बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मौन समाजको सामाजिक मनोविज्ञान

बिहीबार, ३२ असार २०८३, ०७ : ४५
बिहीबार, ३२ असार २०८३

हामी यस्तो समाजमा बाँचिरहेका छौँ, जहाँ अन्याय देखिन्छ, तर त्यसविरुद्ध आँखा खुल्दैन । विकृति सुनिन्छ, तर त्यसप्रति कान खुल्दैन । कहिलेकाहीँ लाग्छ, हामी केवल व्यक्तिका रूपमा होइन, सामूहिक चेतनाका हिसाबले पनि आँखा नदेख्ने, कान नसुन्ने भइसकेका छौँ । समाजमा भइरहेका गलत काम, कानुनको उल्लङ्घन, सार्वजनिक स्रोतको दुरुपयोग, शक्ति र पहुँचका आधारमा गरिने निर्णय तथा संस्थागत बेथितिहरू हाम्रै अगाडि भइरहेका हुन्छन्, तर तिनका विरुद्ध उठ्नुपर्ने आवाज भने कमजोर र मौन देखिन्छ ।

लोकतन्त्रको सुन्दरता चुनावमा मात्र हुँदैन, यसको वास्तविक शक्ति सचेत नागरिकमा निहित हुन्छ । प्रश्न गर्ने, जवाफदेहिताको माग गर्ने, सार्वजनिक निर्णयमाथि निगरानी राख्ने र गलत कार्यको प्रतिरोध गर्ने संस्कृतिले नै लोकतन्त्रलाई जीवन्त बनाउँछ । जब नागरिकले प्रश्न गर्न छाड्छन्, आलोचनालाई शत्रुता र चाकडीलाई निष्ठा ठान्न थाल्छन्, तब लोकतन्त्रको आत्मा नै कमजोर बन्छ । 

आज हाम्रो समाजको एउटा गम्भीर समस्या यही हो । हामी प्रश्न भन्दा प्रशंसामा, खबरदारी भन्दा मौनतामा र उत्तरदायित्व भन्दा व्यक्तिपूजामा बढी विश्वास गर्न थालेका छौँ । यही प्रवृत्ति बिस्तारै हाम्रो राजनीतिक संस्कृतिको चरित्र बन्दै गएको छ ।

हामीले राजनीतिक व्यवस्था फेर्यौँ, संविधान फेर्यौँ, राज्यका संरचना फेर्यौँ, तर सोच, संस्कार र सामाजिक व्यवहारको जग भने अपेक्षाअनुसार परिवर्तन गर्न सकेनौँ । शताब्दीयौँ लामो सामन्ती शासन व्यवस्थाले हाम्रो सामाजिक मनोविज्ञानमा छोडेको छाप अझै मेटिएको छैन । त्यसैले आज पनि धेरै ठाउँमा पदलाई जिम्मेवारी भन्दा विशेषाधिकार, अधिकारलाई सेवाभन्दा शक्ति प्रदर्शनको माध्यम र सार्वजनिक भूमिकालाई जनसेवाभन्दा प्रतिष्ठाको विषय ठान्ने प्रवृत्ति जीवित छ । 

सामन्ती सोचको सबैभन्दा खतरनाक पक्ष भनेको आफूलाई शासक र अरूलाई रैती ठान्ने मानसिकता हो । लोकतन्त्रले नागरिकलाई सार्वभौम ठान्छ, तर व्यवहारमा अझै पनि धेरै सार्वजनिक पदाधिकारीहरू आलोचना भन्दा प्रशंसा सुन्न रुचाउँछन् । प्रश्नलाई लोकतान्त्रिक अधिकारका रूपमा होइन, व्यक्तिगत चुनौतीका रूपमा बुझ्ने प्रवृत्ति बढ्दो छ । सत्ताको केन्द्रमा पुगेपछि आफूलाई नियमभन्दा माथि र आलोचना भन्दा पर ठान्ने मनोवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि गम्भीर खतरा हो ।

समस्या केवल सत्तामा बस्नेहरूको मात्र होइन, समाज स्वयं पनि यसका लागि उत्तिकै जिम्मेवार छ । यस अवस्थालाई बुझ्न समाजशास्त्रको ‘सामाजिकीकरण’ सम्बन्धी अवधारणा पर्याप्त छ । सामाजिकीकरण भनेको व्यक्तिले परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम, धार्मिक तथा राजनीतिक संस्थामार्फत समाजका मूल्य, मान्यता, विश्वास र व्यवहार सिक्ने प्रक्रिया हो । कुनै पनि समाजमा नागरिकको चेतना, अधिकारबोध र लोकतान्त्रिक संस्कार जन्मजात हुँदैनन् ती सामाजिक सिकाइको लामो प्रक्रियाबाट निर्माण हुन्छन् । 

यदि यही प्रक्रियाले प्रश्न गर्नुभन्दा आज्ञापालन, आलोचनात्मक सोचभन्दा अन्धअनुसरण र संस्थाभन्दा व्यक्तिप्रति निष्ठा सिकाउँछ भने त्यही संस्कृतिले भविष्यका नागरिकलाई पनि त्यस्तै बनाउँछ । त्यसैले व्यक्तिपूजा, मौनता वा अन्यायलाई सामान्य ठान्ने व्यवहार केवल व्यक्तिगत कमजोरीका परिणाम होइनन् ती लामो समयदेखि चलिआएका सामाजिकीकरण प्रक्रियाबाट निर्मित सामाजिक प्रवृत्ति हुन् । 

हामीमध्ये धेरैले व्यक्ति हेरेर सत्य र असत्यको निर्णय गर्छौँ । आफूलाई मन पर्ने व्यक्तिले गल्ती गरे पनि त्यसलाई सामान्यीकरण गर्छौँ अनि मन नपर्नेले सही काम गरे पनि स्वीकार गर्न कठिन मान्छौँ । सिद्धान्त भन्दा सम्बन्ध, संस्था भन्दा व्यक्ति र मूल्यभन्दा पहुँचलाई महत्व दिने प्रवृत्तिले हाम्रो लोकतान्त्रिक संस्कृतिको जग नै कमजोर बनाएको हो ।

हाम्रो समाजको अर्को विडम्बना के छ भने, प्रश्न गर्नेहरूलाई प्रायः सत्य र न्यायको पक्षमा उभिएका नागरिकका रूपमा होइन, आफ्नै स्वार्थ पूरा नभएर बोलेका व्यक्तिका रूपमा चित्रित गरिन्छ । कुनै नीति, निर्णय वा नेतृत्वमाथि प्रश्न उठ्यो भने त्यसको सारमा बहस गर्नुको सट्टा प्रश्नकर्ताकै नियतमाथि शङ्का गरिन्छ । 

विचारको जवाफ विचारले होइन, व्यक्तिमाथिको आक्षेपले दिने प्रवृत्तिले हाम्रो सार्वजनिक बहसको स्तर नै कमजोर बनाएको छ । अर्कोतर्फ, अन्याय, विभेद वा विकृतिलाई चुपचाप सहनेहरूलाई ‘सहिष्णु’, ‘भद्र’ र ‘समझदार’ को उपाधि दिइन्छ यसरी समाजले प्रतिरोध भन्दा मौनतालाई र नागरिक साहस भन्दा समर्पणलाई पुरस्कृत गर्न थाल्छ परिणामतः सत्य बोल्नेहरू एक्लिँदै जान्छन् र गलत अभ्यासहरू झन् संस्थागत हुँदै जान्छन् ।

समाजशास्त्रमा ‘सामाजिक भाग्यवाद’ भन्ने अवधारणाले एउटा महत्त्वपूर्ण यथार्थलाई उजागर गर्छ । जब मानिसहरूले आफ्नो अवस्था, समाजको अवस्था वा शासन व्यवस्थाका कमजोरीहरूलाई परिवर्तन गर्न सकिने सामाजिक समस्याका रूपमा होइन, भाग्य वा नियतिको परिणामका रूपमा बुझ्न थाल्छन्, तब उनीहरू सक्रिय नागरिकबाट निष्क्रिय दर्शकमा रूपान्तरित हुन्छन् । हाम्रो समाजमा ‘यस्तै हो’, ‘यस्तै चलिरहेको छ’, ‘केही बदलिँदैन’, ‘हामीले के गर्न सक्छौँ र ?’ जस्ता अभिव्यक्तिहरू सामान्य सुनिन्छन् । तर यी केवल शब्द होइनन् यी परिवर्तनप्रतिको आत्मसमर्पणका सङ्केत हुन् । 

जब नागरिकले अन्यायलाई भाग्यको खेल ठान्छ, तब उत्तरदायित्वको माग कमजोर हुन्छ, जब बेथितिलाई सामान्य मानिन्छ, तब सुधारको आवश्यकता पनि गौण बन्छ । इतिहासले देखाएको छ– अन्याय र बेथिति बलियो भएर टिकेका होइनन्, त्यसका विरुद्धका आवाजहरू कमजोर भएर टिकेका हुन् । कुनै पनि समाजको प्रगति तब सम्भव हुन्छ, जब नागरिकले आफूलाई परिवर्तनको साधन ठान्छ, परिवर्तनको असहाय दर्शक होइन ।

समस्या केवल व्यक्तिको चेतनामा मात्र सीमित छैन । समाजशास्त्रको अर्को महत्त्वपूर्ण अवधारणा संरचनात्मक– प्रकार्यवादले समाजलाई व्यक्तिहरूको मात्र समूह नभई मूल्य, संस्था, संस्कृति, सम्बन्ध, शक्ति संरचना र व्यवहारहरूको अन्तरसम्बन्धित प्रणालीका रूपमा बुझ्छ । यस दृष्टिकोणबाट हेर्दा बेथिति, भ्रष्टाचार, व्यक्तिपूजा वा उत्तरदायित्वहीनता कुनै एक व्यक्तिको कमजोरी मात्र होइनन् ती सम्पूर्ण सामाजिक परिवेशबाट उत्पन्न हुने प्रवृत्ति र मान्यताहरू हुन् । 

त्यसैले संरचनात्मक सुधारबिना केवल नेतृत्व परिवर्तनले समाज परिवर्तन सम्भव हुँदैन । जबसम्म संस्थागत मूल्य, उत्तरदायित्व र नागरिक संस्कृतिमा परिवर्तन आउँदैन, पुरानै प्रवृत्ति नयाँ अनुहारमार्फत दोहोरिरहन्छन् । समाजको समग्र प्रणाली, उसका मूल्य, संस्कार, संस्था, व्यवहार र सम्बन्धहरूको ढाँचा– परिवर्तन नभएसम्म व्यक्ति फेरिए पनि समाज फेरिँदैन । पुरानो सोचको जगमाथि नयाँ संरचना बनाइयो भने परिणाम अन्ततः पुरानै संस्कृतिको पुनरावृत्ति हुन्छ ।

आज स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म, राजनीतिक दलदेखि नागरिक समाजसम्म, सार्वजनिक संस्थादेखि निजी क्षेत्रसम्म उत्तरदायित्वको संस्कृति बलियो बनाउनु आवश्यक छ । सार्वजनिक स्रोत, अधिकार र निर्णयमाथि नागरिकको निगरानी लोकतन्त्रको कमजोरी होइन, यसको सबैभन्दा ठुलो शक्ति हो । प्रश्नलाई विरोधका रूपमा होइन, सुधारको अवसरका रूपमा ग्रहण गर्न सक्ने संस्कृतिको विकास आजको आवश्यकता हो ।

आँखा नदेख्ने समाजले सत्य देख्न सक्दैन । सुन्न सक्ने क्षमता गुमाएको समाजले सत्यको आवाज सुन्न सक्दैन । तर सचेत समाजले अन्याय देख्छ, सुन्छ र त्यसविरुद्ध उभिन पनि जान्दछ । सभ्य समाजको पहिचान केवल सडक, भवन र भौतिक संरचनाले हुँदैन गलत कार्यका विरुद्ध उभिने नैतिक साहस, सत्यको पक्षमा बोल्ने नागरिक चेतना र शक्तिलाई उत्तरदायी बनाउने सामाजिक संस्कृतिले पनि हुन्छ । 

विकासको वास्तविक मापन नागरिकको चेतना, संस्थाको विश्वसनीयता र न्यायप्रतिको प्रतिबद्धताले गर्छ । त्यसैले आजको आवश्यकता आलोचनालाई स्वीकार गर्न सक्नु, शक्तिलाई उत्तरदायी बनाउन सक्नु, व्यक्तिपूजा भन्दा संस्थालाई बलियो बनाउन सक्नुमा छ । अब प्रश्न हाम्रो सामु छ– अन्याय, कुशासन, विकृति, बेथिति र हैकमवाद देखेर पनि आँखा चिम्लिने कि त्यसविरुद्ध आवाज उठाउने ? सत्य सुनेर मौन बस्ने कि प्रश्न गर्ने ? किनभने इतिहासले मौन दर्शकलाई होइन, अन्यायविरुद्ध उभिने साहसी नागरिकलाई सम्झन्छ । 

देखौँ, सुनौँ, प्रश्न गरौँ किनभने सचेत नागरिकको मौनताभन्दा ठुलो खतरा लोकतन्त्रका लागि अरू केही हुन सक्दैन ।

(लेखक बेल्बासे समाजशास्त्री हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु बेल्बासे
विष्णु बेल्बासे
लेखकबाट थप