मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा

मङ्गलबार, २३ असार २०८३, १५ : ४१
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । नेपाली बक्स अफिसमा विदेशी कलाकारहरू अल्लु अर्जुन, प्रभास, रणवीर कपुरदेखि शाहरुखसम्मको जादू चलेको देखिन्छ । नेपालमा रिलिज भएका अहिलेसम्म धेरै कमाउने १० फिल्ममा यी कलाकारका फिल्म नै अगाडि देखिएका छन् । 

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा बर्सेनि ९० देखि १०० को हाराहारीमा विदेशी फिल्म प्रदर्शनमा आउँछन् । 

नेपालमा अहिलेसम्म धेरै कमाउने विदेशी फिल्मका अभिनेतामा अल्लु अर्जुन अग्रस्थानमा छन् । दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ नेपाली दर्शकमाझ बढी लोकप्रिय रह्यो । अनौठो शैली र संवादका साथ यो फिल्ममा अल्लु अर्जुन देखिएका थिए । २०२४ डिसेम्बर ५ मा रिलिज भएको फिल्मले २४ करोडभन्दा बढी कमाएको छ । अल्लुको यसअघि आएको ‘पुष्पा’ले पनि राम्रो व्यवसाय गरेको थियो । 

अल्लु अर्जुनपछि प्रभास बलिया देखिएका छन् । प्रभासको फिल्म ‘बाहुबलीः द कन्क्लुजन’ले नेपाली बक्स अफिसमा २० करोडभन्दा बढी कमाएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’भन्दा अगाडि आएको ‘बाहुबली’ले पनि राम्रो व्यवसाय गरेको थियो । 

प्रभासकै अभिनय रहेको फिल्म ‘कल्की २०१९ एडी’ पनि धेरै कमाउने फिल्मको सूचीमा नवौँ स्थानमा छ । फिल्मले नेपाली बक्स अफिसमा १२ करोडभन्दा बढी कमाएको देखिन्छ । नाग अश्विन निर्देशित फिल्ममा प्रभासको जोडीका रूपमा अभिनेत्री दीपिका पादुकोण देखिएकी थिइन् । ‘कल्की’ ६०० करोड भारतीय लगानीमा निर्माण भएको भन्दै प्रचार गरिएको थियो । 

नेपाली बक्स अफिसमा अभिनेता यशलाई पनि रुचाइएको पाइन्छ । उनको फिल्म ‘केजीएफस् च्याप्टर २’ पनि धेरै व्यवसाय गर्ने फिल्मको तेस्रो स्थानमा छ । फिल्मले १९ करोडभन्दा बढी व्यवसाय गरेको देखिन्छ । प्रशान्त नील निर्देशित यो फिल्म २०२२ अप्रिल १४ मा रिलिज भएको थियो । फिल्मको अघिल्लो पार्ट ‘केजीएफ’ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्दै नेपाली दर्शकको मन जित्न सफल भएको थियो । 

अभिनेता जुनियर एनटीआर र रामचरणका फिल्म पनि नेपाली दर्शकले धेरै हेर्ने गरेका छन् । यी दुई स्टारर फिल्म ‘आरआरआर’ धेरै कमाउने फिल्मको चौथो स्थानमा छ । फिल्मले नेपालमा १७ करोडभन्दा बढी व्यवसाय गरेको देखिन्छ । सन् २०२२ मार्च २५ गते रिलिज भएको फिल्म पनि ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले निर्देशन गरेका हुन् । 

त्यस्तै, रणवीर कपुरको फिल्मसमेत नेपाली दर्शकमाझ लोकप्रिय हुँदै आएको छ । कपुरको मुख्य भूमिका रहेको फिल्म ‘एनिमल’ नेपालमा धेरै कमाउने विदेशी फिल्मको पाँचौँ स्थानमा पर्न सफल छ । सन् २०२३ डिसेम्बर १ मा रिलिज भएको फिल्मले नेपालमा १६ करोडभन्दा बढी व्यवसाय गरेको देखिन्छ । यो फिल्ममा पहिले नेपाली कलाकार विपिन कार्की पनि देखिने कुरा थियो । अन्तिम समयमा आएर विपिनले यो फिल्म खेल्न पाएनन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशन रहेको फिल्ममा रणवीरको जोडीका रूपमा रश्मिका देखिएकी थिइन् । 

बलिउडका 'किङ खान' शाहरुखका फिल्म पनि नेपाली दर्शकमाझ प्रतीक्षित रहँदै आएका छन् । खानको ‘जवान’ धेरै कमाउने फिल्मको छैटौँ र ‘पठान’ आठौँ स्थानमा पर्नुले पनि त्यो देखाउँछ । सन् २०२३ सेप्टेम्बर ७ मा रिलिज भएको फिल्म ‘जवान’ले १४ करोडभन्दा बढी कमाएको छ भने २५ जनवरी २०२३ मा रिलिज भएको ‘पठान’ले भने १३ करोडभन्दा बढी व्यवसाय गरेको देखिन्छ । 

रणवीर सिंहका फिल्मले पनि नेपाली दर्शक राम्रै पाउने गरेका छन् । सिंहको फिल्म ‘धुरन्धर २’ पनि नेपालमा धेरै कमाउने फिल्मको सातौँ स्थानमा पर्छ । २०२६ मार्च २० मा रिलिज भएको फिल्मले १३ करोडभन्दा बढी कमाएको छ । यो फिल्म ‘धुरन्धर’को सिक्वेल हो । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अर्जुन रामपाल लगायतको अभिनय छ । 

अभिनेता तथा निर्देशक ऋषभ शेट्टीलाई पनि नेपाली दर्शकले रुचाएको देखिन्छ । ऋषभको फिल्म ‘कान्तारा २’ पनि धेरै कमाउने विदेशी फिल्मको १० सूचीभित्र परेको छ । फिल्मले नेपाली बक्स अफिसमा १२ करोडभन्दा बढी व्यवसाय गरेको छ । यो २०२२ मा रिलिज भएको फिल्म ‘कान्तारा’को सिक्वेल हो । ‘कान्तारा’ युट्युबमा रिलिज भएपछि यसको चर्चा बढी भएको थियो । सोही कारण नेपालमा ‘कान्तारा २’ धेरै दर्शकले हेरेका थिए । फिल्ममा ऋषभसहित गुलशन देवैया, जयराम, रुक्मिनी लगायतको अभिनय थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप