राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
सारांश
- राष्ट्रिय सभाका सांसदहरूले वन्यजन्तुको आक्रमण, प्रशासनिक बेथिति, विकास निर्माणमा ढिलासुस्ती, सडक दुर्घटना, चुरे विनाश, निजी विद्यालयको मनपरी शुल्क, लोडसेडिङ, दृष्टिविहीनमाथि प्रहरी दमन र सुकुम्बासी समस्या जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
- सांसदहरूले चितवनमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका आमा-छोराका परिवारलाई राहत, कर्णाली प्रदेशमा भएका दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।
- यसैगरी, मन्त्रीहरूले कानुन विपरीत ठूलो सङ्ख्यामा सल्लाहकार नियुक्त गरी राज्यकोषमा भार पारेको भन्दै सांसद रामकुमारी झाँक्रीले लिखित जवाफ मागेकी छन् भने तराईमा भइरहेको लोडसेडिङ समस्या समाधान गर्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले जनसुरक्षा, सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका समसामयिक विषयहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वन्यजन्तुको आक्रमणदेखि प्रशासनिक बेथिति र विकास निर्माणमा देखिएको सुस्तताका बारेमा सरकारको जवाफ माग गरेका हुन् ।
बैठकमा सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्ती ‘ध्रुवे’ को आक्रमणबाट आमा–छोराको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त हात्तीलाई तत्काल नियन्त्रणमा लिन माग गरिन् । नागरिकको जीवनको मूल्यमा वन्यजन्तु संरक्षण हुन नसक्ने भन्दै उनले पीडित परिवारलाई उचित राहत र निकुञ्ज आसपासका बस्तीमा प्रभावकारी बारको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
त्यस्तै, सांसद धर्मेन्द्र पाशवानले मधेस प्रदेशमा अपराधका घटना बढेको र अभियुक्तहरू खुला रूपमा हिँडिरहेको भन्दै सुरक्षा व्यवस्थामा प्रश्न उठाए । सप्तरीको सुरुङ्गा नगरपालिकाका पीडितहरू न्यायको पर्खाइमा रहेको तर मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
अर्की सांसद मिना सिंह रखालले कर्णाली प्रदेशमा भइरहेका सडक दुर्घटना र प्राकृतिक विपत्तिका घटनाप्रति सरकार संवेदनशील नभएको आरोप लगाइन् । सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको, जुम्लामा चट्याङबाट मानवीय क्षति भएको र डोल्पामा सवारी दुर्घटना भएको उल्लेख गर्दै उनले घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरिन् । चुरे विनासका कारण मधेसमा पानीका स्रोत सुकेको र खेतीयोग्य जमिन बाँझो रहेको भन्दै सांसद महन्थ ठाकुरले खानेपानीको हाहाकार समाधान गर्न सरकारले पहल नगरेकोमा आपत्ति जनाए ।
प्रशासनिक क्षेत्रको बेथितिको चर्चा गर्दै सांसद रामकुमारी झाँक्रीले सरकारले सुशासनको नारा दिए पनि प्रशासनिक संयन्त्रमा अस्थिरता देखिएको टिप्पणी गरिन् । निजामती कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेको र मन्त्रीहरूले कानुन विपरीत ठूलो सङ्ख्यामा सल्लाहकार नियुक्त गरी राज्यकोषमा भार पारेको भन्दै उनले त्यसको लिखित जवाफ माग गरिन् । यसैगरी सांसद रेखाकुमारी झाले निजी विद्यालयहरूले मनपरी शुल्क असुलिरहेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको बताइन् ।
ऊर्जा क्षेत्रको समस्या उठाउँदै सांसद रोशनी मेचेले विद्युत निर्यातको चर्चा भइरहँदा तराईका जनताले लो–भोल्टेज र अघोषित लोडसेडिङको समस्या झेलिरहेको बताइन् । उनले चार दशक पुरानो वितरण प्रणाली सुधारका लागि आपत्कालीन कोष खडा गरी संरचनात्मक सुधार थाल्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
अर्का सांसद वासुदेव घिमिरेले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनहरूमाथि प्रहरीले गरेको बल प्रयोगको निन्दा गरे । सांसद सम्झना देवकोटाले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलका सदस्यलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयले नागरिकको राजनीतिक अधिकार कुण्ठित गरेको भन्दै त्यसलाई सच्याउन माग गरिन् ।
बैठकमा सांसद सोमनाथ पोर्तेलले नगरकोट र बोडेका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई पर्याप्त विकल्पबिना सडकमा अलपत्र पारिएको भन्दै सरकारको कडा आलोचना गरे । उनले गरिब र सुकुम्बासीको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण