मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

४ हजार ८ सय कर्मचारी कटौती गर्दैछ माइक्रोसफ्ट

मङ्गलबार, २३ असार २०८३, १२ : १५
मङ्गलबार, २३ असार २०८३

सारांश

  • माइक्रोसफ्टले विश्वभर ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
  • कम्पनीले आफ्नो गेमिङ व्यवसाय एक्सबक्समा व्यापक पुनर्संरचना गर्दै चार स्टुडियोलाई अलग गर्ने निर्णय पनि गरेको छ ।
  • माइक्रोसफ्टले आफ्ना खेलहरू एक्सबक्स कन्सोलमा मात्र सीमित नराखी विभिन्न प्लेटफर्ममा उपलब्ध गराउने रणनीति अपनाउने भएको छ ।

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका ४ हजार ८ सय कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ ।

यो कम्पनीको कुल कार्यबलको करिब २ दशमलव १ प्रतिशत हो । कम्पनीले आफ्नो गेमिङ व्यवसाय एक्सबक्समा व्यापक पुनर्संरचना गर्दै चार स्टुडियोलाई अलग गर्ने निर्णय पनि गरेको छ । कम्पनीका अनुसार गेमिङ डिभिजनमा मात्र ३ हजार २ सय पद कटौती गरिनेछ । तीमध्ये १ हजार ६ सय कर्मचारीलाई सोमबारदेखि नै बिदा गरिएको छ ।

माइक्रोसफ्टले पछिल्ला केही वर्षमा एक्सबक्स व्यवसाय विस्तारका लागि अर्बाैं डलर लगानी गरेको थियो । यस क्रममा उसले एक्टिभिजन ब्लिजार्डलाई पनि खरिद गरेको थियो । तर त्यसपछि पनि सोनीको प्लेस्टेसन र निन्टेन्डोसँगको प्रतिस्पर्धामा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले गेमिङ व्यवसायको रणनीतिमा ठूलो परिवर्तन गर्न लागेको हो ।

अब माइक्रोसफ्टले आफ्ना खेलहरू एक्सबक्स कन्सोलमा मात्र सीमित नराखी विभिन्न प्लेटफर्ममा उपलब्ध गराउने रणनीति अपनाउने भएको छ ।  यसले कन्सोल बिक्रीभन्दा खेल वितरणलाई बढी प्राथमिकता दिने कम्पनीको योजना देखिएको छ । एक्सबक्सकी प्रमुख आशा शर्माले कर्मचारीलाई पठाएको सन्देशमा पुनर्संरचनाअन्तर्गत चार स्टुडियोलाई अलग गरिने जानकारी दिएकी छन् ।

उनका अनुसार कम्पल्सन गेम्स र डबल फाइन प्रोडक्सन्स स्वतन्त्र स्टुडियोका रूपमा सञ्चालन हुनेछन् । त्यस्तै निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पनि छुट्टै कम्पनीका रूपमा विकास गरिनेछ, जसले क्रमशः सेनुआ र स्टेट अफ डिके ३ खेलको विकासमा ध्यान केन्द्रित गर्नेछन् । यस्तै, डिसअनर्ड खेल विकास गरेको आर्केन स्टुडियोले पनि आफ्ना कर्मचारी सङ्घसँग कम्पनीको भविष्यबारे छलफल सुरु गरेको जनाएको छ । उक्त स्टुडियो हाल मार्भल कमिक्सका पात्र ब्लेडमा आधारित नयाँ खेल निर्माण गरिरहेको छ ।

पछिल्लो समय कृत्रिम बौद्धिकता अपनाउने क्रम बढेसँगै प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । यस वर्ष विश्वका ठूला प्रविधि कम्पनीहरूले एआईमा ७ खर्ब डलरभन्दा बढी लगानी गर्ने अनुमान गरिएको छ । बढ्दो लगानीबाट प्रतिफल निकाल्ने दबाबबीच अमेजन र मेटा प्लेटफम्र्सले पनि यस वर्ष हजारौँ कर्मचारी कटौती गरिसकेका छन् । माइक्रोसफ्टकी प्रमुख मानव स्रोत अधिकृत एमी कोलम्यानले भने कर्मचारीलाई पठाएको सन्देशमा हटाइएका पदहरू एआईले प्रतिस्थापन गर्नका लागि कटौती नगरिएको स्पष्ट पारेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप