर्थिक अनियमिततामा संलग्न जोसुकै कर्मचारीमाथि कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासनविपरीत काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्मम ढंगले कारबाही गरिने र कानुनबमोजिम सजायको भागिदार बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सशस्त्र प्रहरीले नेपाल एपीएफ स्कुल, कीर्तिपुरमा भएको भनिएको आर्थिक अनियमितताप्रति प्रधान कार्यालय गम्भीर रहेको जनाएको छ। विद्यालयबाट सशस्त्र प्रहरी कल्याणकारी कोषमा आउनुपर्ने रकम नआएको जानकारी पाएलगत्तै सम्बन्धित कर्मचारीमाथि आन्तरिक छानबिन सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक छानबिनका क्रममा आर्थिक अनियमितताको आशंका देखिएपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई अनुरोध गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङलाई वैशाख २० गतेदेखि लागू हुने गरी पहिलो पटक सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सशस्त्र प्रहरीले नेपाल एपीएफ स्कुलसम्बन्धी विषयमा सूचना प्राप्त हुनेबित्तिकै आफ्नै सक्रियता र पहलमा छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। संगठनभित्र आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न पछिल्लो समय शून्य सहनशीलताको नीति अवलम्बन गरिएको पनि सशस्त्र प्रहरीले स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप