बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन:  प्रकाश बराल

बिहीबार, ३२ असार २०८३, १५ : २७
बिहीबार, ३२ असार २०८३

सारांश

  • अन्य प्रदेशमा सरकार फेरबदलको शृङ्खला चलिरहे पनि गण्डकी प्रदेशमा भने कांग्रेसले केन्द्रको निर्देशन कुर्ने र प्रदेशको आवश्यकता अनुसार निर्णय लिने बताएको छ ।
  • गण्डकी प्रदेशका प्रमुख सचेतक प्रकाश बरालले केन्द्रले निर्णय गर्दा समीकरण फेरिने निश्चित रहेको तर गण्डकीको विशिष्ट अवस्थालाई ध्यानमा राखेर निर्णय लिन आग्रह गरेका छन् ।
  • बरालले गण्डकी प्रदेशमा नेपाली कांग्रेस ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने र यसका लागि आवश्यक रणनीति बनाइने बताएका छन् ।

पोखरा । अन्य प्रदेशहरूमा राजनीतिक समीकरण परिवर्तनका सन्दर्भमा चालेका कदमको प्रत्यक्ष प्रभाव गण्डकीसम्म आइपुग्ने पक्का छ । सुदूरपश्चिम, कर्णाली लगायतका प्रदेशमा सरकार फेरबदलको शृङ्खला अघि बढिसकेको छ । बागमती र कोशी प्रदेशले पनि समीकरण फेर्ने गरी निर्णय गरिसकेका छन् ।

गण्डकी प्रदेशको सत्ता राजनीति भने अरू प्रदेशभन्दा फरक छ । तर, केन्द्रीय नेतृत्वले गरेको निर्णय स्विकार्न यहाँका सांसद पनि बाध्य छन् ।  केन्द्रले निर्णय गर्दा स्वाभाविक रूपमा समीकरण फेरिने निश्चित छ । यसै सन्दर्भमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

केही प्रदेशमा कांग्रेस-एमाले बिचकाे सत्ता गठबन्धन भत्किएसँगै गण्डकीमा पनि त्यो बाछिटा आइपुग्ने देखिएको छ । यो गतिविधिलाई गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कसरी हेरिरहेको छ ?
वास्तवमा विगतमा भएको सातबुँदे सहमतिभन्दा विपरीत गएर सुदूरपश्चिम प्रदेशमा बजेट अड्काउने खेल भयो । त्यसका कारण विभिन्न प्रदेश सरकारहरूमा समीकरणमै हलचल आएको छ । कतै मन्त्रीहरुले राजीनामा दिने त कतै बर्खास्त गर्ने जस्ता गतिविधि भइरहेका छन् । यस प्रकारको अस्थिरता वास्तवमै सुखद् होइन ।

हामीले जुन पृष्ठभूमि र परिस्थितिमा सहमति गरेका थियौं, त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने गरी पछिल्लो समय नयाँ जनादेशजस्तो अवस्था देखियो । गत भदौ २३ र २४ गतेको आन्दोलन र त्यसपछि फागुन २१ गते विकसित राजनीतिक घटनाक्रमले आम नागरिकमा एक प्रकारको निराशा र नयाँपनको खोजी देखायो । यस्तो परिस्थितिमा पुराना भनिएका दलहरू अझ बढी संवेदनशील र जिम्मेवार हुनुपर्ने हो, तर अहिले अप्राकृतिक रूपमा सरकार छाड्ने र गिराउने खेल भइरहेका छन् ।

सुदूरपश्चिमकै उदाहरण हेर्ने हो भने, संयुक्त सरकारले प्रस्तुत गरेको बजेटमा सत्ता साझेदार दलकै माननीयज्यूहरूले खर्च कटौती प्रस्ताव ल्याउने र बजेट पारित गर्न असहयोग गर्ने जस्ता गैरसंसदीय गतिविधिहरू भए । त्यसैको प्रभाव स्वरूप अहिले अन्य प्रदेशमा पनि उतारचढाव देखिएका हुन् । तर, नेपाली कांग्रेस यस विषयमा संवेदनशील र जिम्मेवार छ । गण्डकी प्रदेशको हकमा हामी हिजोलाई भन्दा पनि वर्तमान परिस्थितिलाई हेरेर अगाडि बढ्ने सोचमा छौँ ।

अन्य प्रदेशमा त सरकार फेरबदलको गतिविधि अगाडि बढिसक्यो । गण्डकी प्रदेशमा कांग्रेसले केन्द्रको निर्देशन कुर्छ कि यहाँको आवश्यकता अनुसार फरक निर्णय गरेर अगाडि बढ्ने सामर्थ्य राख्छ ?
अहिले हाम्रो राजनीतिक प्रणालीमा प्रदेश तहले पूर्ण रूपमा स्वतन्त्र निर्णय गर्ने परिपाटी विकास भइसकेको छैन, यो यथार्थ हो । तर हाम्रो जोड के हो भने, गण्डकी प्रदेशको विद्यमान परिस्थिति, आवश्यकता र सम्भावनालाई केन्द्रले पनि बुझिदिनुपर्छ । हामीले केन्द्रसँग पनि हाम्रो प्रदेशको विशिष्ट अवस्थालाई ध्यानमा राखेर निर्णय लिन र हामीलाई सोही अनुसार अगाडि बढ्ने अनुमति दिन आग्रह गरिरहेका छौँ ।

हामी यहाँको राजनीतिक गतिविधि र सरकार सञ्चालनलाई जनचाहना र भावना अनुसार अगाडि बढाउन सक्षम छौँ । केन्द्रले पनि यहाँको वस्तुस्थिति बुझेर निर्णय लिनेछ भन्ने हाम्रो विश्वास छ । सोही कारण अन्य प्रदेशमा जस्तो तीव्र अस्थिरता अहिल्यै गण्डकीमा देखिइसकेको छैन । हामीले हाम्रो नेतृत्वलाई यहाँको यथार्थ समयमै बुझाउन सफल भएका छौँ ।

भनेपछि, गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र सरकारबिचको सम्बन्ध सुमधुर छ र यसलाई नै निरन्तरता दिने पक्षमा हुनुहुन्छ ?
हो, गण्डकी प्रदेशमा हामीले संविधानको व्यवस्था अनुसार नै बजेट प्रस्तुत गर्‍यौँ, छलफल गर्‍यौँ र सत्तापक्ष तथा प्रतिपक्षबिच अत्यन्तै सौहार्दपूर्ण वातावरणमा बजेट पारित पनि गर्‍यौँ । यसले के देखाउँछ भने यहाँ सत्ता साझेदार दलहरू र प्रतिपक्षबिच पनि एक प्रकारको समझदारी छ । बिनाकारण असमझदारी बढाउने पक्षमा हामी छैनौँ, तर राजनीति सधैँ सोचेजस्तो सरल रेखामा चल्दैन । केन्द्रमा समीकरण बदलिँदा त्यसको बाछिटा प्रदेशमा पर्नु स्वाभाविक हो । त्यस्तो अवस्था आएमा कसरी अगाडि बढ्ने भन्नेमा पनि हामी सचेत छौँ ।

केन्द्रको समीकरणका कारण प्रदेशमा पनि नयाँ परिस्थिति बन्ने अवस्था आयो भने नेपाली कांग्रेस नयाँ सत्ता समीकरण निर्माणमा कसरी प्रस्तुत हुन्छ ?
नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्दा आम नागरिकमा अधिकतम आशा जगाउने प्रयास गरेको छ । हामीले सुरु गरेका दीर्घकालीन महत्त्वका योजना, नीति तथा कार्यक्रमहरूलाई पूर्णता दिन पनि कांग्रेसकै नेतृत्व आवश्यक छ भन्ने हाम्रो बलियो दाबी हो । कांग्रेससँग सरकारको नेतृत्व दाबी गर्ने पर्याप्त आधार र विकल्प छन् । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस ठुलो दल हो । हामीसँग अनेकौँ विकल्प खुला छन् र कांग्रेसले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने गरी आवश्यक रणनीति बनाउनेछ ।

भनेपछि, आगामी सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै पाउनुपर्छ भन्ने यहाँको निष्कर्ष हो ?
आम जनताको अभिमत पनि यही हो । गण्डकी प्रदेशमा नेपाली कांग्रेस प्रमुख दलको रूपमा स्थापित छ । हामीलाई स्पष्ट बहुमतका लागि केही सिटमात्र नपुगेको अवस्था हो । त्यसैले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् र त्यसले स्थिरता दियोस् भन्ने जनचाहना छ । हामी सबै दलहरू मिल्न सक्ने संवैधानिक व्यवस्था र सम्भावनालाई आत्मसात् गर्दै कांग्रेसकै नेतृत्वमा अगाडि बढ्ने दिशामा सकारात्मक छौँ ।

यस विषयमा अन्य दलहरूसँग औपचारिक वा अनौपचारिक संवादहरू सुरु भएका छन् कि कांग्रेसको चाहनामात्र हो ?
हाम्रो प्रदेशमा सत्ता साझेदार दलहरूबिचको असमझदारीका कारण सरकार ढल्ने वा अस्थिर बन्ने परिस्थिति निर्माण नहोस् भन्नेमा नेपाली कांग्रेस अत्यन्तै सचेत छ । हामीले अन्य प्रदेशका घटनाहरूलाई नजिकबाट नियालिरहेका छौँ । अहिले जुन परिस्थिति बनेको छ, यो गण्डकीले सिर्जना गरेको होइन । तर, केन्द्रले निर्णय गरिदियो भने त्यो लागु गर्ने हाम्रो पनि दायित्व हो । अहिले नै नयाँ गठबन्धनका लागि औपचारिक रूपमा संवाद गरिएको छैन । तर, उपलब्ध विकल्प र दलको सिट संख्याका आधारमा छलफल अघि बढ्छ । उपयुक्त समयमा प्रदेशको हितलाई केन्द्रमा राखेर हामी आवश्यक निर्णय लिनेछौँ ।

गण्डकी प्रदेशमा कांग्रेसले चाहेजस्तै राजनीतिक स्थिरता कायम राख्नका लागि केन्द्रलाई कस्तो सुझाव दिनुहुन्छ ?
राजनीति जवाफदेहिता, नैतिकता र मूल्यमान्यतामा चल्नुपर्छ । हामीले आफ्नो अनुकूलताका लागि मात्र कुरा गरिरहेका छैनौँ । गण्डकी प्रदेशमा राजनीतिक दलहरूबिच जुन सुमधुर सम्बन्ध र सहकार्यको वातावरण छ, त्यसलाई केन्द्रले पनि सम्मान गर्नुपर्छ । फेरि केन्द्रले गरेको निर्णयलाई पनि हामीले सम्मान गर्नुपर्छ ।

हामीले एमालेसँग पनि धेरै विषयमा असहमति नराखीकन सरकार सञ्चालन गरिरहेका छौँ । यदि केन्द्रबाट कुनै नयाँ निर्णय आउँछ भने पनि हामी हाम्रो विशिष्ट परिस्थितिलाई केन्द्रसमक्ष राख्नेछौँ र गण्डकीको हकमा सबैभन्दा उपयुक्त र सुहाउँदो विकल्प प्रयोग गर्न केन्द्रलाई सहमत गराउनेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप