तथ्यांकका आधारमा शीर्ष ३० को सूचीमा मेस्सी पहिलो, एमबाप्पे दोस्रो
सारांश
- हु-स्कोर्डको औसत रेटिङका आधारमा सन् २०२६ फिफा विश्वकपका शीर्ष ३० खेलाडीको सूची सार्वजनिक भएको छ ।
- यस सूचीको शीर्ष स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी छन् भने फ्रान्सका किलियन एमबाप्पे दोस्रो स्थानमा रहेका छन् ।
- नर्वेका एर्लिङ हालान्ड तेस्रो स्थानमा, इङ्ग्ल्यान्डका जुड बेलिङ्घम चौथो स्थानमा र ब्राजिलका भिनिसियस जुनियर पाँचौँ स्थानमा परेका छन् ।
सन् २०२६ फिफा विश्वकपको क्वार्टरफाइनल चरण समाप्त भइसकेको छ र प्रतियोगिताले विश्वभरका फुटबल समर्थकहरूलाई चर्चा गर्न प्रशस्त विषय दिएको छ ।
मैदानबाहिर प्रतियोगिता राजनीतिक तनावका कारण चर्चामा रहे पनि मैदानभित्र अब केवल चार टोली उपाधि दौडमा बाँकी छन् ।
सन् २०२२ मा लियोनेल मेस्सीको नेतृत्वमा विश्वकप जितेको अर्जेन्टिना फेरि उपाधि जित्ने बलियो दाबेदारका रूपमा देखिएको छ । यता फ्रान्सले पनि आक्रामक खेलमार्फत यस विश्वकपमा शतप्रतिशत जित कायम राख्दै आफ्नो दबदबा प्रमाणित गरेको छ । स्पेन र इङ्गल्यान्ड पनि उपाधिको होडमा छन् र अन्तिमसम्म पुग्ने क्षमता राख्छन् ।
यी टोलीभित्रका खेलाडीमध्ये सबैभन्दा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरूको मूल्याङ्कन ‘हु–स्कोर्ड’को औसत रेटिङका आधारमा गरिएको छ ।
३० देखि २१औँ स्थानसम्म
यस सूचीको ३०औँ स्थानमा स्पेनका मिकेल ओयार्जाबाल छन् । उनले ६ खेलमा ४ गोल र १ असिस्ट गरेका छन् ।
२९औँ स्थानमा न्युजिल्यान्डका एलिजाह जस्ट छन् । उनले समूह चरणमै ३ गोल गर्दै आफ्नो टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे ।
बेल्जियमलाई क्वार्टरफाइनलसम्म पुर्याउन चाल्र्स डे केटेलारेले महत्त्वपूर्ण भूमिका खेले । उनले अन्तिम १६ मा अमेरिकाविरुद्ध दुई गोल तथा क्वार्टरफाइनलमा स्पेनविरुद्ध एक गोल गर्दै शीर्ष ३० मा स्थान बनाए । सेनेगलका इलिमान एनडियाये ले केवल ११३ मिनेट खेल्ने अवसर पाए पनि १ गोल र २ असिस्ट गर्दै प्रभाव छाडे ।
स्पेनका युवा स्टार लामिन यामालले तिघ्राको चोटका कारण प्रतियोगिताअघि राम्रो तयारी गर्न नपाए पनि टोलीका उत्कृष्ट खेलाडीमध्ये एक बने । त्यस्तै, स्विट्जरल्यान्डका जोहान मान्जाम्बी यस विश्वकपका उदाउँदा तारा बने । उनले ४ खेलमा ३ गोल र २ असिस्ट गरे । उनको उत्कृष्ट प्रदर्शनपछि उनी एस्टन भिल्लामा महँगो स्थानान्तरणको नजिक पुगेका छन् ।
इजिप्टका गोलकिपर मोस्तफा शोबेर शीर्ष ३० मा स्थान बनाउने दुई गोलरक्षकमध्ये एक हुन् । आइभरी कोस्ट नर्वेसँग पराजित हुँदै बाहिरिए पनि अमाद डियालो ले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे ।
बेल्जियमका लियान्ड्रो ट्रोसार्ड ले निरन्तर उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याउन सहयोग गरे । यसैगरि, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ले ६ खेलमा ६ गोल गरे पनि उनी शीर्ष २० भित्र पर्न सकेनन् । अब अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा टोलीलाई फाइनलमा पुर्याउने जिम्मेवारी उनकै काँधमा हुनेछ ।
तथ्यांकका आधारमा उत्कृष्ट ३० खेलाडी (३०–२१)
वरियताक्रम–खेलाडी (देश) रेटिङ
३० मिकेल ओयार्जाबाल (स्पेन) ७.३९
२९ एलिजाह जस्ट (न्युजिल्यान्ड) ७.३५
२८ चाल्र्स डे केटेलारे (बेल्जियम) ७.३५
२७ इलिमान एनडियाये (सेनेगल) ७.३६
२६ लामिन यामाल (स्पेन) ७.३६
२५ जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड) ७.३६
२४ मोस्तफा शोबेर (इजिप्ट) ७.३८
२३ अमाद डियालो (आइभरी कोस्ट) ७.४१
२२ लियान्ड्रो ट्रोसार्ड (बेल्जियम) ७.४२
२१ ह्यारी केन (इङ्ग्ल्यान्ड) ७.४२
२० देखि ११औँ स्थानसम्म
उरुग्वे प्रारम्भिक चरणमै बाहिरिए पनि म्याक्सी अराउजो ले प्रभावशाली प्रदर्शन गरे । सेनेगलका इस्माइला सार ले ४ गोल गर्दै टोलीलाई अन्तिम ३२ सम्म पुर्याउन ठुलो योगदान दिए ।
केवल १९ वर्षीय यान डियोमान्डे आइभरी कोस्टका लागि चम्किए । उनी लगातार दुई पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा आबद्ध हुने तयारीमा छन् । उनका भावी टोलीसाथी अश्रफ हाकिमी ले पनि मोरोक्कोका लागि उत्कृष्ट प्रदर्शन गरे । क्यानडाका मिडफिल्डर नाथन सालिबा ले यस विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरे ।
नेदरल्यान्ड्स मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भए पनि कोडी गाक्पो ले ४ खेलमा ३ गोल र १ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे ।
फ्रान्सका ओरेलियन चुआमेनी ले मिडफिल्डमा खेल नियन्त्रण गर्दै टोलीको सफल यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मेक्सिकोका रोबर्टो अल्भाराडो र जुलियन किन्योनेस क्रमशः १३औँ र १२औँ स्थानमा छन् । किन्योनेसले ४ गोल र १ असिस्ट गर्दै आयोजक राष्ट्रमध्ये एक मेक्सिकोलाई अन्तिम १६ सम्म पुर्याए ।
इरानका गोलरक्षक अलिरेजा बेइरानभान्ड तथ्यांकका आधारमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर बनेका छन् ।
तथ्यांकका आधारमा उत्कृष्ट ३० खेलाडी (२०–११)
वरीयताक्रम–खेलाडी (देश) रेटिङ
२० म्याक्सी अराउजो (उरुग्वे) ७.४२
१९ यान डियोमान्डे (आइभरी कोस्ट) ७.४३
१८ अश्रफ हाकिमी (मोरोक्को) ७.४६
१७ इस्माइला सार (सेनेगल) ७.४८
१६ नाथन सालिबा (क्यानडा) ७.५३
१५ कोडी गाक्पो (नेदरल्यान्ड्स) ७.५६
१४ ओरेलियन चुआमेनी (फ्रान्स) ७.५९
१३ रोबर्टो अल्भाराडो (मेक्सिको) ७.६०
१२ जुलियन किन्योनेस (मेक्सिको) ७.६४
११ अलिरेजा बेइरानभान्ड (इरान) ७.६६
शीर्ष १० खेलाडी
अर्जेन्टिनाका सेन्टरब्याक लिसान्ड्रो मार्टिनेजले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याउन ठुलो योगदान दिएका छन् । अन्तिम ३२ मा केप भर्डेविरुद्ध उनले निर्णायक गोल पनि गरेका थिए ।
स्पेनका पेड्रो पोरो नवौँ स्थानमा छन् । टोटेनह्यामका डिफेन्डर पोरोले स्पेनलाई प्रतियोगिताभर केवल एक गोल मात्र खान मद्दत गरेका छन् । उनले अस्ट्रियाविरुद्ध गोल पनि गरेका थिए ।
फ्रान्सका विङ्गर उस्मान डेम्बेले ले नर्वेविरुद्ध ४–१ को जितमा पहिलो हाफमै ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट क्षमता देखाए । जर्मनी अन्तिम १६ बाट बाहिरिए पनि फ्लोरियन भिट्र्ज ले ४ खेलमा ३ असिस्ट गर्दै तथ्यांकमा राम्रो स्थान बनाए ।
ब्राजिल अन्तिम १६ मा नर्वेसँग पराजित भए पनि भिनिसियस जुनियर ले ४ गोल गर्दै प्रभावशाली प्रदर्शन गरे । फ्रान्सका माइकल ओलिसे पनि प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका छन् ।
इङ्ग्ल्यान्डका जुड बेलिङ्घमले आलोचकहरूलाई उत्कृष्ट प्रदर्शनमार्फत जवाफ दिएका छन् । उनले समूह चरणमा क्रोएसिया र पानामाविरुद्ध गोल गरे भने अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल र क्वार्टरफाइनलमा नर्वेविरुद्ध पनि दुई गोल गरे ।
नर्वेका एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकपलाई अविस्मरणीय बनाए । उनले ५ खेलमा ७ गोल गरे, जसमा ब्राजिलविरुद्ध दुई गोल पनि समावेश छन् ।
फ्रान्सका किलियन एमबाप्पे ले विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजे लाई पछि पार्दै नयाँ कीर्तिमान बनाए । उनले ६ खेलमा ८ गोल गरेका छन् ।
सूचीको शीर्ष स्थानमा छन् लियोनेल मेस्सी । ३९ वर्षको उमेरमा पनि उनी विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीमध्ये एकका रूपमा चम्किरहेका छन् । आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म ८ गोल गरिसकेका छन् र अर्को पटक विश्व फुटबलमा अमर उपलब्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढिरहेका छन् ।
तथ्यांकका आधारमा उत्कृष्ट ३० खेलाडी (१०–१)
वरियताक्रम–खेलाडी (देश) रेटिङ
१० लिसान्ड्रो मार्टिनेज (अर्जेन्टिना) ७.६६
९ पेड्रो पोरो (स्पेन) ७.७१
८ उस्मान डेम्बेले (फ्रान्स) ७.७३
७ फ्लोरियन भिट्र्ज (जर्मनी) ७.७३
६ माइकल ओलिसे (फ्रान्स) ७.८४
५ भिनिसियस जुनियर (ब्राजिल) ७.९०
४ जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड) ७.९६
३ एर्लिङ हालान्ड (नर्वे) ८.१४
२ किलियन एमबाप्पे (फ्रान्स) ८.३६
१ लियोनेल मेस्सी (अर्जेन्टिना) ९.१५
(तथ्यांकः हु–स्कोर्ड, १२ जुलाई २०२६ सम्म)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्छ: बार अध्यक्ष मिश्र
-
पार्किङ गरिएका शंकास्पद गाडीबारे बोल्यो रास्वपा
-
सञ्चारमाध्यमका गेटमा सवारी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न प्रमुख सचेतक थापाको माग
-
देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै
-
१८ वर्षपछि चेन्नई सुपर किंग्सबाट अलग भए फ्लेमिङ
-
अमेरिकामा भानुभक्तको सालिक स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण