मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या

मङ्गलबार, २३ असार २०८३, १४ : ५०
मङ्गलबार, २३ असार २०८३

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् ।

ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २२ गते राति साढे ८ बजेतिर सौचनले कपिल खवासकी श्रीमती सीमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । के कारणले आक्रमण भएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट खुलेको छैन ।

सोही क्रममा बचाउ गर्न खोज्दा सोही स्थानमा बस्ने ४४ वर्षीय ठुलोबुबा नाता पर्ने शिवलाल खवास समेत घाइते भएका छन् । उनको दाहिने कुममा गहिरो चोट लागेको र उनलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायब निरीक्षक मोतिराज दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले हत्यामा संलग्न खवासलाई नियन्त्रणमा लिएको छ । 

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप