एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने १२ औँ एसियाली उमेरसमूह पौडी (स्विमिङ) च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।
थाइल्याण्डको बैंकक सहरमा जुलाई १७ देखि २७ सम्म हुने उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। १६ खेलाडीसहित कुल १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले टोलीलाई बिदाइ गरे। सो अवसरमा संघले मन्त्री पोखरेललाई आगामी कार्यकालको सफलताका लागि शुभकामना पत्र प्रदान गर्यो।
बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले पौडीको संरचना र पूर्वाधार स्तरोन्नतिका लागि सरकारले काम गर्ने बताए। उनले अहिलेसम्म सरकार, राखेप र खेल संघले खेलकुदमा राम्रो गर्न नसकेको अवस्थामा पनि खेलाडीले धेरै सफलता दिलाउँदै आएको उल्लेख गरे। मन्त्री पोखरेलले भने, ‘यस्तो अवस्थामा पनि खेलाडीको उपलब्धि सह्रानीय छ।’ उनले थपे, ‘हाम्रो सरकार खेलाडीका लागि आवश्यक काम गर्न लागिरहेको छ।’
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी, प्रशिक्षकमा सुमन महर्जन र व्यवस्थापकमा राजु महर्जन रहेका छन्। खेलाडीहरूमध्ये पुरुषतर्फ आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ छन्। महिलातर्फ आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले रहेका छन्।
नेपाली खेलाडीहरूले कुल १०८ वटा विधामा चुनौती प्रस्तुत गर्ने संघका सचिव गङ्गा गोलेले जानकारी दिए। टोलीमा रहेका अभिभ प्रधान जापानमा हुने आगामी २० औँ एसियन गेम्सका खेलाडी हुन्। नेपाल पौडी संघका अनुसार नेपाली खेलाडीहरूले व्यक्तिगत स्पर्धासँगै रिले इभेन्टमा पनि प्रतिस्पर्धा गर्नेछन्। तीन वटा उमेरसमूहमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्ने र यसले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास संघले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण