मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

मङ्गलबार, ३० असार २०८३, ०१ : ३४
मङ्गलबार, ३० असार २०८३

कञ्चनपुर । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् ।

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् । करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन ।

गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो । स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ । वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ । पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ । बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ । यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ । एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन । त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । स्थानीय हरिश कुँवर भन्छन्, “गाउँसम्म सडक छैन । बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ । बाटोमै ज्यान जाने डर हुन्छ । अर्को विकल्प पनि छैन ।”

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ । लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।

गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ । दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ । खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउँछन् ।

उनी भन्छन्, “किनमेल गर्न झलारी पुग्नुपर्छ । सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ । वर्षायाममा धारापानी खोलामा बाढी आउँछ । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ ।”

उनका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ । तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ । ऐर भन्छन्, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो । तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ । उनी भन्छिन्, “बाटोमा हिँड्दा कुन बेला पहिरो झर्छ, कुन बेला खोला बढ्छ भन्ने थाहा हुँदैन । सडक छैन, सुरक्षित बाटो छैन । हरेक यात्रा जोखिमपूर्ण हुन्छ ।”

कठिन भौगोलिक अवस्थाका बिच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन् । केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन् । गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ ।

स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन । त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ । सञ्चार सेवा पनि कमजोर छ । मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपत्कालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ । स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पुर्‍याएका छन् । तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन् । तर त्यसमा खासै प्रगति हुन सकेको छैन । साउद भन्छन्, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ । सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप