बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल

बिहीबार, ३२ असार २०८३, २१ : १६
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच छलफल सुरु भएको छ ।

जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि आज साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका हुन् । 

पीडित पक्षका प्रतिनिधिहरूलाई सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाएको थियो । गृहमन्त्री सुधन गुरुङले सिमराबाट पीडित पक्षको वार्ता टोलीका सदस्यहरूलाई विमान चढाएर काठमाडौँ पठाएका हुन् । 

पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् । उक्त टोलीमा संयोजक कुश्वाहाका साथै मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन् ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि सरकारी वार्ता टोली गठन गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन् ।

जनकपुरबाट पीडितहरू पैदलै काठमाडौँतर्फ प्रस्थान गरेपछि सरकारले यस विषयमा चासो देखाएको थियो । जनकपुरबाट हिँडेको छैटौँ दिनमा उनीहरू निजगढ आइपुगेका थिए । सरकारसँग वार्ता गर्न राजी भएपछि उनीहरूलाई सिमराबाट काठमाडौँ ल्याएर वार्ता प्रक्रिया अघि बढाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप