बाजुरा–हुम्ला सीमा विवाद : १० जना थुनामा, ८ जना धरौटीमा रिहा
सारांश
- बाजुरा जिल्ला अदालतले हिमाली गाउँपालिका-३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा १० जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
- आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ, भने एक जना फरार छन् ।
- हुम्लाबाट आएको समूहले बाजुराको लाम्पाटामा प्रहरी चौकी निर्माणको विरोध गर्दा भएको झडपमा स्थानीय जनप्रतिनिधि र कर्मचारी घाइते भएका थिए ।
धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सोमबार भएको थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार १० जनालाई अनुसन्धान तथा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो । यसैगरी, आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश भएको अदालत स्रोतले जनाएको छ । घटनामा संलग्न भनिएका आरोपितहरू हुम्लाका स्थानीय हुन् । तीमध्ये एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पुर्पक्षका लागि थुनामा पठाइएकाहरूमा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शङ्कर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् ।
यस्तै, अदालतले प्रतिवादीहरूको आर्थिक अवस्था र कानुनी व्यवस्थालाई आधार मानेर मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजङ्ग जेठारा र ज्ञानेन्द्र छत्याललाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
त्यसैगरी, बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् भने अर्का एक जनाको ठेगाना खुल्न सकेको छैन ।
प्रहरीले घटनामा संलग्न २१ जनाविरुद्ध शरीर बन्धक बनाएको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । आरोपअनुसार गत जेठ ३ गते हुम्लाबाट आएको एक समूहले लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार र बन्धक बनाउने कार्य गरेको थियो ।
लाम्पाटादेखि रानीसैनसम्मको क्षेत्रलाई बाजुराले आफ्नो भनिरहेको छ भने हुम्लाले पनि आफ्नो दाबी गरिरहेको छ । बाजुराबाट लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको काम अगाडि बढाएपछि हुम्लाका स्थानीयले विरोध गरेका थिए । उक्त चौकी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आफ्नो जमिनमा बाजुराले एकतर्फी रूपमा प्रहरी चौकी बनाउन खोजेको भन्दै हुम्लाका स्थानीय त्यसको विरोध गर्न जेठ ३ गते त्यहाँ पुगेका थिए । प्रहरीका अनुसार विरोधका क्रममा निर्माण कार्य रोक्ने प्रयाससँगै स्थानीयमाथि आक्रमण भएको थियो ।
पुनः जेठ ५ गते पनि विवाद भयो । उक्त घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका थिए ।
गम्भीर घाइते भएका पेमा गोरा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगेर उपचार गरिएको थियो । उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।
लाम्पाटा घटनापछि सरकारले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । हाल त्यहाँ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी र प्रहरी सहायक निरीक्षक मिठुबहादुर बोहराको नेतृत्वमा सात जना नेपाल प्रहरी परिचालन गरिएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले घटनास्थल पुगेर अध्ययन सम्पन्न गरिसकेको भए पनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।
यस्तै, बाजुरा र हुम्लाबिचको सीमासम्बन्धी विवादको प्राविधिक अध्ययन गर्न सरकारले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति पनि गठन गरेको थियो । विभिन्न मन्त्रालय तथा दुवै प्रदेश सरकारका प्रतिनिधि सहभागी रहेको उक्त समितिले स्थलगत अध्ययन पूरा गरे पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण