बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा

बुधबार, ३१ असार २०८३, ०८ : ५५
बुधबार, ३१ असार २०८३

सारांश

  • नवलपुरको कावासोती यातायात व्यवस्था कार्यालयले नेपालमै पहिलोपटक ट्याब्लेटबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालन गरेको छ ।
  • यो प्रविधिले एआई र फेस म्याचिङमार्फत परीक्षार्थीको पहिचान गरी परीक्षालाई पारदर्शी र मर्यादित बनाउने दाबी गरिएको छ ।
  • प्रविधिको प्रयोगमा अभ्यस्त नभएका परीक्षार्थीका लागि कागजी माध्यमबाट परीक्षा दिने वैकल्पिक व्यवस्था पनि मिलाइएको छ ।

पोखरा । गण्डकी प्रदेश मातहत रहेको नवलपुरको कावासोती यातायात व्यवस्था कार्यालयले नेपालमै पहिलो पटक ट्यावलेटबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा लिएको छ । लिखित परीक्षा बदनाम हुन थालेपछि कार्यालयले पारदर्शी र आधुनिक बनाउन ट्यावलेट प्रयोग गरेको हो ।

ट्यावलेट प्रविधिको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले औपचारिक उद्घाटन गरेका छन् । यसको कार्यान्वयन सँगै यातायात क्षेत्रको सेवा प्रवाहलाई चुस्त र मर्यादित बन्ने दाबी गरिएको छ ।

‘विगतमा कागजी परीक्षा सञ्चालन गर्दा नागरिकता वा प्रवेशपत्रको फोटो स्पष्ट नहुने र नक्कली परीक्षार्थी सहभागी हुन सक्ने जस्ता प्राविधिक चुनौतीहरू थिए,’ कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले भने, ‘अहिले एआई र फेस म्याचिङ प्रविधिसहितको ट्याब्लेट प्रणाली लागू भएसँगै वास्तविक परीक्षार्थीको पहिचान गर्न सहज भएको छ ।’

तत्कालका लागि परीक्षार्थी कार्यालयमै उपस्थित भएर परीक्षा दिनुपर्छ । तर, बिस्तारै घरबाटै परीक्षा दिने व्यवस्थाको तयारी भइरहेको उनले सुनाए । परीक्षाका क्रममा उत्तरपुस्तिका जाँच गर्न समय लाग्ने र उत्तर केरमेट हुँदा परीक्षार्थीहरू झुक्किएर अनुत्तीर्ण हुने समस्या अब नरहने कार्यालयले जनाएको छ ।

प्रणाली कार्यान्वयनमा आएसँगै परीक्षा हलभित्र हुन सक्ने अवाञ्छित गतिविधि र मानवीय चलखेलको सम्भावना समेत कम भएको निमित्त कार्यालय प्रमुख टेकबहादुर नेपालीले सुनाए । ‘कर्मचारी अभावका बिच पनि थोरै जनशक्तिबाट छिटो र सुरक्षित रूपमा परीक्षा सम्पन्न गर्न यसले सहयोग पुर्‍याएको छ,’ उनले भने, । कार्यालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षामा प्रयोग हुने ट्याब्लेटहरू कार्यालयकै मातहतमा रहने व्यवस्था मिलाएको छ ।

परीक्षा हल भन्दा बाहिर यो प्रविधिले काम नगर्ने गरी सुरक्षा संयन्त्र मिलाइएको कार्यालयले जनाएको छ । यसमा जडान गरिएको एआई प्रणालीले फेस म्याचिङमार्फत परीक्षार्थीको पहिचान गर्दछ । परीक्षा दिइरहेको समयमा प्रणालीले स्वतः तस्बिर र आवाज रेकर्ड गर्ने हुनाले परीक्षाको निष्पक्षता कायम राख्न मद्दत पुग्ने सूचना अधिकारी सापकोटाले बताए ।

तर, प्रविधिको प्रयोगमा अभ्यस्त नभएका परीक्षार्थीहरूका लागि पनि कार्यालयले वैकल्पिक व्यवस्था पनि मिलाएको छ । ट्याब्लेट चलाउन कठिनाइ महसुस गर्ने परीक्षार्थीका लागि सोही प्रश्नपत्र प्रिन्ट गरेर कागजी माध्यमबाटै परीक्षा दिने सुविधा समेत उपलब्ध गराइएको उनले बताए । ‘हाम्रो मुख्य उद्देश्य सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्नु र परीक्षाको नतिजा तत्काल उपलब्ध गराउनु हो । प्रविधिको प्रयोगमा अभ्यस्त नभएका परीक्षार्थीहरूलाई सहज होस् भन्नका लागि हामीले ट्याब्लेटमा उपलब्ध हुने सोही प्रश्नपत्रलाई तत्काल प्रिन्ट गरेर कागजी माध्यमबाटै पनि परीक्षा दिन पाउने वैकल्पिक व्यवस्था कायम राखेका छौँ,’ उनले भने ।

सेवा सुरु भएपछि हालसम्म ५३ जना परीक्षार्थीले ट्याब्लेटमार्फत परीक्षा दिइसकेका छन् । जसमध्ये ४० जना उत्तीर्ण र १३ जना अनुत्तीर्ण भए । परीक्षाका लागि ३० मिनेटको समय तोकिएको भएपनि परीक्षार्थीहरूले ४ देखि २२ मिनेटभित्रै परीक्षा सम्पन्न गरेका थिए । प्रणालीको निर्माण सापकोटाकै प्रयासमा सफल भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप