सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला

सोमबार, २९ असार २०८३, २० : ४०
सोमबार, २९ असार २०८३

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर देखिएको विवाद सत्ता साझेदार दलहरूमै आपसी समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्।

उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा एमालेसँग थप संवाद र परामर्श गरी सहमतिका आधारमा अगाडि बढ्न सुझाव दिएका हुन्।

बजेटसँग सम्बन्धित विवादबारे पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाहसँग सोमबारको भेटमा थापाले कांग्रेस–एमाले गठबन्धनको मर्मअनुसार सहकार्यलाई मजबुत बनाउँदै निर्णय प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटप्रति सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। यससँगै बजेट कार्यान्वयनलाई लिएर गठबन्धनभित्र मतभेद देखिएको छ।

मुख्यमन्त्री शाहले विवाद समाधानका लागि आवश्यक परे कार्यदल गठन गर्न सकिने सङ्केत दिएका छन्। तर एमालेले भने बजेटमा संशोधन मात्र नभई पुनः तयारी गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै आएको छ।

सभापति थापाले बजेट विवादलाई टकराबभन्दा पनि संवाद र सहमतिमार्फत समाधान गर्नु गठबन्धनको स्थायित्वका लागि आवश्यक रहेको बताएका थिए। भेटका क्रममा गठबन्धनलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

मुख्यमन्त्री शाह र सभापति थापाबिच भएको भेटमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तथा प्रतिनिधिसभा सदस्य दिवानसिंह विष्ट पनि सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप