साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
सारांश
- श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म 'एसियाबाट हात झिक' भन्ने नारासहित साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय वैचारिक बहस तथा सम्मेलन आयोजना हुँदैछ ।
- यस सम्मेलनले एसियाली भूभागमाथि भइरहेको वैदेशिक हस्तक्षेप, नाजीवादी सैन्य रणनीति र आर्थिक शोषणको भण्डाफोर गर्ने उद्देश्य राखेको छ ।
- सम्मेलनमा नेपालका प्रचण्ड र श्रीलंकाका सत्तारुढ दलका नेताहरूको उपस्थिति रहनेछ, जसले एसियामा नयाँ क्रान्तिकारी जागरणको आधार निर्माण गर्ने विश्वास छ ।
यसै महिना अर्थात् जुलाई १६ देखि १८, २०२६ मा दक्षिण एसियाली मुलुक श्रीलङ्काको राजधानी कोलम्बोमा साम्राज्यवादविरुद्ध एउटा ऐतिहासिक अन्तर्राष्ट्रिय वैचारिक बहस तथा सम्मेलन आयोजना हुँदै छ । ‘एसियाबाट हात झिक’ (ह्यान्डस् अफ एसिया) भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको यस सम्मेलनको मुख्य उद्देश्य एसियाली भूभागमाथि भइरहेको वैदेशिक हस्तक्षेप, नाजीवादी सैन्य रणनीति र गिद्धे नजरको भण्डाफोर गर्नु हो ।
उक्त सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काको सत्तारूढ दलका शीर्ष नेताहरूको विशेष उपस्थिति हुनेछ । एसियाली क्षेत्रका मजदुर, किसान, बुद्धिजीवी तथा महिला आन्दोलनका प्रतिनिधिहरूको व्यापक सहभागिताले एसियामा एउटा नयाँ क्रान्तिकारी जागरण र वर्गसङ्घर्षको बलियो आधार निर्माण गर्ने विश्वास लिइएको छ ।
- साम्राज्यवादी घेराबन्दी र एसियाको सङ्कट
विश्वभर आफ्नो गुम्दै गएको वित्तीय तथा भूराजनीतिक प्रभुत्व जोगाउन अमेरिकी साम्राज्यवादले यतिबेला टुप्पीदेखि पैतालासम्मको शक्ति लगाएर एसियालाई नवऔपनिवेशिक आक्रमणको केन्द्र बनाइरहेको छ । अमेरिकी साम्राज्यवादका कारण एसियाली जनताले भोग्नुपरेका समस्याहरू कुनै एकाङ्की वा छिटपुट घटना मात्र होइनन्, बरु यो सैन्य, आर्थिक, राजनीतिक र वैचारिक रूपमा बुनिएको अन्तरसम्बन्धित वित्तीय एकाधिकार पुँजीवादी प्रणालीको योजनाबद्ध प्रहार हो ।
अमेरिकी साम्राज्यवादको सबैभन्दा क्रूर र हिंस्रक रूप यस क्षेत्रमा बढ्दो सैन्यीकरण हो । अमेरिका–इजरायलद्वारा इरानमाथि थोपरिएको अवैध युद्ध, त्यहाँका नेता तथा सर्वसाधारणको हत्या र साम्राज्यवादी हितअनुकूल सरकार परिवर्तन गर्ने नाङ्गो प्रयास कसैबाट छिपेको छैन । आफ्नो आदेश नमान्ने सार्वभौम मुलुकहरूलाई घेर्न र दबाब दिन अमेरिकाले खाडी मुलुकदेखि ओकिनावा (जापान), कोरिया हुँदै दक्षिणपूर्वी एसियाको फिलिपिन्ससम्म सैन्य अखडाको विशाल सञ्जाल फैलाइरहेकै छ ।
आर्थिक मोर्चामा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैङ्कजस्ता साम्राज्यवादी वित्तीय संस्थाहरूले अन्यायपूर्ण ऋण र चर्को ब्याजको पासो थापेर एसियाली मुलुकहरूको अर्थतन्त्रलाई ध्वस्त पारिरहेका छन् । यसै नवऔपनिवेशिक कर्जाकै कारण श्रीलङ्का र पाकिस्तानजस्ता देशहरू गम्भीर आर्थिक सङ्कटको चक्रव्यूहमा फसेका छन् ।
राजनीतिक रूपमा, यो प्रतिक्रियावादी प्रणालीलाई टिकाउन अमेरिकाले यस क्षेत्रका दक्षिणपन्थी र तानाशाह सरकारहरूलाई काँधमा बोकेको छ । भारतका हिन्दु राष्ट्रवादीदेखि जापान र फिलिपिन्सका नवफासीवादी सरकारहरूसम्म, यी शासकहरू साम्राज्यवादी एजेन्टका रूपमा काम गर्दै आफ्नै श्रमजीवी जनताको आवाज दबाउन उद्यत छन् ।
नेपाल र बङ्गलादेशजस्ता देशहरूमा बाह्य शक्तिहरूले वामपन्थी तथा प्रगतिशील आन्दोलन र सरकारहरूलाई विभाजित गराएर देशभित्र स्वतन्त्र, आत्मनिर्भर र समाजवादउन्मुख विकासको बाटोलाई अवरुद्ध पार्ने प्रयास पनि भइरहेकै छन् । कोलम्बो सम्मेलन यिनै साम्राज्यवादी षड्यन्त्रहरूविरुद्ध केन्द्रित हुनेछ ।
एसियाली प्रतिरोधको इतिहास
हामी एसियाली श्रमजीवी जनता साम्राज्यवादको क्रूर चरित्रसँग राम्ररी परिचित छौँ । हामीले यसका अघिल्तिर कहिल्यै आत्मसमर्पण गरेका छैनौँ । कोरियादेखि भियतनामसम्म हाम्रो भूभागबाट साम्राज्यवादी शक्तिलाई घुँडा टेकाउने एसियाका ऐतिहासिक वर्गसङ्घर्ष र क्रान्तिहरू हाम्रो चेतनामा अझै ताजा छन् ।
आज पनि जापान र दक्षिण कोरियामा अमेरिकी सैन्य अखडाविरुद्ध लडिरहेका जनतादेखि लिएर, साम्राज्यवादी नरसंहारको प्रत्यक्ष प्रतिरोध गरिरहेका प्यालेस्टिनी र इरानी जनतासम्म, हामी सबै वास्तवमा एउटै साझा शत्रुविरुद्ध फरक–फरक मोर्चामा लडिरहेका छौँ ।
अहिलेको ऐतिहासिक आवश्यकता भनेको यी छरिएका सङ्घर्षहरूलाई वैचारिक र साङ्गठनिक रूपमा एउटै साझा केन्द्रमा जोड्नु हो । हामीले यस शोषणकारी प्रणालीलाई साम्राज्यवाद भनेरै सम्बोधन गर्न हिचकिचाउनु हुँदैन । यसको विकल्पमा जनताको सेवा गर्ने स्पष्ट समाजवादी मार्ग अघि सार्नुपर्छ ।
यो सम्मेलनले सामाजिक आन्दोलनहरू, प्रगतिशील राजनीतिक दलहरू, ट्रेड युनियनहरू र जनवर्गीय सङ्गठनहरूलाई वर्गसङ्घर्षको साझा कार्यदिशा तय गर्न एकताबद्ध गराउनेछ । एसियाको भविष्य यहाँका उत्पीडित जनताको हातमा हुनुपर्छ र त्यसका लागि हाम्रो एउटै बुलन्द आवाज हुनुपर्छ : ‘एसियाबाट हात झिक !’
कोलम्बो सम्मेलनको उद्देश्य
साझा साम्राज्यवादी प्रणालीको पहिचान : आज एसियामा भइरहेको साम्राज्यवादी आक्रमणका सैन्य, आर्थिक, राजनीतिक र वैचारिक पाटाहरूलाई छुट्टाछुट्टै नहेरी, ती कसरी एउटै एकाधिकार पुँजीवादी प्रणालीका रूपमा सञ्चालित छन् भन्नेबारे गहन र एकीकृत मार्क्सवादी बुझाइ निर्माण गर्ने ।
अनुभव आदानप्रदान र मोर्चाबन्दी : एसियाभरका क्रान्तिकारी आन्दोलनहरू, वामपन्थी दलहरू, जनवर्गीय सङ्गठन र मार्क्सवादी चिन्तकहरूबिच सङ्घर्षका वास्तविक अनुभवहरू साटासाट गर्ने र दीर्घकालीन कार्यगत एकताको साझा थलो निर्माण गर्ने ।
साझा माग र एजेन्डाको विकास : ‘एसियाबाट हात झिक’ अभियान र सबै अमेरिकी सैन्य अखडाहरू बन्द गर्ने मागलाई थप सुदृढ बनाउने, यसलाई फैलाउँदै आर्थिक सार्वभौमिकता, अन्यायपूर्ण वैदेशिक ऋण खारेजी, निष्पक्ष व्यापार र जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्ने ।
वैचारिक सुदृढीकरण : अध्ययन तथा विमर्श सत्रहरूमार्फत सङ्गठनहरूको राजनीतिक र वैचारिक चेतनालाई अझ धारिलो बनाउने, जसले गर्दा जनताको दैनिक वर्गसङ्घर्षलाई साम्राज्यवादी प्रभुत्वविरोधी बृहत् आन्दोलनसँग जोड्न सकियोस् ।
भावी रणनीति तय गर्ने : ‘एसियाबाट हात झिक’ को ब्यानरमुनि साम्राज्यवादी आक्रामकताबारे सूक्ष्म विश्लेषण गर्ने, जसले हाम्रो महाद्वीपभरि संयुक्त साम्राज्यवादविरोधी आन्दोलनको अर्को चरणलाई मार्गनिर्देश गर्न सकोस् ।
- अन्य आँखिझ्यालहरू
यो सम्मेलन ६ वटा मुख्य विषयहरूमा केन्द्रित रहनेछ, जसले एसियाली जनताले सामना गरिरहेको एकीकृत साम्राज्यवादी प्रणालीका विभिन्न आयामहरूलाई केलाउनेछ ।
१. एसियाको सैन्यीकरण
संसार दोस्रो शीतयुद्धतर्फ धकेलिइरहँदा संयुक्त राज्य अमेरिकाले अभूतपूर्व स्तरमा एसियाभर सैन्य पूर्वाधार निर्माण गर्यो र शीतयुद्धको अन्त्यपछि त्यसलाई झनै सुदृढ बनाउँदै लग्यो । सैन्य र हतियार सम्झौता, बेस नेटवर्कको विस्तार र एकीकृत कमाण्ड संरचनामार्फत वासिङ्टनले क्षेत्रीय टकरावको तानाबाना बुनिरह्यो, जुन अहिले पनि जारी छ ।
फिलिपिन्समा इतिहासकै ठुलो संयुक्त सैन्य अभ्यास, पूर्वी र दक्षिणपूर्वी एसियामा अमेरिकी सैन्य बन्दोबस्तीको विस्तार, जापानको तीव्र पुनःशस्त्रीकरण, ताइवानलाई हतियार हस्तान्तरण र चीन, रुस एवं उत्तर कोरियाविरुद्ध लक्षित क्षेत्रीय ‘किल वेब’ को निर्माण यसका ठोस उदाहरण हुन् । यो सत्रले यस सैन्य संरचनाको साम्राज्यवादी चरित्रको पूर्ण विश्लेषण गर्नेछ ।
२. वर्चस्वको पुनर्संरचना
सत्ता परिवर्तन र राजनीतिक अस्थिरता : प्रत्यक्ष सैन्य टकरावबाहेक अमेरिकाले एसियामा राजनीतिक अस्थिरता र सत्ता परिवर्तनको सूक्ष्म तर खतरनाक खेल खेलिरहेको छ । बङ्गलादेशमा हसिना सरकारको पतनपछिको सङ्क्रमणकालमा जमात–ए–इस्लामीजस्ता दक्षिणपन्थी शक्तिको पुनर्स्थापना र अमेरिकी स्वार्थअनुकूलका शक्तिहरूको पुनरागमन देखियो ।
त्यो साम्राज्यवादी सत्ता परिवर्तनको अनुपम उदाहरण हो । नेपालमा पनि विभिन्न दक्षिणपन्थी एवं संशयपूर्ण शक्तिहरूमार्फत वामपन्थी राजनीतिक वातावरणलाई खण्डित गर्ने र प्रगतिशील राजनीतिक सहमतिलाई तोड्ने जुन खेल भइरहेको छ, त्यो साम्राज्यवादकै वैचारिक पुनर्संरचनाको अङ्ग हो ।
३. ऋणदेखि आर्थिक घेराबन्दीसम्म
यो आर्थिक आयाम एसियाका श्रमजीवी जनताका लागि सबैभन्दा विनाशकारी सिद्ध भइरहेको छ । आईएमएफ र विश्व बैङ्कको कडा संरचनात्मक समायोजन कार्यक्रमअन्तर्गत वित्तीय कडापन, सार्वजनिक सम्पत्तिको निजीकरण र सामाजिक सुरक्षामा कटौती गर्न मुलुकहरूलाई बाध्य पारिँदै छ ।
यो सत्रमा ऋण सङ्कट र प्रविधि नाकाबन्दीलाई आर्थिक दमनको हतियारका रूपमा अमेरिकाले कसरी प्रयोग गर्दै छ भन्ने विषयमा केलाइनेछ । यसका साथै, मार्क्सवादी दृष्टिकोणबाट ब्रिक्स, बेल्ट एन्ड रोड इनिसिएटिभ र वैकल्पिक वित्तीय संरचनाहरूको सम्भाव्य भूमिकाबारे समेत अन्वेषण गरिनेछ ।
४. दक्षिणपन्थ र निर्वाचित सत्ता
एसियाभर नवफासीवादी र दक्षिणपन्थी शक्तिहरूको उदय हुनु साम्राज्यवादी प्रणालीकै घरेलु मलजलको परिणाम हो । भारतमा ‘हिन्दुत्व’ को दक्षिणपन्थी परियोजनाले बङ्गलादेश, जापान र फिलिपिन्सका प्रतिक्रियावादी आन्दोलनहरूसँगै मिलेर एउटै रणनीतिक काम गरिरहेको छ ।
आफ्नै श्रमजीवी जनतालाई दमन गर्ने, प्रगतिशील आन्दोलनलाई कुल्चने र राष्ट्रिय नीतिलाई साम्राज्यवादी युद्धरणनीति ‘क्वाड’ सँग एकाकार गर्नेगरी त्यसले काम गरिरहेको छ । दक्षिणपन्थलाई केवल सांस्कृतिक अराजकता मात्र नभई साम्राज्यवादी प्रभुत्व टिकाइराख्ने राजनीतिक हतियारका रूपमा अमेरिकाले कसरी प्रयोग गरिरहेको छ भन्नेबारे यस सत्रमा विश्लेषण गरिनेछ ।
५. प्यालेस्टाइनको पक्षमा एसियाली ऐक्यबद्धता
गाजामा भइरहेको अमानवीय नरसंहार र इरानमाथि अमेरिकी–इजरायली गठबन्धनको युद्ध र प्रतिबन्ध, पश्चिम एसियामा साम्राज्यवादी हिंसाको सबैभन्दा खतरनाक स्वरूप हो । यो युद्ध एसियाको बाँकी भूभागमाथिको आक्रमणभन्दा भिन्न छैन । किनकि यसका पछाडि एउटैखाले हतियार उद्योग, एउटैखाले सैन्य रणनीति र एउटैखाले रङ्गभेदी प्रभुत्ववादी विश्वदृष्टिकोणले काम गरिरहेको छ ।
‘हिन्दुत्व’ र ‘जायोनिजम’ बिचको अपवित्र गठबन्धनले यो साम्राज्यवादी वित्तीय पुँजीको सञ्जाललाई झनै सघन कसरी बनाइरहेको छ भन्नेबारे छलफल हुनेछ । यो सत्रले प्यालेस्टाइन, इरान र समग्र एसियाको मुक्तिको कडी कसरी एकापसमा जोडिएको छ भन्ने विषयलाई प्रस्ट पार्दै प्यालेस्टाइनमाथि भइरहेको नरसंहारविरुद्ध एसियाली ऐक्यबद्धता जनाउनेछ ।
६. प्रतिरोध र साम्राज्यवादी क्षितिज
यो अन्तिम सत्र समस्याको पहिचानबाट अघि बढेर ठोस प्रतिरोधात्मक कार्यदिशा निर्माणमा केन्द्रित हुनेछ । यसको अर्थ क्युबा र भेनेजुएलादेखि भियतनाम र चीनसम्मका वास्तविक समाजवादी अभ्यासहरूबाट शिक्षा ग्रहण गर्नु हो । एसियाभरका क्रान्तिकारी आन्दोलनहरूलाई ऊर्जा दिँदै यस सत्रले सम्मेलनको ऐतिहासिक घोषणापत्र जारी गर्नेछ ।
यसले सम्पूर्ण वैदेशिक सैन्य अखडाहरूको खारेजी, सार्वभौम राष्ट्रहरूको ऋणमुक्ति, आईएमएफका जनविरोधी सर्तहरूको खारेजीको मागलाई अघि बढाउँदै प्यालेस्टाइनमाथि भइरहेको अमानवीय युद्धलाई तत्काल रोक्न माग गर्नेछ ।
‘एसियाबाट हात झिक’ कोलम्बो सम्मेलनले अमेरिकी साम्राज्यवादद्वारा एसियाभर बुनिएको सैन्य घेराबन्दी, नवऔपनिवेशिक आर्थिक दमन र वैचारिक हस्तक्षेपको मुकुन्डो उतार्नेछ । यस बहुआयामिक साम्राज्यवादी आक्रमणको प्रतिरोध गर्न र समाजवादउन्मुख समृद्ध एसियाको निर्माण गर्न यो सम्मेलन बलियो प्रस्थानबिन्दु बन्नेछ ।
एसियाको माटो र सम्पदामाथि यहाँका श्रमजीवी जनताको सार्वभौम अधिकार पुनर्स्थापित गर्न सम्पूर्ण वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरू एक हुनुको विकल्प छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण