गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
सारांश
- ह्यारी केन र अर्लिङ हालान्ड दुवै उत्कृष्ट गोलकर्ता हुन्, तर समग्र खेलमा केन अगाडि देखिन्छन्।
- केनले बायर्न म्युनिखमा प्रति खेल औसतमा झन्डै दोब्बर बल छोएका थिए, प्रति ९० मिनेटमा दोब्बर अवसर सिर्जना गरेका थिए र प्रति खेल औसतमा दुई पटक ड्रिबल गरेका थिए, जबकि हालान्डको हकमा यो सङ्ख्या एक थियो।
- हालान्डलाई रोक्नु भनेको नर्वेलाई रोक्नु हो, तर यो भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ।
न्युयोर्क । अगस्ट २०२१ मा ह्यारी केनको म्यानचेस्टर सिटी जाने प्रस्ताव असफल भएदेखि नै उनको करियरलाई अर्लिङ हालान्डसँग जोडेर हेर्ने गरिएको छ।
यसको कारण हो, अर्को वर्षको गर्मीयाममा ती अग्ला नर्वेजियन खेलाडी सिटीमा आए र क्लबलाई ‘ट्रेबल’ (एकै सिजनमा तीनवटा मुख्य उपाधि) जिताउन महत्त्वपूर्ण भूमिका खेले।
त्यसबेला केन टोटनह्यामका कप्तान थिए। उनीसँग कुनै ट्रफी वा उपाधि थिएन र उनले ठुलो क्लबमा जाने अवसर गुमाएजस्तो देखिन्थ्यो।
केही वर्षपछि, यी दुई शनिबार आ-आफ्नो देशको विश्वकप जित्ने आशको केन्द्रविन्दुका रूपमा भिड्दै छन्, तर अहिलेको अवस्था भने फरक छ। अब केन उपाधिको नजिक पुगेर रित्तो हात फर्कने खेलाडी रहेनन्।
सन् २०२३ मा बायर्न म्युनिख गएयता उनले दुई पटक बुन्डेसलिगा र युरोपकै सर्वाधिक गोलकर्ता बन्दै ‘युरोपियन गोल्डेन बुट’ जितिसकेका छन्।

जारी विश्वकपमा उनले छ वटा गोल गरिसकेका छन्।
लिड्समा जन्मिए पनि नर्वेका हालान्डले आफ्नो पहिलो विश्वकपमै सात गोल गरिसकेका छन् र उनी केनलाई रोक्न हरसम्भव प्रयास गर्नेछन्।
- गोल, गोल र गोल
हालान्ड र केनबिचको कुनै पनि तुलना फुटबलको सबैभन्दा महत्त्वपूर्ण मापदण्डबाट सुरु गर्नुपर्ने हुन्छ, त्यो हो: गोल।
र, यी दुई यस मामिलामा सम्भवतः उत्कृष्ट छन्।
मार्च २०१५ मा देशका लागि तेस्रो टचमै गोल गरेदेखि केन इंग्ल्याण्डको अन्तर्राष्ट्रिय उपाधिको लामो पर्खाइ समाप्त गर्ने अभियानको मुख्य संवाहक बनेका छन्।
८५ गोल गरिसक्दा पनि उनी थोमस टुकलको टोलीका मुख्य खेलाडी हुन्। उनी एक यस्ता उत्कृष्ट कप्तान हुन्, जसको खेल जिताउने प्रदर्शनमा सधैँ भर पर्न सकिन्छ।
उदाहरणका लागि, अन्तिम ३२ मा डिआर कङ्गोविरुद्धको उनको दुई गोल र त्यसपछिको चरणमा एज्टेका स्टेडियममा मेक्सिकोलाई हराउन प्रहार गरेको दबाबरहित पेनाल्टीलाई लिन सकिन्छ।
जर्मनी गएदेखि केनको तथ्याङ्कले आकाश छोएको छ। उनले हरेक सिजन हालान्डको गोल सङ्ख्यालाई उछिनेका छन् र आफूलाई बालोन डी’ओरको दौडमा अग्रपङ्क्तिमा उभ्याएका छन्।
यद्यपि, विश्वकपको क्वार्टरफाइनलले केनलाई उनको अन्तर्राष्ट्रिय करियरको सम्भवतः सबैभन्दा खराब समयको याद दिलाउँछ, जतिबेला कतार विश्वकपमा फ्रान्ससँगको हारमा उनले अन्तिम समयमा पेनाल्टी मिस गरेका थिए।
इंग्ल्याण्डका लागि सर्वाधिक खेल खेल्ने मामिलामा वेन रुनीलाई उछिन्दै (१२० खेल) पिटर शिल्टनपछि दोस्रो स्थानमा उक्लिएका केनलाई आफ्नो इतिहासको त्यो दाग मेटाउने राम्रो अवसर छ।
यद्यपि, इंग्ल्याण्डका समर्थकहरूलाई हालान्डको गोल गर्ने क्षमताको बारेमा सम्झाइरहनु पर्दैन।

जारी विश्वकपमा मात्रै, उनले आफूले खेलेका अहिलेसम्मका चारवटै खेलमा विजयी गोल गरेका छन्। छनोट पक्का भइसकेकाले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध उनलाई विश्राम दिइएको थियो। साथै, अन्तिम १६ मा ब्राजिलविरुद्ध दुई गोल गर्दै उनले आर्सनलका आफ्ना पुराना प्रतिद्वन्द्वी ग्याब्रिएललाई पछि पारे।
अझ पछाडि फर्केर हेर्ने हो भने, नर्वेका लागि उनको कीर्तिमान आश्चर्यजनक छ।
उनले आफ्नो देशका लागि लगातार १४ खेलमा गोल गर्दै कुल २७ गोल गरेका छन्। समग्रमा, उनले नर्वेका लागि ५१ खेलमा ६२ गोल गरेका छन्, जुन हरेक ७१ मिनेटमा एक गोलको अविश्वसनीय औसत हो।
केन, किलियन एम्बाप्पे र लियोनेल मेस्सी जस्ता चर्चित खेलाडीहरूको अन्तर्राष्ट्रिय कीर्तिमानसँग तुलना गर्दा पनि यो तथ्याङ्क असाधारण लाग्छ, यद्यपि ती सबैले हालान्डभन्दा धेरै बढी समय आफ्नो देशका लागि खेलेका छन्।
- गोलबाहेक अन्य कुरामा को अगाडि ?
यी दुवै खेलाडी उत्कृष्ट गोलकर्ता भए पनि समग्र खेलको कुरा गर्दा केन अगाडि देखिन्छन्।
यस प्रतियोगितामा उनले एक असिस्ट गरेका छन्, जहाँ उनले मेक्सिकोविरुद्ध निःस्वार्थ रूपमा जुड बेलिङ्घमलाई गोलको अवसर मिलाइदिएका थिए। अलि पछाडि झरेर खेल्ने उनको शैलीले हालान्डभन्दा उनले टोलीलाई बढी योगदान दिन्छन् भन्ने भनाइलाई पुष्टि गर्छ।

- तर के यो सत्य हो त ?
कहिलेकाहीँ केवल गोलकर्ताको रूपमा मात्र हेरिने हालान्डले प्रिमियर लिग र युरोपमा म्यानचेस्टर सिटीका लागि तीन सिजनमा २४ असिस्ट गरेका छन्, जबकि केनले बायर्नमा २६ असिस्ट गरेका छन्। वास्तवमा सन् २०२४-२५ मा हालान्डले इंग्ल्याण्डका यी स्ट्राइकरभन्दा बढी असिस्ट गरेका थिए।
जारी विश्वकपमा हालसम्म, लगभग १०० मिनेट कम खेलेर पनि हालान्डले आफ्ना सहकर्मीहरूका लागि बढी अवसरहरू सिर्जना गरेका छन् (केनको चारको तुलनामा हालान्डको छ)।
यद्यपि, उनीहरूको क्लबतर्फको तथ्याङ्कले हालान्डभन्दा केन मुभ बनाउने खेलमा धेरै सहभागी हुन्छन् भन्ने अनुमानलाई सही सावित गर्छ।
गत सिजन बायर्नका लागि केनले प्रति खेल औसतमा झन्डै दोब्बर बल छोएका थिए, प्रति ९० मिनेटमा दोब्बर अवसर सिर्जना गरेका थिए र प्रति खेल औसतमा दुई पटक ड्रिबल गरेका थिए, जबकि हालान्डको हकमा यो सङ्ख्या एक थियो।
‘टच म्याप’ ले पनि यसलाई पुष्टि गर्छ- हालान्डले विपक्षीको पेनाल्टी क्षेत्रमा मात्र केन्द्रित रहेर धेरै कम टच गरेका छन् भने केन मैदानको चारैतिर सक्रिय देखिन्छन्।
तलको ग्राफले प्रत्येक खेलाडी आफ्नो देशका लागि कति महत्त्वपूर्ण छन् भन्ने सङ्केत दिन्छ।
यसले देखाएअनुसार केन वा हालान्डले गोल गर्दा इंग्ल्याण्ड र नर्वेले अधिकांश समय खेल जित्छन्।
यद्यपि, हालान्डले नर्वेका लागि गोल नगर्दा उनीहरूको जित्ने प्रतिशत केनबिनाको इंग्ल्याण्डको तुलनामा नाटकीय रूपमा घट्छ।
म्यानचेस्टर सिटीका यी स्ट्राइकरमाथिको उनीहरूको निर्भरता यस तथ्यबाट प्रमाणित हुन्छ- उनीहरूले हालान्डले गोल नगरेका खेलहरूमध्ये एक तिहाइभन्दा कम मात्र जितेका छन्।
यस विश्वकपमा उनले नखेलेको खेलमा नर्वे फ्रान्ससँग ४-१ ले पराजित भएको थियो।
यसको विपरीत, केनलाई अर्का विश्वस्तरीय खेलाडी जुड बेलिङ्घमले राम्रो साथ दिएका छन्। बेलिङ्घमले पानामा र मेक्सिकोविरुद्धको महत्त्वपूर्ण गोलसहित यस प्रतियोगितामा चार गोल गरिसकेका छन्।
हालान्डलाई रोक्नु भनेको नर्वेलाई रोक्नु हो।
तर यो भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ।

- विशेषज्ञहरू के भन्छन् ?
यस विश्वकपमा सबै ठूला नामहरूको प्रदर्शनबाट विश्लेषकहरूले भरपुर मनोरञ्जन लिइरहेका छन्, जसमा हालान्ड र केन पनि अपवाद छैनन्।
ब्राजिलविरुद्धको जितपछि बोल्दै इंग्ल्याण्डका पूर्व गोलकिपर जो हार्टले हालान्डलाई ‘एब्सोल्युट मोन्स्टर’ भनेर वर्णन गरे।
हार्टले थपे, ‘उनले सबै प्रकारको तनावलाई हटाइदिएका छन्। उनी एकदमै शान्त छन्, मैदानमा आफ्नो काम गरिरहेका छन् र विश्वकपको हरेक पलको आनन्द लिइरहेका छन्।’
इंग्ल्याण्डका पूर्व कप्तान वेन रुनीले पनि यसमा सहमति जनाउँदै भने, ‘हालान्डले आफ्नो सिङ्गो देशलाई उनीहरू प्रतियोगितामा निकै अगाडि जान सक्छन् भन्ने विश्वास दिलाएका छन्।’
डिआर कङ्गोविरुद्ध केनले गरेको विजयी गोलको वर्णन गर्दा पनि यी दुवैजना उत्तिकै उत्साहित थिए।

रुनीले भने, ‘यो उत्कृष्ट छ। अन्य सबै महान् सेन्टर-फरवार्डहरू जस्तै, उनले गोलकिपरलाई हेरिरहनु पनि पर्दैन- यो स्वाभाविक रूपमै आउँछ।’
हार्टले थपे, ‘उनी आफ्नो प्रविधिमा विश्वास गर्छन् र बलले उनको खुट्टा छाड्नेबित्तिकै उनले खुसीयाली मनाउन सुरु गरिसकेका हुन्छन्।’
वास्तवमा हालान्ड र केन अहिलेसम्म दुई पटक मात्र एकअर्काविरुद्ध खेलेका छन्। ती दुवै खेल सन् २०२३ को सुरुतिर तीन हप्ताको अन्तरालमा भएका थिए। इत्तिहाद स्टेडियममा सिटी दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ४-२ ले विजयी हुँदा बराबरी गोल गर्दै हालान्डले पहिलो बाजी मारेका थिए।
त्यसको केही समयपछि नै टोटनह्याम हट्सपर स्टेडियममा १-० को जितमा एक मात्र गोल गर्दै केनले बदला लिए। त्यस क्रममा उनी स्पर्सको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत बने।
विश्वकपको सेमिफाइनल प्रवेशको दाउमा रहेको यस खेलमा अब यी दुवैजना एकअर्कालाई कुनै छुट नदिने गरी भिड्न तयार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण