बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : नेपालमा अनलाइन ठगी

अनलाइन ठगीको दायरा बढ्दै, १६ प्रकारले ठगिन्छन् सर्वसाधारण

११ महिनामा झन्डै ७ हजार सर्वसाधारण ठगिए
बुधबार, २४ असार २०८३, ११ : ४५
बुधबार, २४ असार २०८३

सारांश

  • अनलाइन ठगीका घटना बढ्दै गएका छन्, जसमा वालेट ह्याक र ओटीपी फिसिङ प्रमुख माध्यम बनेका छन्।
  • आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार १५४ ठगीका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षको ११ महिनामा ७ हजार ७९९ जनाले उजुरी गरेका छन्।
  • अनलाइन ठगीबाट बच्न 'क्यास अन डेलिभरी' प्रयोग गर्न, वेबसाइटको आधिकारिकता जाँच्न र शंकास्पद अफरबाट जोगिनुपर्छ।

काठमाडौँ । ‘आइफोन–१५ प्रोम्याक्स ६५ हजार रुपैयाँमा पाइन्छ, चाँडै बुक गर्नुहोस् !’ डेढ लाखभन्दा माथि मूल्य पर्ने फोन निकै सस्तोमा आउने विज्ञापन साकिर मोबाइल नामको फेसबुक र टिकटक आइडीमा आइरह्यो ।

यस्तो विज्ञापन देखेर नेपाल टेलिकमका एक जना उच्च तहका अधिकृतले म्यासेन्जरमा सम्पर्क गरे । मोबाइल विक्रेताले भने, ‘क्यूआरमा रकम पठाइदिनु होला, भोलि बेलुकासम्म सामान पाउनुहुन्छ ।’

त्यसपछि पीडितले ६५ हजार नगद ‘क्यूआर’ गरेर पठाए । भोलिपल्टसम्म मोबाइल नआएपछि सम्पर्क गर्न खोज्दा मोबाइल विक्रेताले पीडितलाई सामाजिक सञ्जालमा ‘ब्लक’ गरिसकेका रहेछन् । जिल्ला प्रहरी परिसर काठमाडौँले साकिर मोबाइलको नाममा ठग्ने झापाको बिर्तामोड नगरपालिका–४ घर भएर काठमाडौँ बस्ने २१ वर्षीय दिलिप तामाङ र बिर्तामोड–३ घर भएर काठमाडौँ बस्ने २३ वर्षीय आशुतोष ओलीलाई पक्राउ गरेर मुद्दा चलाएको छ । उनीहरू जेठ अन्तिम साता पक्राउ परेका हुन् ।

ठगीमा संलग्न आरोपितहरूले काठमाडौँको ताम्राकार हाउसका मोबाइल विक्रेताहरूले आफ्नो फेसबुकमा हालेको मोबाइलको विज्ञापन भिडियो ‘क्याप कट’ गरी भ्वाइस ओभर गरेर फेसबुकमा हाल्ने गरेका थिए । सस्तो मूल्य र होम डेलिभरी हुने विज्ञापन देखेर प्रलोभनमा पर्नेहरू ठगिएका थिए ।

यसरी अनलाइन मार्फत सामान बेच्ने नाममा पछिल्लो समय ठगीका घटना बढेका छन् । अनलाइन सपिङ र मार्केटप्लेसको आवरणमा २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्ममा ७६७ जना ठगिएको रेकर्ड प्रहरीमा छ । प्रहरीमा उजुरी गर्न नआएका अन्य कैयौँ मानिस यस्ता घटनामा ठगिएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वालेट ह्याक र ओटीपी फिसिङ लिङ्क प्रयोग गरेर ठगी भएको उजुरी परेको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वालेट ह्याक र अनलाइन सपिङ सम्बन्धी ठगीका उजुरी ब्यूरोमा दर्ता भएको छ ।’

पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा अनलाइनको माध्यमबाट हुने ठगीको घटना क्रमशः बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार १५४ ठगीको निवेदन दर्ता भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा सङ्ख्या बढेर ७ हजार ७४० पुग्यो । चालु आर्थिक वर्षको ११ महिनामा ७ हजार ७९९ जनाले आफू अनलाइन माध्यमबाट ठगीमा परेको भन्दै ब्यूरोमा उजुरी गरेका छन् । ती उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विद्युतीय माध्यम प्रयोग गरेर गिरोहले १६ प्रकारका शैलीबाट सर्वसाधारणलाई ठग्ने गरेका छन् । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर तथा फेक आईडीमार्फत गिरोहले ठगी धन्दा चलाउने गरेका छन् । प्रहरीका अनुसार बैंक तथा वालेटबाट बोलेको भन्दै ‘अकाउण्ट’ अपडेट गर्ने नाममा ठगी हुने गरेको छ ।

प्रहरीका अनुसार वालेट ह्याक गरेर तथा ओटीपी फिसिङ लिङ्ग पठाएर ह्याकरहरूले व्यक्तिको वालेट खातामा पहुँच बनाउँछन् । विदेशबाट पार्सल पठाएको नाममा र चिट्ठा परेको नाममा ठगी हुने गरेको घटना प्रहरीमा दर्ता हुने गरेका छन् । वैदेशिक रोजगारी र विदेशमा धनी मान्छेको मृत्यु भएको भन्दै ‘अपुताली’ खाने लोभ देखाएर पनि ठगीका घटना हुने गरेका छन् ।

महिलाहरूले ह्वाट्सएपमार्फत भिडियोमा कुरा गर्ने र पुरुषहरूलाई बस्त्रविहीन हुन आग्रह गरेर त्यही भिडियो सेयरिङ्ग गर्दै ब्ल्याकमेल गर्ने प्रवृत्ति पनि बढ्दो छ । अनलाइन जब, क्रिप्टो, बायनान्स एप र अनलाइनमार्फत लगानी गर्ने नाममा समेत ठगी हुँदै आएको प्रहरीको भनाइ छ ।

विदेशी मुद्रा साटिदिने, गेमिङ, अनलाइन माध्यमबाट सामान खरिद र मार्केटप्लेसको आवरणमा समेत ठगी हुने गरेको छ । ब्यूरोका सूचना अधिकारी (एसपी) गिरीले भने, ‘अनलाइन टिकेकिङ्ग, अनलाइन ट्युशन र कोठा खोजिदिने शैली अपनाएर पनि ठग्ने गरेका छन् ।’

अपराध शैली अनुसार ठगीको विवरण :

qm

तथ्याङ्क स्रोत : साइबर ब्यूरो

  • फुटबल हेर्ने लिङ्कमार्फत ठगी

पछिल्लो समय फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ निःशुल्क हेर्न सकिने प्रलोभन देखाएर गिरोहले ठगी धन्दा चलाइरहेका छन् । जुन ११ देखि सुरु भएको विश्वकप फुटबल प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको छ ।

त्यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट विभिन्न लिङ्कमा जान प्रेरित गर्ने र वालेट तथा बैंक खातासम्म अनधिकृत पहुँच बनाएर रकम लैजाने शैली पछिल्लो समय देखा परेको छ । निःशुल्क फुटबल हेर्न खोज्दा ११५ जना ठगिएको ब्यूरोका एसपी गिरीले बताए ।

उनका अनुसार अनलाइन माध्यममा निःशुल्क फुटबल हेर्न सकिने विज्ञापन आउँछ । त्यही विज्ञापन पछ्याउँदै जाँदा सर्वसाधारण ठगिन्छन् । प्रहरीका अनुसार एप डेभलपरले सम्पत्ति शुद्धीकरणको इस्युमा बैंक खाता लक भएको रहेछ भनेर बैंकको पासवर्ड राखेर रिस्क हटाउन आग्रह गर्छन् । पीडितले पासवर्ड प्रविष्ट गर्नासाथ खातामा भएको रकम रित्तिन्छ ।

thagi

फुटबल सुरु भएसँगै अहिलेसम्म अनलाइन लिङ्क खोल्दा २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको साइबर ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । अनलाइनको पछाडि डट इएक्सई, डट व्याट जस्ता फाइल यस्तो ठगीमा प्रयोग हुँदै आएको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्ष प्रहरीले आरोपितलाई सम्पर्कमा ल्याएर ठगी भएको १७ करोड फिर्ता गराएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड २६ लाख र २०८०/०८१ मा १ करोड ९४ लाख रुपैयाँ यसरी फिर्ता गराइएको एसपी गिरीले जानकारी दिए ।

साइबरको माध्यमबाट घृणास्पद अभिव्यक्ति (हेट स्पिच) र हैरानी दिने घटना पनि धेरै हुने गरेका छन् । त्यस्ता घटनामा प्रहरीले पहिलो चरणमा छलफलबाट मिलापत्रको प्रयास गर्ने र मिलपत्र हुन नसकेमा विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाउने गरेको छ ।

  • कसरी जोगिने ?

अनलाइन ठगीबाट बच्न सामान खरिद गर्दा ‘क्यस अन डेलिभरी’ (सामान प्राप्त भइसकेपछि मात्र भुक्तानी) लिनुपर्ने बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई । सामान बिक्री गर्ने वेबसाइटको आधिकारिकता यकिन नगरिकन सामान खरिद गर्न खोज्दा मानिसहरू ठगिने गरेको उनले बताए ।

भट्टराईले भने, ‘वेबसाइटको बारेमा पनि क्रस भेरिफिकेशन गर्नुपर्छ । बजार मूल्यभन्दा कति कम मूल्यमा सामान बेच्न अफर गरेको छ भन्नेबारे हेरेर मात्र खरिद गर्नुपर्छ । बजार मूल्यभन्दा अस्वाभाविक रूपमा कम मूल्यमा सामान उपलब्ध गराउने प्रस्ताव गरिएको छ भने शङ्का गर्नुपर्ने ठाउँ रहन्छ ।’

त्यस्तै, कसैले खरिद गर्न दबाब दिएमा त्यस्तो कुरा नपात्याउन एसपी भट्टराईले आग्रह गरे । उनले भने, ‘कसैले दबाब दिएमा पनि त्यसमा शङ्का गर्नुपर्छ ।’

एसपी भट्टराईले बैंक र वालेटको कर्मचारीको आवरणमा फोन गर्नेहरूलाई पत्याउन नहुने बताए । उनले भने, ‘केवाईसी अपडेट र पर्सनल विवरण बैंकले कहिल्यै पनि फोन गरेर माग्दैन । त्यो कुरा सबैले थाहा पाउनुपर्छ ।’

अनलाइन मार्फत हुने ठगीका घटनामा उजुरी सबै जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने र सम्बन्धित कार्यालयबाट अनुसन्धान हुने व्यवस्था रहेको प्रस्ट पार्दै उनले आफू ठगिएको महसुस हुनासाथ प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे ।

  • कानुनमा के छ ?

विद्युतीय माध्यम सम्बद्ध ठगीमा प्रहरीले आरोपितहरूलाई ३ वटा मुद्दा चलाउने गरेको छ । विद्युतीय कारोबार ऐन, ठगी सम्बन्धी कसुर र बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अभियोग दायर गर्ने गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी मुद्दामा ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । अपराध संहिताको दफा–२५३ अनुसार आपराधिक लाभ (एक्स्टर्सन) लिन वा लिन लगाउनु हुँदैन ।

प्रहरीमा दर्ता भएका धेरै उजुरीमा आपराधिक लाभ लिएर पनि ठगेको देखिन्छ । कुनै व्यक्तिले बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि फाइदा उठाउन पाउँदैन । त्यस्तो अवस्थामा १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिबाना हुने ब्यवस्था छ ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार कम्प्युटर प्रणालीमा अनधिकृत प्रवेश गरेर गोप्य सूचना चोरी गर्ने, फिसिङ, नक्कली वेबसाइट वा सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गरेमा कैद तथा जरिबाना हुने व्यवस्था छ । बैंकको कर्मचारी हुँ भनेर विद्युतीय माध्यमबाट ओटीपी मागेर बैंक खाताबाट रकम ट्रान्सफर गर्नेलाई प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप