बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न

बुधबार, २४ असार २०८३, १४ : २५
बुधबार, २४ असार २०८३

कोलकाता । कोलकाताको दक्षिणी उपनगरस्थित बारुईपुर थाना क्षेत्रमा एक नाबालिकाको बलात्कार र हत्या मामिलाका अभियुक्तको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। मृतकको पहिचान प्रभास मण्डलको रूपमा भएको छ। 

बालिकाका आफन्तले सीसीटीभी फुटेज हेरेपछि उनको पहिचान गरेका थिए। सूर्यपुरमा नाबालिकाको बलात्कारपछि हत्या गरिएको मामिला सार्वजनिक भएको थियो । जुलाई ५ मा उनको शव स्थानीय एउटा पोखरीबाट बरामद गरिएको थियो।

प्रहरीका अनुसार मंगलबार अबेर राति अनुसन्धानका क्रममा ‘क्राइम सिन रीक्रिएट’ गराउन अभियुक्त प्रभास मण्डललाई पोखरी नजिकै लगिएको थियो। सोही क्रममा उनले एक प्रहरीको सर्भिस रिभोल्भर थुतेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको दाबी गरिएको छ। घाइते अभियुक्तलाई बारुईपुर उप-मण्डलीय अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। घटना सार्वजनिक भएदेखि नै प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेको छ। 

प्रारम्भिक पोस्टमार्टम रिपोर्ट अनुसार नाबालिकाको मृत्यु डुबेर भएको देखिएको छ। प्रहरीले सुरुवाती उजुरीमा गम्भीरता नदेखाएको र समयमै कारबाही गरेको भए बालिकाको ज्यान जोगिन सक्ने स्थानीयको आरोप छ।

eee061e0-7a9e-11f1-932b-1f29e7985956.jpg

एक स्थानीय बासिन्दाले भने, ‘त्यस रात करिब साढे आठ बजे हामीले प्रहरीलाई सूचना दिएका थियौँ, तर प्रहरीले मामिलालाई गम्भीरतापूर्वक लिएन। आइतबार बिहान स्थानीयहरूबाट जानकारी पाएपछि हामीले इलाकाको सीसीटीभी फुटेज खगाल्यौँ र आफैँ अभियुक्तको पहिचान गरी उसलाई समात्यौँ।’ 

ती स्थानीयले अभियुक्तले थानामा आफ्नो अपराध कबुल गरेको र आफूहरूले घटनास्थलमा गई शव बरामद गराउँदा पनि प्रहरीले कारबाही नगरेको दाबी गरे। यसैबिच भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेता शन्तनु मण्डलले अभियुक्तलाई भाग्न सहयोग गरेको आरोप लागेको छ। 

भाजपा नेता शन्तनु मण्डलले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले सञ्चारमाध्यमसँग भने, ‘घटनाको जानकारी पाएपछि हामी थाना प्रभारीकहाँ गयौँ र उजुरी दर्ता गरायौँ। सीसीटीभी फुटेज हेरेपछि हामीले बालिकालाई लैजाँदै गरेको एक व्यक्तिलाई चिन्यौँ। हामीले उसलाई आफैँ पक्र्यौँ र उसले अपराध स्वीकार गर्‍यो।’

स्थानीयले अभियुक्त भनिरहेको व्यक्ति नै प्रभास मण्डल थिए, जसको जुलाई ७ र ८ को मध्यरातमा प्रहरी मुठभेडमा मृत्यु भयो। यद्यपि, उनी विरुद्धको बलात्कार र हत्याको आरोप अदालतमा सिद्ध हुन बाँकी नै थियो। 

f2d5d570-7a92-11f1-932b-1f29e7985956.jpg

एसोसिएसन फर द प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स (एपीडीआर) का केन्द्रीय समिति सदस्य रञ्जित सुरले यो घटना संदिग्ध रहेको भन्दै प्रश्न उठाएका छन्। उनले भने, ‘यी व्यक्ति पूरा मामिलाको सबैभन्दा महत्त्वपूर्ण साक्षी थिए। उनको मृत्युपछि प्रहरीले आफ्नो सुविधा अनुसार कथा बुन्न सक्छ र आफ्ना कमजोरीहरू लुकाउन सक्छ।’ 

उनले देशका धेरै राज्यहरूमा प्रहरी मुठभेडको कथा एउटै हुने गरेको भन्दै अभियुक्तले हतियार थुतेर भाग्न खोज्ने र मुठभेडमा मारिने परिपाटी देखिएको टिप्पणी गरे।

अभियुक्त प्रभास मण्डलकी आमाले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भनिन्, ‘दुई जना प्रहरी मेरो घरमा आएका थिए। म भर्खरै उठेकी थिएँ। उनीहरूले मलाई मेरो छोराको मृत्यु भएको बताए र अस्पताल जाने हो भनी सोधे। मेरा श्रीमान् बिरामी भएकाले म जान सक्दिनँ भनिदिएँ।’ 

9a707b00-7a93-11f1-bee8-53ce494e1abc.png

उनले अगाडि भनिन्, ‘तपाईँहरू जे गर्न चाहनुहुन्छ, गर्नुहोस्। मलाई कुनै आपत्ति छैन। मेरो छोराले जे गर्‍यो, त्यसको सजाय पायो। म उसको शव स्वीकार गर्दिनँ र घरमा पनि ल्याउँदिनँ। उसले कुनै राम्रो काम गरेको थिएन। उसले गल्ती गरेको थियो र सजाय पायो। उसलाई मारून् वा जे गरून्, मलाई उसको लास चाहिँदैन।’

हालका वर्षहरूमा भारतका विभिन्न राज्यहरूमा अभियुक्तले प्रहरीको हतियार थुतेर भाग्न खोज्दा गोली हान्नु परेको दाबी गरिएका थुप्रै मुठभेडका घटनाहरू सार्वजनिक भएका छन्। यस्तै एउटा चर्चित घटना सन् २०१९ मा हैदराबादमा भएको थियो, जहाँ एक पशु चिकित्सकको बलात्कार र हत्याका चार अभियुक्तको प्रहरी मुठभेडमा मृत्यु भएको थियो। 

त्यतिबेला पनि क्राइम सिन रीक्रिएट गर्ने क्रममा अभियुक्तहरूले हतियार थुतेर भाग्न खोजेको प्रहरीको दाबी थियो। उक्त घटनापछि एम्नेस्टी इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै त्यसलाई ‘एक्स्ट्रा-ज्यूडिसियल किलिङ’ भन्दै निन्दा गरेको थियो। 

यता उत्तर प्रदेश प्रहरीका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको ९ वर्षको कार्यकालमा राज्यमा १७ हजार ४३ वटा प्रहरी मुठभेडका घटना दर्ता भएका छन्, जसमा २८९ अपराधीको मृत्यु भएको छ। प्रहरीले तीमध्ये धेरैजसो मामिलामा अभियुक्तहरू क्राइम सिन रीक्रिएट गर्ने क्रममा हतियार थुतेर भाग्न खोजेको जनाएको छ।

बारुईपुर क्षेत्रमा नाबालिकाको बलात्कार पछि हत्या भएको यस घटनाले पश्चिम बंगालमा आक्रोशको माहौल सिर्जना गरेको छ। बालिकाका आफन्तले हत्या अघि बलात्कार भएको आरोप लगाए पनि प्रहरीले सुरुमा बलात्कारको मुद्दा दर्ता गरेको थिएन। 

तर प्रारम्भिक पोस्टमार्टम रिपोर्ट आएपछि पोक्सो (पक्सो) अन्तर्गत बलात्कारको मुद्दा दर्ता गरिएको छ। आफन्तका अनुसार बालिका शनिबारदेखि बेपत्ता थिइन् र आइतबार उनको शव पोखरीमा भेटिएपछि तनाव बढेको थियो। घटनापछि आक्रोशित भीडले हत्याको आशंकामा एक युवकलाई कुटपिट गर्दा उनको समेत मृत्यु भएको छ। 

घटना सार्वजनिक भएपछि टीएमसीले पूर्व मुख्यमन्त्री ममता बनर्जी बारुईपुर जान खोज्दा उनलाई नजरबन्द गरिएको दाबी गरेको छ भने भाजपाले टीएमसीको आरोप खारेज गरेको छ। बारुईपुर प्रहरीले आइतबार एक अभियुक्तलाई पक्राउ गरेको थियो भने पछि अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। अन्य तीन जनालाई हिरासतमा लिइएको छ। 

इलाकामा अझै पनि स्थिति तनावपूर्ण रहेकाले थप अशान्ति नमच्चियोस् भनी भारी मात्रामा प्रहरी बल तैनाथ गरिएको प्रशासनले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप