बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘मेस्सीले कहिल्यै नभुलिने एउटा ऐतिहासिक क्षण उपहार दिए’

बुधबार, २४ असार २०८३, १६ : १८
बुधबार, २४ असार २०८३

विश्वकपको अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थाबाट ३–२ को ऐतिहासिक पुनरागमन गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएपछि फुटबलका एक महान् स्ट्राइकर थियरी हेनरीले कप्तान लियोनेल मेस्सीको भावुक क्षणलाई विशेष रूपमा व्याख्या गरेका छन् । 

खेल सकिएपछि आँसु झारिरहेका मेस्सीको दृश्यले विश्वभरका समर्थकलाई भावुक बनाएको थियो । हेनरीका अनुसार त्यो आँसु केवल जितको खुसी नभई सम्पूर्ण राष्ट्रको अपेक्षा र जिम्मेवारीको प्रतिफल थियो । 

यी १९९८ का विश्वकप विजेता फ्रेन्सम्यानले भने, ‘अन्तिम सिटीसँगै मेस्सीको आँखामा देखिएको आँसुले सबै कुरा बताउँछ । मानिसहरूले उनका उपाधि, कीर्तिमान र गोलहरू देख्छन्, तर उनले काँधमा बोकेको जिम्मेवारी सबैले देख्दैनन् । मैदानमा हरेक पटक उत्रँदा उनले सम्पूर्ण अर्जेन्टिनी जनताको सपना बोकेका हुन्छन् ।’ 

उनले अर्जेन्टिनाको जितलाई सामान्य पुनरागमन नभई साहस, विश्वास र चरित्रको असाधारण प्रदर्शनको संज्ञा दिए । ‘अर्जेन्टिना २–० ले पछि परेको थियो र विश्वकप यात्रा समाप्त हुने संघारमा पुगेको थियो । तर मेस्सीले टोलीलाई हार मान्न दिएनन् । उनले अन्तिमसम्म नेतृत्व गरे र किन उनी फुटबल इतिहासकै महान् प्रतिस्पर्धीमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गरे,’ हेनरीले भन्न भ्याए । 

हेनरीका अनुसार मेस्सी केवल आफ्ना लागि नभई अर्जेन्टिना, आफ्ना टोलीका साथीहरू र उनीमाथि विश्वास गर्ने करोडौं समर्थकका लागि खेल्छन् । ‘आज राति उनले महान् खेलाडीभित्र लुकेको मानवीय पक्ष पनि संसारलाई देखाइदिए,’ उनले थपे । 

हेनरीले विश्वकपको नकआउट चरणमा २–० ले पछि परेको अवस्थाबाट ३–२ को जितलाई पुस्तौँसम्म सम्झिइने क्षणको रूपमा वर्णन गरे । उनका अनुसार महान् खेलाडीहरूले उत्कृष्ट क्षण सिर्जना गर्छन्, इतिहासमा अमिट सम्झना छोड्छन् । ‘मेस्सीले अर्जेन्टिनालाई केवल जित दिलाएनन्, उनले सिंगो राष्ट्रलाई कहिल्यै नभुलिने एउटा ऐतिहासिक क्षण उपहार दिए,’ हेनरीले निष्कर्ष निकाले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप