कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
सारांश
- शिक्षा मन्त्रीको निर्देशनमा कक्षा १२ को नतिजा छिटै आए पनि प्राविधिक धारका विद्यार्थीको ‘ओजेटी’ बाँकी रहँदा उच्च शिक्षा अध्ययनमा समस्या भएको छ ।
- नतिजा आए पनि ‘अन द जब ट्रेनिङ’ (ओजेटी) सम्पन्न नहुँदा विद्यार्थीले ग्रेडसिट मात्र पाएका छन्, जसले गर्दा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट बन्न सकेको छैन ।
- सरकारी निकायबीचको समन्वयको अभावले हजारौँ दक्ष जनशक्तिको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्ने निर्देशन दिँदा कक्षा १२ प्राविधिक धारतर्फका विद्यार्थीहरू मर्कामा परेका छन् । कक्षा १२ को प्राविधिक धारतर्फ उत्तीर्ण विद्यार्थीहरू यस वर्ष इच्छित विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने अवसरबाट वञ्चित हुने सम्भावना देखिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ ले कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक गरेको थियो । पोखरलले नतिजा यथाशीघ्र प्रकाशनलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन् । बोर्डका अनुसार यस्ता पीडित विद्यार्थीको सङ्ख्या १० हजारको हाराहारीमा छ ।
नतिजा प्रकाशन भए पनि अझै प्राविधिक धारतर्फको ‘ओजेटी’ अर्थात् ‘अन द जब.ट्रेनिङ’ सम्पन्न नहुँदा प्राविधिक धारतर्फका विद्यार्थी प्रताडित बनेका छन् । ओजेटी सम्पन्न नहुँदा विद्यार्थीहरूले ग्रेडसिटमात्रै पाएका छन्, प्रयोगात्मक नम्बर चढेको छैन । ओजेटीको नम्बर नचढ्दा ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट बन्दैन ।
तर, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डले सूचना जारी गर्दै साउन १ गतेसम्म अनलाइन फर्म भर्न सकिने र साउन ११ गतेदेखि प्रवेश परीक्षा सुरु हुने जनाएको छ । फर्म भर्ने म्याद (समय) नजिकिँदै गर्दा विद्यार्थीहरूले ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट नआउने निश्चित जस्तैछ ।
एक अभिभावकले भने, ‘एक सय दिनमा ६ सय घण्टा ओजेटी गर्नुपर्ने रहेछ । त्यसैका आधारमा थप अङ्क प्राप्त हुन्छ । परीक्षा अङ्कको आधारमा इन्जिनियरिङ अध्ययन संस्थानमा फर्म भरिदिए । भदौ १५ सम्म भर्ना भइसक्नुपर्छ भन्नुभएको छ, तर ओजेटीको अङ्क नचढाएर ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट बोर्डले दिँदोरहेनछ । असोज १ देखि त कक्षा नै सुरु हुने भन्नुभएको छ ।’
बोर्डसँग कुरा राख्दा विद्यालयले ओजेटीमा प्राप्त नम्बर पठाएपछि उक्त नम्बरलाई थपेर ट्रान्सक्रिप्ट र प्रोभिजनल जारी गर्न सकिने जबाफ प्राप्त भएको अभिभावक बताउँछन् । समयमै नतिजा आएको भन्दै सुरुमा उत्साहित भएका विद्यार्थी र अभिभावकहरू अहिले भर्ना प्रक्रियाबाटै वञ्चित हुनुपर्ने स्थिति सिर्जना भएपछि चिन्तित छन् ।
गोरखापत्रमा प्रकाशित सूचना अनुसार आवेदनका लागि न्यूनतम योग्यतामा कक्षा १२ वा सो सरहको अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरू समेत पर्छन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा स्नातक तहमा भर्नाका लागि प्रवेशिका (एस.एल.सी.) वा सो सरहको परीक्षाको लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र र बोर्डले प्रदान गरेको प्रमाणपत्र वा प्रोभिजनल सर्टिफिकेटको सक्कल र प्रमाणित प्रतिलिपि १/१ प्रति आवश्यक पर्छ । साथै, मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक, रसायन र गणित विषय लिई प्लस टु, ए लेभल वा इन्जिनियरिङ डिप्लोमामा कम्तीमा ४५ प्रतिशत वा लेटर ग्रेडिङ भएमा सबै विषयमा न्यूनतम सी ग्रेड ल्याई उत्तीर्ण गरेको लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र र प्रमाणपत्रहरूको सक्कल र प्रमाणित प्रतिलिपि १/१ प्रति चाहिन्छ ।
गोरखापत्रमा प्रकाशित सूचना अनुसार आवेदनका लागि न्यूनतम योग्यतामा कक्षा १२ वा सो सरहको अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरू समेत पर्छन् ।
सरकारले प्राविधिक शिक्षालाई देश विकासको मेरुदण्ड भन्दै नारा लगाइरहँदा सरकारी निकायहरूबिचको फितलो समन्वयले गर्दा हजारौँ दक्ष जनशक्तिको शैक्षिक भविष्य नै अन्योलमा परेको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका इलेक्ट्रिकल डिपार्टमेन्टका प्रमुख जयप्रकाश महर्जनले कक्षा १२ को ओजेटी असोजसम्म सम्पन्न हुने बताए । उनले भने, ‘हामीले विद्यार्थीलाई ओजेटी गर्न फिल्डमा पठाएका छौँ । ओजेटी असोजसम्म सम्पन्न होला ।’
कतिपय विद्यालयले कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ३ महिना ओजेटीमा पठाउने गर्छन् ।
अभिभावकले थप इच्छाएको विषय अध्ययनका लागि विद्यालयलाई आग्रह गरेपछि विश्वनिकेतनका प्राचार्य हेरम्बराज कँडेलले जो जससँग सम्बन्धित राख्छ उल्लेख गर्दै लेखेको पत्रमा भनिएको छ, ‘निज ओजेटीमा सहभागी भई प्रक्रियामा रहेको जानकारी गराउँदछु । निज छात्रा मेधावी तथा मेहनती रहेको र अध्ययनको क्रममा सक्दो सहयोग तथा सहजीकरणका लागि सिफारिस गर्दछु ।’
जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरका प्रधानाध्यापक देवराज महर्जनले कक्षा १२ को परीक्षा सकिएपछि तीन महिना ओजेटीमा फिल्ड पठाउने गरिएको बताए । उनले भने, ‘विद्यार्थीलाई पढ्ने इच्छा त छ । ओजेटी ६ महिना गर्नुपर्छ । कक्षा १२ को परीक्षा सकिएपछि तीन महिना ओजेटी गराउँछौँ ।’
कतिपय विद्यालयले कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ३ महिना ओजेटीमा पठाउने गर्छन् ।
कक्षा १२ मा बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर साइन्स, सिभिल, इलेक्ट्रिकल इन्जिनियरिङ धारका विद्यार्थीहरू ओजेटीका लागि फिल्ड पठाइन्छ । ओजेटी सम्पन्न गरेबापत कुल एक सय अङ्कलाई आधार मानेर नम्बर दिइन्छ ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले कक्षा १२ का प्राविधिक धारतर्फका अधिकांश विद्यार्थी जेठ १ देखि ओजेटीमा गएको बताए । उनले भने, ‘कम्तीमा ६ सय घण्टा सिप सिकेर आएपछि विद्यार्थीले विद्यालयमा प्रतिवेदन बुझाउनुपर्छ । भाइवाका लागि बाह्य परीक्षक खटाइन्छ । यस्ता झन्डै १० हजार विद्यार्थी होलान् । विद्यार्थीहरूको एक सय पूर्णाङ्क अङ्कको नम्बर अझै चढेको छैन । उनीहरू अझै परीक्षाकै चरणमा छन् ।’
तिवारीले यस विषयमा सरोकारवालाबिच समन्वय आवश्यक पर्ने बताए । ग्रेडसिटको आधारमा प्रवेश परीक्षामा सहभागी हुन दिने र ओजेटी सम्पन्न भएपश्चात् पास भएको खण्डमा प्रमाणपत्र लिएपछि भर्ना दिन सकिने व्यवस्थाबारे थप निर्णय आए विद्यार्थीलाई सहज हुने तिवारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण