बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने

बुधबार, ३१ असार २०८३, १३ : ५८
बुधबार, ३१ असार २०८३

सारांश

  • धितोपत्र बोर्डले पुँजीबजारमा 'सर्ट सेलिङ' प्रणाली छिट्टै लागू गर्ने तयारी गरेको छ।
  • यो प्रणाली लागू भएपछि बजार घट्दा पनि लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गरी प्रतिफल लिन सक्नेछन्।
  • यस व्यवस्थाले बजार बढ्नैपर्ने एकतर्फी मनोविज्ञान परिवर्तन गरी लगानीकर्तालाई आफ्नै विश्लेषणमा निर्णय गर्ने वातावरण बनाउनेछ।

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन्। 

बुधवार अर्थ समितिको बैठकमा बोल्दै उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएका हुन्।

नेपालमा सेयर बजार सधैँ बढिरहनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले संसारको कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्र लाग्न नसक्ने स्पष्ट पारे। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएकोमा गुनासो गर्दै उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्र रहेको बताए। 

उनले सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन पाउनेछन्। 

बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैँ सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने उनको दाबी छ। 

धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको भन्दै लगानीको निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने उनले बताए। अहिलेको बजारको प्रवृत्तिको चर्चा गर्दै अध्यक्ष भट्टले भने, ‘अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुसी हुन्छन्। बजार जहिले पनि बढिरहनु पर्छ भन्ने मान्यता छ।’ 

नेपालको सन्दर्भमा बजार बढी नै रहनुपर्ने मनोविज्ञान रहेको र ३ हजार, ३५ सय वा ५ हजारमा पुगे पनि कोही खुसी नहुने भन्दै उनले बजार सधैँ बढिरहन नसक्ने स्पष्ट पारे। उनले थपे, ‘नेपालमा ५ हजारमा पुगेर पनि यदि घट्यो भने धितोपत्र बोर्ड घेराउ नै हुनेवाला छ, जो हिजो भयो। मैले हिजो सामना गरेर आएँ, मेरो जीवनमा पहिलोपटक घेराउको पनि सामना गरेर आएँ।’

लगानीकर्ताले प्रतिफलकै लागि सेयर किन्ने र नेपालमा सेयरको मूल्य नबढिकन रिटर्न आउने अवस्था नरहेको भन्दै अध्यक्ष भट्टले अब बजार जता गए पनि लगानीकर्ताले रिटर्न लिने मेकानिजम बनाउन लागिएको बताए। उनले थपे, ‘त्यो भनेको के हो भने बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ। अब छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ।’ 

उनका अनुसार कुनै इन्भेस्टरले बजार घट्ने अनुमान गर्‍यो भने उसले सेयर सापटी लिएर अहिलेको मूल्यमा बेचिदिन्छ र भविष्यमा बजार घटेको बेला किनेर फिर्ता गर्छ। ५० रुपैयाँको सेयर बेचेर ३० रुपैयाँ भएको बेलामा किनेर फिर्ता गर्दा उसलाई २० रुपैयाँ फाइदा हुन्छ। अर्कातर्फ बजार बढ्ने अनुमान गर्नेले ५० मा किनेर ८० मा बेच्न सक्छ। 

यसरी लगानीकर्ताहरू बाँडिएपछि बजार बढ्नैपर्ने बाध्यता समाप्त हुने उनको दाबी छ। उनले भने, ‘त्यसपछि यो लगानीकर्ता सङ्घ भन्ने पनि हुँदैन। अहिलेसम्म एकै लाइनमा गइरहेको हुनाले पुँजीबजार लगानीकर्ता सङ्घहरू भएर हामीलाई घेराउ गर्छन्। बजार अहिले देखिएको यो समस्या हामी समाप्त गरिदिन्छौँ।’

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए। हाल सम्पत्ति छानबिन लगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको भन्दै सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ। उनले नेपालको पुँजीबजार सुधारका लागि बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको समेत जानकारी दिए। यसैगरी आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यका लागि आर्थिक वर्ष २०८३/०८४ को पुँजीबजार नीति पनि सार्वजनिक गरिएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप