यसपटक विश्वकपमा कति छ पुरस्कार राशि ? विजेता र अरु टोलीले कति कति पाउँछन् ?
सारांश
- फिफाले २०२६ विश्वकपका लागि ६५ करोड ५० लाख अमेरिकी डलरको पुरस्कार कोष घोषणा गरेको छ, जुन २०२२ को तुलनामा ५० प्रतिशत बढी हो।
- यस विश्वकपमा विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर पाउनेछ।
- प्रतियोगितामा सहभागी सबै ४८ टोलीलाई कम्तीमा १ करोड ५ लाख अमेरिकी डलर सुनिश्चित गरिएको छ र समूह चरणबाट बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर पुरस्कार र १५ लाख अमेरिकी डलर तयारी खर्च पाउनेछन्।
न्युयोर्क । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ को विश्वकपलाई प्रतियोगिताको ९६ वर्षे इतिहासकै सबैभन्दा भव्य संस्करण हुने बताएका थिए।
प्रतियोगितामा पहिलो पटक ४८ टोलीको सहभागिता, अहिलेसम्मकै धेरै खेल, धेरै आयोजक सहर र गोलको वर्षाले उनको दाबीलाई पुष्टि गरेको छ।
लियोनेल मेस्सी, किलियन एम्बाप्पे, जुड बेलिङ्घम, एर्लिङ हालान्डलगायत विश्व फुटबलका सुपरस्टारहरूले प्रतियोगितालाई रोमाञ्चक बनाइरहेका छन्। विश्वकपको आकार बढेसँगै आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। त्यसैले फिफाले यसपटक इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि वितरण गर्न लागेको छ।
- पुरस्कार राशि कसरी बाँडिन्छ?
गत डिसेम्बरमा फिफाले २०२६ विश्वकपका लागि ६५ करोड ५० लाख अमेरिकी डलर (करिब रु. १ खर्ब १ अर्ब ७ करोड ९६ लाख नेपाली रुपैयाँ) बराबरको पुरस्कार कोष घोषणा गरेको थियो। यो रकम सन् २०२२ को कतार विश्वकपको तुलनामा ५० प्रतिशत बढी हो।
आइतबार हुने स्पेन र अर्जेन्टिनाबीचको फाइनलको विजेताले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ७१ करोड ६० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछ। उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर (करिब ५ अर्ब ९ करोड २५ लाख ६० हजार नेपाली रुपैयाँ) पाउनेछ।
शनिबार हुने तेस्रो स्थानको खेलमा विजयी हुने टोलीले २ करोड ९० लाख अमेरिकी डलर (करिब ४ अर्ब ४७ करोड ५२ लाख ८० हजार नेपाली रुपैयाँ) प्राप्त गर्नेछ भने चौथो हुने टोलीले २ करोड ७० लाख अमेरिकी डलर (करिब ४ अर्ब १६ करोड ६६ लाख ४० हजार रुपैयाँ) पाउनेछ।
क्वार्टरफाइनलबाट बाहिरिएका मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डले समान १ करोड ९० लाख अमेरिकी डलर (करिब २ अर्ब ९३ करोड २० लाख ८० हजार नेपाली रुपैयाँ) पाउनेछन्।
अन्तिम १६ बाट बाहिरिएका आठ टोलीले १ करोड ५० लाख अमेरिकी डलर (करिब २ अर्ब ३१ करोड ४८ लाख) प्राप्त गर्नेछन् भने अन्तिम ३२ बाट बाहिरिएका १६ टोलीलाई १ करोड १० लाख अमेरिकी डलर (करिब १ अर्ब ६९ करोड ७५ लाख २० हजार नेपाली रुपैयाँ) प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सबै ४८ टोलीलाई कम्तीमा १ करोड ५ लाख अमेरिकी डलर (करिब १ अर्ब ६२ करोड ३ लाख ६० हजार नेपाली रुपैयाँ) सुनिश्चित गरिएको छ। समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर (करिब १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ) पुरस्कार र तयारी खर्चका लागि १५ लाख अमेरिकी डलर (करिब २३ करोड १४ लाख ८० हजार नेपाली रुपैयाँ) अतिरिक्त प्राप्त गर्नेछन्।
यी सबै पुरस्कार रकम सम्बन्धित देशका फुटबल संघलाई दिइनेछ। त्यसपछि ती संघहरूले खेलाडी, प्रशिक्षक र अन्य सदस्यबीच कसरी वितरण गर्ने भन्ने निर्णय आफैँ गर्नेछन्। धेरै देशले बाँकी रकम घरेलु फुटबल विकासमा खर्च गर्ने गर्छन्।
उदाहरणका लागि, यस विश्वकपका सह–आयोजकमध्ये एक अमेरिका अन्तिम १६ सम्म पुगेर बाहिरिएपछि १ करोड ५० लाख अमेरिकी डलर (करिब २ अर्ब ३१ करोड ४८ लाख) प्राप्त गर्नेछ। सन् २०२२ मा भएको सम्झौताअनुसार, यदि महिला टोली अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपमा छनोट भएमा विश्वकपमा प्राप्त रकममध्येबाट ८० प्रतिशत अमेरिकी पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीबीच बराबरी बाँडिनेछ। यता, इंग्ल्यान्डका खेलाडीहरूले भने राष्ट्रिय टोलीबाट प्रत्येक खेल खेलेबापत पाउने २ हजार पाउन्ड परोपकारी संस्थालाई दान गर्ने गरेका छन्।
फिफाले ४८ टोलीसहितको पहिलो विश्वकपबाट १० अर्ब अमेरिकी डलर (करिब १ खर्ब ५४ अर्ब ३२ करोड) भन्दा बढी आम्दानी हुने अनुमान गरेको छ।
- अघिल्ला विश्वकपसँग तुलना
२०२२ को कतार विश्वकपमा विजेता अर्जेन्टिनाले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो। यसपटक विजेताले त्यसभन्दा ८० लाख अमेरिकी डलर बढी प्राप्त गर्नेछ। यसपटकको उपविजेताले पनि २०२२ मा फ्रान्सले पाएको भन्दा ३० लाख अमेरिकी डलर बढी पाउनेछ। तेस्रो र चौथो स्थानको पुरस्कारमा पनि २०–२० लाख अमेरिकी डलर वृद्धि गरिएको छ।
फिफाले पहिलो पटक १९८२ को विश्वकपदेखि पुरस्कार राशिको सार्वजनिक घोषणा गर्न थालेको थियो। त्यसबेला स्पेनमा विश्वकप जितेको इटालीले केवल २२ लाख अमेरिकी डलर (करिब ३३ करोड ९५ लाख ४ हजार नेपाली रुपैयाँ) पुरस्कार पाएको थियो। त्यसयता प्रत्येक विश्वकपमा पुरस्कार रकम निरन्तर बढ्दै आएको छ। यसपटकको विजेताले ४४ वर्षअघि इटालीले पाएको रकमभन्दा २० गुणाभन्दा बढी पुरस्कार प्राप्त गर्नेछ।
- विजेता टोलीले अरू के पाउँछ?
विश्वकप जित्ने टोलीका २६ खेलाडी र प्रशिक्षक मण्डलका प्रत्येक सदस्यलाई तत्कालै स्वर्ण पदक प्रदान गरिनेछ। उपविजेताले रजत पदक र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। सन् १९७८ अघिसम्म फाइनल खेल्ने सुरुवाती ११ खेलाडीलाई मात्र पदक दिइन्थ्यो। तर सन् २००७ मा फिफाले १९७४ र त्यसअघिका विश्वविजेता टोलीका फाइनलमा नखेलेका सदस्यलाई पनि १२२ वटा विजेता पदक पछिल्ला वर्षहरूमा प्रदान गर्ने निर्णय गरेको थियो।
फाइनल खेलका रेफ्री र अन्य म्याच अफिसियलले पनि प्रतियोगिताभरको प्रदर्शनका आधारमा छनोट भई पदक प्राप्त गर्नेछन्।
त्यसैगरि, फाइनलपछि प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ र सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिनेछ। यसपटक गोल्डेन बुटका लागि लियोनेल मेस्सी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड, जुड बेलिङ्घम र ह्यारी केनबीच कडा प्रतिस्पर्धा छ।
यद्यपि यी व्यक्तिगत पुरस्कारसँग कुनै नगद पुरस्कार जोडिएको हुँदैन। खेलाडीहरूले प्राप्त गर्ने सबैभन्दा ठूलो सम्मान भनेको विश्व फुटबलको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाउनु नै हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण