बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
सारांश
- जननेता मदन भण्डारीले देशलाई सम्भावित बर्बादी, रक्तपात र गृहयुद्धबाट बचाउन नेकपा (एमाले) को उदय गराएको र उनको भूमिका महत्त्वपूर्ण रहेको छ ।
- मदन भण्डारीले मार्क्सवादमा शक्ति पृथकीकरणको सिद्धान्त थप्ने हिम्मत राखेका थिए र उनलाई रचनात्मक सोच भएका नेता मनपर्थे ।
- एमालेभित्रको कलह, पद, प्रतिष्ठा र लोभले गर्दा मदन भण्डारीले भावनात्मक एकताले बाँधेका नेताहरू मिल्न नसक्नु दुर्भाग्यपूर्ण छ ।
नेपाली राजनीतिक आकाशका चम्किलो नक्षत्र हुन् जननेता मदन भण्डारी । उनले देशलाई सम्भावित बर्बादी, रक्तपात र गृहयुद्धबाट बचाउन नेकपा (एमाले) को उदय गराउनु भयो । मातृभूमिको सार्वभौमसत्ता जोगाउन, वामपन्थी आन्दोलन बलियो बनाउँदै समग्र लोकतान्त्रिक आन्दोलनलाई सुदृढ पार्न उनको भूमिका महत्त्वपूर्ण छ ।
विचार, जाति, भाषा, धर्म, लिङ्ग र पुस्ताका संवेदना भड्काएर भू–राजनीतिक जटिलता र दाउपेचमार्फत मातृभूमिलाई कमजोर पार्ने तत्त्वहरू विरुद्ध मदन भण्डारीले नै सचेतनाको दियो बाल्नुभएको हो । भौगोलिक अखण्डताको रक्षा र भावनात्मक एकताको अपरिहार्यताबारे सबैभन्दा घन्किने स्वर उहाँकै थियो ।
मदन भण्डारी कम्युनिस्ट नेता र विचारक भए पनि मार्क्सवादमा ‘शक्ति पृथकीकरण’ को सिद्धान्त थप्ने हिम्मत राख्नुहुन्थ्यो । एमाले महासचिव भएर पनि उहाँ बिपी कोइरालालाई आदर्श नेता मान्नु हुन्थ्यो । उहाँलाई रचनात्मक सोच र शैली भएका नेता मनपर्थे ।
३७ वर्षको उमेरमा उहाँ तत्कालीन ‘माले’ जस्तो ऊर्जावान् युवाहरूको बाहुल्य रहेको पार्टीको शक्तिशाली महासचिव बन्नु भयो, तर उहाँले आफ्नो ऊर्जा र समय अग्रजहरूको टहल, कदरमै बढी खर्चिनु भयो । वयोवृद्ध अवस्थाका मनमोहन अधिकारीलाई पार्टी एकता गर्दा पार्टी प्रमुख मान्ने त्याग, प्रतिस्पर्धी सीपी मैनालीलाई संसदीय दलको नेता र झलनाथ खनाललाई मन्त्री बनाउने सहिष्णुता । सहकर्मी, सहायक, अनुयायी र सामान्य कार्यकर्तालाई दिने महत्वले गर्दा मदन भण्डारीको व्यक्तित्वले सगरमाथाको उचाइ लिएको थियो ।
जननेता मदन भण्डारीको अवसानपछि पनि एमालेले उनका विचार, आदर्श र व्यवहारलाई मूलतः जोगाएर राखेको छ । जनजीविका, सामाजिक न्याय, राष्ट्रियताको पहरेदारी र विकास निर्माणको महानायकीय छविले गर्दा एमाले आज पनि अटल छ । एमालेको दिनगन्ती गर्नेहरू आज पनि उस्तै हैरान र आश्चर्यमा छन् ।
कहिले काहीँ सिपालु कालिगडको आफ्नै घर राम्रो नहुन सक्छ । देश र जनताको उपासक एमाले र बहुदलीय जनवादका पक्षधरहरू देशको सङ्गिन घडीमा आफैबिच मिल्न नसक्नु गम्भीर वैचारिक चूक हो ।
युगसापेक्ष महानायक उत्पादन गर्ने नर्सरी हुनुको नाताले, नेपाली जातिलाई कमजोर ठान्नेहरूसँग आँखा जुधाएर टक्कर लिनुका हिसाबले, अनि जनतामा भ्रम छर्ने र फुट ल्याउने तत्त्वहरू विरुद्ध जागरणको ज्योति बाल्नुको हिसाबले एमालेका नाममा अनेकौँ कीर्तिमान छन् । राजकीय ढुकुटी र भोका जनताबिचको सेतु बन्दै निराश र हताश मानिसहरूलाई भरोसा दिलाउनु एमालेको विशेषता हो ।
तर, कहिले काहीँ सिपालु कालिगडको आफ्नै घर राम्रो नहुन सक्छ । देश र जनताको उपासक एमाले र बहुदलीय जनवादका पक्षधरहरू देशको सङ्गिन घडीमा आफैबिच मिल्न नसक्नु गम्भीर वैचारिक चूक हो । एमालेभित्रकै विग्रह, अरूलाई जोड्ने र भ्वाङ परेका ठाउँ टाल्ने मदन भण्डारीका अनुयायीहरूबिच नै बेमेल र विद्वेष हुनु इतिहासको बेरुजु हो ।
टुट्नु र फुट्नुको पीडा भोगेको वामपन्थी आन्दोलनमा एकताको संवाहक एमालेभित्रकै कलह ‘पानीमा आगो लाग्नु’ जस्तै आश्चर्यजनक छ । त्यसैले बहुदलीय जनवादका पक्षधरहरूले आफ्नो कमजोरी र फुटको कारण आफैँभित्र खोज्नुपर्छ । मदन भण्डारीले भावनात्मक एकताको डोरीले बाँधेका नेताहरू मिल्न नसक्नुमा पद, प्रतिष्ठा र लोभको भद्दा नाटकले काम गरेको छ ।
एमाले अहिले महासङ्कटको चरणबाट गुज्रिरहेको छ । एमालेका आफ्नै समस्या छन्, जुन गिजोलेर हल हुँदैनन् । ओली, नेपाल र गौतम मिल्न नसक्दाको सङ्कटलाई ०७८ को विभाजनपछि ओली, विद्या र ईश्वर त्रिकोणले सुल्झाउनुपर्ने थियो, तर आफ्नै छायाले राजनीतिमा छल गरेको देखियो ।
यही त्रिकोणको तुषले गर्दा एमालेले चुनावको मुखमा दुई–दुई वटा महाधिवेशनको ‘जहर’ पिउनुपर्यो । अहिले ओली, विष्णु र शङ्करको त्रिकोणबाट कार्यकर्ताले आशा गरिरहेका बेला, ‘तिमी मकै लगाउँछौ भने म भैँसी पाल्छु’ भन्ने शैलीको कलह र सङ्कीर्णता देखिनु दुर्भाग्यपूर्ण छ ।
पार्टीलाई बियरको बोतल झैँ छचल्काउने र आफ्ना महत्त्वाकाङ्क्षा पुरा गर्नका लागि मात्र पाखुरा सुर्कने प्रवृत्तिले नेतृत्व निर्माणमा कति आघात पुर्यायो ?
तर, यहाँ केही प्रश्नहरू अनुत्तरित छन् । के मदन भण्डारीको अवसानपछि हस्तीत्रय केपी ओली, माधव नेपाल र वामदेव गौतमबिचको बेमेल इतिहासको माग थियो ? यो त्रिकोणले मिलेर सीपी र झलनाथको सम्भावित असन्तुष्टिबाट एमालेको रक्षा गर्न किन सकेन ? किन तत्कालीन कार्यवाहक महासचिव माधव नेपाल विरुद्ध ‘महासचिव हटाऊ’ अभियान छेडियो ?
पार्टीलाई बियरको बोतल झैँ छचल्काउने र आफ्ना महत्त्वाकाङ्क्षा पुरा गर्नका लागि मात्र पाखुरा सुर्कने प्रवृत्तिले नेतृत्व निर्माणमा कति आघात पुर्यायो ? किन ०५४ सालमा पार्टी विभाजन भयो ? एकतापछि पनि गुटबन्दीको ‘मिसाइल परीक्षण’ किन रोकिएन ?
नेकपाको एकता जोगाउन नसक्नुमा बहुदलीय जनवादका पक्षधरहरूकै तुष किन मुख्य कारण बन्यो ? ओली बेठिक थिए भने नेकपा कालमै किन विधि र पद्धतिबाट समाधान खोजिएन ? आज सारा दोष उनीमाथि मात्रै थोपर्नु कत्तिको न्यायोचित छ ? अगेनोमा रोटी सेक्नेहरूलाई त यो खेलमा रमाइलो होला, तर दाउरा बोक्ने कार्यकर्ताको प्रश्न र पीडा अझै अनुत्तरित छ ।
मदन भण्डारीको रूपमा आशा गरिएका महासचिव शङ्कर पोखरेल बहुदलीय जनवाद पक्षधरको एकतामा छिना चलाउनेहरूका अगाडि निरीह देखिए विगतमा । तर, आफ्नै नाकैमुनिको ओली र विष्णु पौडेलबिचको दरारमा सियो बनेर सिउनुको सट्टा कैँची बनेर काट्ने हतारो एमालेलाई अहिले भारी परिरहेको छ ।
त्यागको प्रतिमूर्ति मदनको शिष्य हुन कम्तीमा गुटको स्वार्थभन्दा माथि उठ्नुपर्ने हो । तर तथ्य र विगतका पदचापहरू निराशाजनक छन् । पोखरेलले गुटको राजनीतिबाट केही सफलता हासिल गरेका छन् । त्यसलाई यसरी लिपिबद्ध गर्न सकिन्छ ।
पहिलो, अप्ठ्यारोमा अखिल थामेका घनश्याम भुसाल र गोकर्ण विष्टलाई पाखा लगाएर भारत प्रवासबाट आउनासाथ ०४८ मा अनेरास्ववियुको अध्यक्ष बन्नु ।
दोस्रो, कांग्रेसमय मध्यपश्चिमाञ्चलको दाङ क्षेत्र नं. ३ मा ०४८ मा कठिन जित निकालेका शिवराज गौतमको ठाउँमा ०५१ मा टिकट हत्याउनु ।
तेस्रो, नवौँ महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको उपस्थिति हुँदाहुँदै, पराजित उपमहासचिवको हैसियतबाट सिधै दशौँ महाधिवेशनमा महासचिव बन्नु ।
चौथो, माधव, झलनाथ र वामदेवको बहिर्गमन तथा प्रचण्ड, ईश्वर र विद्याको ओलीसँगको टक्करबाट उत्पन्न परिस्थितिलाई आफ्नो महत्त्वाकाङ्क्षा पूर्ति गर्न प्रयोग गर्नु ।
महासचिव पोखरेलको कमजोरी के हो भने, उनले ओलीलाई पिस्ने गुटको जाँतोले गोकर्ण विष्ट, शिवराज गौतम र घनश्याम भुसाललाई पिसे जस्तै सजिलो ठानिरहेका छन् ।
पुनर्गठनको नाममा भइरहेको यो ‘पुनर्पतन’ रोकिनुपर्छ । ओलीको जग हल्लाउने यो हर्कतमा पोखरेललाई विगतमा जस्तो ‘शङ्काको सुविधा’ प्राप्त छैन । उनको असली अनुहार उदाङ्गिएको छ । प्रदीप ज्ञवाली जस्ता त्यागी र निष्कपट नेताका लागि महासचिव पद त्याग नगर्दा नै उनको छविमा धक्का लागेको थियो । काशीनाथ अधिकारीलाई रोक्नु र ईश्वरी रिजाललाई छल गर्नुले उनको नियत प्रस्ट पार्छ । योगेश भट्टराई जस्तालाई ‘बैगुनी’ को बिल्ला भिराउनु पनि भुल थियो ।
फुटबलका महान् खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदानले भनेका छन्, ‘च्याम्पियन ती होइनन्, जसले कहिल्यै दुःख भोग्दैनन्, च्याम्पियन त ती हुन्, जसले कठिनाइ सहन्छन् र फेरि उठेर देखाउँछन् ।’
कुनै बेला १२ जनाको स्थायी कमिटीमा एक्लो पर्दा त चक्रव्यूह तोडेर निस्किएका ओलीका लागि अहिलेको सचिवालयको समीकरण ‘हात्तीका अगाडि माकुरोको जालो’ मात्र हो । कार्यकर्ताको अदालतमा ओलीको हैसियत पिरामिड जस्तै बलियो छ । तर अरूको हैसियत ‘सोली’ जस्तो छ । यो यथार्थ बुझ्न नसक्नु नै नेतृत्वको ओरालो यात्राको कारण हो । त्यसैले ओली विरुद्धको कपट र बहुदलीय जनवादका पक्षधरहरूबिच भाँजो हाल्ने खेल तुरुन्तै बन्द हुनुपर्छ ।
एमालेको वर्तमान नाजुक स्थिति फुटबल विश्वकपको कुनै महत्त्वपूर्ण खेलमा पछि परेको महाशक्ति अर्जेन्टिनाको पीडादायी चरण जस्तै हो । यतिबेला घात–प्रतिघात होइन, संयम र सहिष्णुता आवश्यक छ । लियोनेल मेस्सीले नेतृत्व गरेको अर्जेन्टिनाले जस्तै, ओलीले नेतृत्व गरेको एमालेले ०६४ सालको कठिन समयबाट पुनरागमन गरेको इतिहास छ ।
आज एमालेमा पुनर्गठन होइन, ‘पुनर्जागरण’ को आवश्यकता छ । घोर निराशाबिच आशाको किरण छर्नु छ । यसका लागि निष्ठा नडगमगाएको र नीतिमा प्रस्ट नेतृत्वप्रतिको सम्मान र रक्षा पहिलो सर्त हो । नेतृत्व र टिमवर्कको सन्दर्भमा मेस्सी र अर्जेन्टिनाको उदाहरण एमालेका लागि सान्दर्भिक छ ।
फुटबलका महान् खेलाडी तथा प्रशिक्षक जिनेदिन जिदानले भनेका छन्, ‘च्याम्पियन ती होइनन्, जसले कहिल्यै दुःख भोग्दैनन्, च्याम्पियन त ती हुन्, जसले कठिनाइ सहन्छन् र फेरि उठेर देखाउँछन् । नेतृत्व भनेको असम्भव मोडमा पनि टोलीमा जितको विश्वास जगाउनु हो ।’
शिव पाठकले भने जस्तै जीवनमा कहिल्यै अन्तिम सिट्ठी नबजेसम्म हार स्वीकार गर्नु हुँदैन । सबैभन्दा सुन्दर जित प्रायः सबैले हारिसक्यो भन्ठानेको क्षणपछि नै जन्मिन्छ । अर्जेन्टिनाको त्यो रोमाञ्चक खेल र जिदानका मर्मस्पर्शी भनाइहरू आज लय गुमाइरहेको एमालेलाई आफ्नो शक्ति चिनाउनका लागि पर्याप्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण