मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

‘फलानाको दाजु’, ‘फलानाकी बहिनी’, ‘फलानाको आफन्त’ भर्ती भएको समाचार आएपछि सङ्ग्रौलाले उठाइन् प्रश्न

मङ्गलबार, २३ असार २०८३, १४ : ४०
मङ्गलबार, २३ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको छायाँ देखिन थालेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण गराएकी छन् ।
  • उनले रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात भए पनि व्यवहारमा त्यस्तो नदेखिएको संकेत गरेकी हुन् ।
  • सांसद सङ्ग्रौलाले यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने स्पष्ट पारेकी छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको छायाँ देखिन थालेको भन्दै आफ्नो पार्टीको  ध्यानाकर्षण गराएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात भए पनि व्यवहारमा त्यस्तो नदेखिएको संकेत गरेकी हुन् । 

बेलाबेलामा सञ्चारमाध्यममा रास्वपाका नेताका दाजु, बहिनी वा आफन्तहरू विभिन्न जिम्मेवारीमा आएको भन्ने समाचार सार्वजनिक हुने गरेको उल्लेख गर्दै उनले यसबाट जनतामा स्वाभाविक रूपमा प्रश्न उठेको बताएकी छन् ।

सांसद सङ्ग्रौलाले यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने स्पष्ट पारेकी छन् । पारिवारिक सम्बन्धका आधारमा कसैले पनि जिम्मेवारी पाउन नहुने उनको तर्क छ । उनले रास्वपाले आफ्नो विधानको मर्मलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ । परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो । यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ !’ रास्वपाले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहक दाबी गरिरहँदा आफ्नै सांसदबाट आएको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप