शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ

शनिबार, ०२ साउन २०८३, ०९ : ००
शनिबार, ०२ साउन २०८३

सारांश

  • लियोनल मेस्सीले इंग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई २-१ को पुनरागमन जित दिलाएर फाइनलमा पुर्याएका छन्।
  • ३९ वर्षको उमेरमा पनि मेस्सी टोलीका लागि प्रेरणाका स्रोत बनेका छन् र उनको प्रदर्शनका कारण नवौँ बालोन डी'ओर जित्ने सम्भावना बलियो बनेको छ।
  • युरोपबाहिर खेलेर पनि बालोन डी'ओर जित्न सकिने नियम छ, र मेस्सीले यसअघि पनि युरोपबाहिर खेल्दा यो पुरस्कार जितिसकेका छन्।

लियोनल मेस्सीलाई इंग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलको इन्जुरी समयको ९२औँ मिनेटमा निको ओ’राइली र जेड स्पेन्सले दायाँ किनारातर्फ धकेल्दा इंग्ल्यान्डका समर्थकहरू सास रोकेर हेरिरहेका थिए।

सिक्स यार्ड बक्सभित्र ‘थ्री लायन्स’का चार अग्ला खेलाडी उभिएका थिए र अर्जेन्टिनाका कप्तानलाई पछिल्लो पोस्टमा रहेका लाउटारो मार्टिनेजसम्म बल पुर्‍याउन एकदमै सटीक र त्रुटिरहित क्रसको आवश्यकता थियो। तर, मेस्सीले कुनै पनि क्षण असम्भवलाई सम्भव बनाउन सक्छन् भन्ने कुरा संसारलाई थाहा छ।

ठ्याक्कै भयो पनि त्यही। उनको सटीक क्रस मार्टिनेजको टाउकोमा पुग्यो र बल जोर्डन पिकफोर्डलाई छक्याउँदै जाली चुम्न पुग्यो। यससँगै अर्जेन्टिनाले २–१ को पुनरागमन जित निकाल्दै २०२६ विश्वकपको फाइनलमा स्थान बनायो।

गोलकर्ता मार्टिनेजभन्दा पनि अर्जेन्टिनाका अधिकांश खेलाडी र प्रशिक्षक टोली मेस्सीतर्फ दौडिए। ३९ वर्षको उमेरमा पनि उनी टोलीका लागि कति ठूलो प्रेरणाका स्रोत हुन् भन्ने त्यो दृश्यले फेरि प्रमाणित गर्‍यो। साथै, उनले फेरि एकपटक आफ्नो देशलाई कठिन अवस्थाबाट उकासेर फाइनलसम्म पुर्‍याएकोमा टोलीले दिएको त्यो एक सम्मान पनि थियो।

खेलको अन्तिम ३० मिनेटमा मेस्सीले इंग्ल्यान्डको रक्षापङ्क्तिलाई तहसनहस बनाए। प्रशिक्षक थोमस टुचेलको रक्षात्मक रणनीतिले उनलाई केही सहजता दिएको भए पनि आठ पटकका बालोन डी’ओर विजेताले त्यसको निर्दयी रूपमा फाइदा उठाए। यही प्रदर्शनका कारण उनले यस वर्ष नवौँ बालोन डी’ओर जित्ने सम्भावना बलियो बनेको छ। विस्तारित विश्वकपमा उनी सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा देखिएका छन्।

GOAL - Blank WEB - X(6).jpg

यदि उनले फाइनलमा स्पेन तथा बार्सिलोनामा आफ्नै उत्तराधिकारी मानिएका लामिन यामालविरुद्ध पनि यस्तै प्रदर्शन गरे भने उनको नवौँ बालोन डी’ओर लगभग निश्चित हुनेछ। अर्जेन्टिना फाइनलमा कागजमा कमजोर टोली मानिए पनि स्पेनले सानो गल्ती मात्र गर्‍यो भने पनि अर्जेन्टिनाले उपाधि जोगाउने सम्भावना निकै बलियो छ। टोलीको अटल आत्मविश्वास र मेस्सीको जित्ने अतृप्त भोक नै त्यसको मुख्य आधार हो।

  • अद्वितीय सङ्घर्ष गर्ने टोली

सेमिफाइनलअघि उत्तर अमेरिकामा अर्जेन्टिनाको प्रदर्शन धेरै प्रभावशाली देखिएको थिएन। समूह चरण सहजै पार गरे पनि नकआउटमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डविरुद्ध कठिन सङ्घर्ष गर्नुपरेको थियो। तीमध्ये दुई खेल अतिरिक्त समयमा पुगेका थिए।

कतार २०२२ मा अर्जेन्टिना अझ सन्तुलित टोली थियो। त्यसबेला उपाधि जित्ने टोलीका नौ खेलाडी यसपटक टोलीमा थिएनन्। विशेष गरी एन्जेल डी मारियाको अनुपस्थितिले टोलीलाई निकै असर गर्‍यो।

डी मारियाबिना अर्जेन्टिनाले दायाँ र बायाँ किनारबाट आक्रमण विस्तार गर्न सकेको छैन। साँघुरो मिडफिल्डका कारण प्रतिद्वन्द्वीले काउन्टर आक्रमणका लागि धेरै खाली स्थान पाइरहेका छन्।

तर, अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति भनेको उनीहरूको सङ्घर्ष गर्ने क्षमता हो। यो टोली अन्तिम सिट्ठी नबजुञ्जेल हार मान्दैन। दबाब जति बढ्छ, उनीहरूको प्रदर्शन त्यति नै उत्कृष्ट बन्छ।

त्यसमाथि मैदानमा मेस्सीजस्तो शान्त र अनुभवी नेता छन्। उनी सधैँ बल माग्छन्, टोलीलाई अघि बढाउँछन् र कठिन क्षणमा जिम्मेवारी लिन कहिल्यै पछि हट्दैनन्। प्रशिक्षक लियोनल स्कालोनीको टोली मेस्सीको उपस्थितिबाट ऊर्जा लिन्छ र अन्तिमसम्म लडिरहन्छ।

FotoJet - 2026-07-16T055635.877.jpg

  • जोखिम लिन कहिल्यै नडराउने खेलाडी

मेस्सीको गुणस्तर र विनम्रता आज पनि अविश्वसनीय लाग्छ। उनका चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको करिअर अन्तिम चरणमा ओरालो लाग्दै जाँदा पनि मेस्सी भने आफ्नै प्रशंसामा रमाइरहेका छैनन्।

इन्टर मियामीका कप्तान यस विश्वकपमा अन्य खेलाडीभन्दा बढी समय हिँडेर खेलिरहेका देखिन्छन्। कहिलेकाहीँ उनी सामान्य खेलाडीझैँ पनि देखिन्छन्, जस्तै इंग्ल्यान्डविरुद्धको पहिलो हाफमा। तर, निर्णायक समयमा उनीसँग अझै अर्को स्तरको खेल पस्कने क्षमता छ।

इंग्ल्यान्डविरुद्ध उनले दुई असिस्ट दिए र नौ पटक सफल ड्रिब्लिङ गरे। विश्वकपको नकआउट चरणमा यस्तो उपलब्धि पहिलो पटक देखिएको हो।

हाल उनी आठ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। उनले थप चार असिस्ट पनि दिएका छन्, जुन प्रतियोगिताका शीर्ष असिस्टकर्ता माइकल ओलिसेभन्दा केवल एकले कम हो।

तर तथ्याङ्कभन्दा पनि महत्त्वपूर्ण कुरा, मेस्सीको प्रत्येक निर्णयको स्पष्ट उद्देश्य हुन्छ। जहाँ धेरै खेलाडी सुरक्षित पास खेल्छन्, त्यहाँ मेस्सी जोखिमपूर्ण तर खेल बदल्ने पास दिन वा एक्लै ड्रिब्लिङ गर्दै अघि बढ्न रुचाउँछन्। दुई दशकभन्दा लामो करिअरपछि पनि विपक्षीले उनलाई रोक्ने उपाय फेला पार्न सकेका छैनन्।

  • ‘म अहिले खेलको आनन्द लिन चाहन्छु’

धेरैको बुझाइमा मेस्सीको दीर्घकालीन सफलताको कारण केवल जन्मजात प्रतिभा हो। तर, उनको कठिन परिश्रम र धैर्यलाई प्रायः बेवास्ता गरिन्छ। विश्वकपअघि उनले आफू छैटौँ विश्वकप खेल्ने कि नखेल्ने भन्नेबारे लामो समयसम्म स्पष्ट पारेका थिएनन्। आफू उच्च स्तरमा योगदान दिन सक्ने अवस्थामा मात्रै राष्ट्रिय टोलीमा आउने उनको अडान थियो।

इंग्ल्यान्डलाई हराएपछि उनले भनेका थिए, "एक वर्षदेखि म यही प्रतियोगिताका लागि तयारी गरिरहेको थिएँ। उत्कृष्ट अवस्थामा पुग्न मैले सबै प्रयास गरेको थिएँ। अहिले म केवल खेलको आनन्द लिन चाहन्छु। यो मेरो अन्तिम विश्वकप हो कि होइन, त्यसबारे म अहिले सोचिरहेको छैन।"

उनले थपे, "यो टोलीले कहिल्यै प्रयास गर्न छाड्दैन। हामी फुटबल र दृढ इच्छाशक्तिका साथ जित्न मैदानमा उत्रिएका थियौँ र फेरि विश्वकप फाइनलमा पुगेका छौँ।"

कतार विश्वकपमा मेस्सीको एक मात्र लक्ष्य उपाधि जित्नु थियो। त्यसबेला उनी अत्यन्त दबाबमा थिए। अहिले भने उनी पहिलेभन्दा धेरै शान्त र रमाइलो गर्दै खेलिरहेका देखिन्छन्।

  • यामाललाई पछि पार्ने अवसर

स्पेनले फ्रान्सविरुद्ध देखाएको प्रभुत्व अर्जेन्टिनाविरुद्ध दोहोर्‍याउन सजिलो हुनेछैन। फ्रान्सका केलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसेलाई स्पेनले पूर्ण रूपमा निष्क्रिय बनाएको थियो।

तर, अर्जेन्टिना मानसिक रूपमा निकै बलियो टोली हो। प्रशिक्षक स्कालोनीसँग लामिन यामाललाई रोक्ने योजना हुने निश्चित छ। यामालले यस विश्वकपमा आफ्नो प्रतिभाको केही झल्को देखाए पनि उनी अझै पूर्ण लयमा पुगेका छैनन्। त्यसैले फाइनलपछि गोल्डेन बल वा बालोन डी’ओरको प्रतिस्पर्धामा मेस्सीसँग बराबरी गर्ने उनको सम्भावना निकै कम देखिन्छ।

यदि स्पेन विजयी हुँदै यामालले धेरै गोल गरे भने मात्र उनको सम्भावना बलियो बन्न सक्छ। अन्यथा क्लब फुटबलमा ह्यारी केनको उत्कृष्ट सिजन र विश्वकपमा मेस्सीको प्रभावशाली प्रदर्शनका कारण मेस्सी नै अग्रपङ्क्तिमा रहनेछन्।

  • एमएलएसमा पनि उस्तै चमक

सन् २०२३ मा मेस्सीले विश्वकप प्रदर्शनकै कारण एर्लिङ हालान्डलाई पछि पार्दै बालोन डी’ओर जितेका थिए। त्यसबेला उनले पीएसजीबाट ‘लिग १’ जित्दै गोल र असिस्ट गरेर उत्कृष्ट सिजन बिताएका थिए। यसपटक पनि अवस्था मिल्दोजुल्दो छ।

इन्टर मियामीलाई क्लब इतिहासकै पहिलो एमएलएस कप जिताउने क्रममा उनले प्लेअफका छ खेलमा १३ गोलमा प्रत्यक्ष योगदान दिए। नियमित सिजनमा २९ गोलसहित गोल्डेन बुट पनि जिते।

चोटका कारण केही समय मैदानबाहिर बस्नुपरे पनि उनले सिजनको सुरुआतदेखि नै उत्कृष्ट लय कायम राखेका छन्। २०२६ को एमएलएस सिजनका पहिलो १५ खेलमध्ये १३ खेलमा पूरा समय खेल्दै उनले २० गोलमा योगदान दिएका छन्।

एमएलएस अझै युरोपका शीर्ष पाँच लिगजत्तिकै प्रतिष्ठित छैन। तर, मेस्सीको प्रदर्शन र कीर्तिमानी तथ्याङ्कले इन्टर मियामीलाई नयाँ उचाइमा पुर्‍याएको छ। यी सबै उपलब्धिले उनको बालोन डी’ओर दाबेदारीलाई अझ बलियो बनाएका छन्।

06.gif

  • अलौकिक कप्तान

विश्व फुटबलमा उत्कृष्ट खेलाडी वरिपरि टोली निर्माण हुनु सामान्य हो। तर, अर्जेन्टिनाले मेस्सीलाई गर्ने सम्मान त्यसभन्दा धेरै माथि छ। टोलीका सबै खेलाडी उनको सफलताका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउन तयार देखिन्छन्। व्यक्तिगत अहङ्कार त्यागेर उनीहरू मेस्सीलाई स्वतन्त्र रूपमा खेल्न सहयोग गर्छन्।

इंग्ल्यान्डविरुद्धको खेलपछि गिउलियानो सिमेओनेले भावुक हुँदै भने, "हामीलाई थाहा छ, मेस्सी ३९ वर्षका भइसके। उनले एउटा फुटबलरले जित्न सक्ने सबै कुरा जितिसकेका छन्। तर, उनी अझै पनि संसारकै उत्कृष्ट बन्न सङ्घर्ष गरिरहेका छन्। त्यसैले हाम्रो एउटै जिम्मेवारी छ– उनका लागि र अर्जेन्टिनाका लागि सबै थोक दिनु।"

यस विश्वकपका लागि अर्जेन्टिनाले ‘ला कुआर्ता एस्ट्रेला’ (चौथो तारा) नामको नयाँ गीतसमेत अपनाएको छ, जसमा चौथो विश्वकप उपाधिको सपना र मेस्सीको अन्तिम विश्वकप यात्रालाई सम्मान गरिएको छ।

विश्व फुटबलमा कुनै सक्रिय खेलाडीलाई यति अलौकिक व्यक्तित्वका रूपमा हेरिएको विरलै पाइन्छ। अझ त्यस्तो अपेक्षालाई बारम्बार पूरा गर्न सक्ने खेलाडी त झन् कम छन्। मेस्सीले विश्वस्तरीय फुटबलरको अर्थ नै फेरि परिभाषित गरिसकेका छन्। त्यसैले यस विश्वकप फाइनलको नतिजा जे भए पनि, उनले नवौँ बालोन डी’ओरका लागि दरिलो दाबी प्रस्तुत गरिसकेका छन्।

  • युरोपबाहिर खेलेर पनि जित्न सकिन्छ बालोन डी’ओर ?

विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका कप्तान मेस्सीले उपाधि जित्न सके नवौँ बालोन डी’ओर पनि उनकै पोल्टामा पर्ने अपेक्षा गरिएको छ। यही बहसबीच बालोन डी’ओरको आधिकारिक ‘एक्स’ (ट्विटर) खाताले पनि एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ– ‘के युरोपेली क्लबबाट नखेलेर पनि बालोन डी’ओर जित्न सकिन्छ ?’

यसको जवाफ पुरस्कार आयोजकहरूले स्पष्ट रूपमा ‘सकिन्छ’ भनेर दिएका छन्। आयोजकका अनुसार सन् १९५६ मा फ्रान्स फुटबल पत्रिकाले स्थापना गरेको बालोन डी’ओर सुरुमा युरोपेली लिगमा खेल्ने उत्कृष्ट युरोपेली खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो।

सन् १९९५ देखि विश्वभरका खेलाडी यसका लागि योग्य मानिए पनि उनीहरू युरोपेली क्लबमा आबद्ध हुनैपर्थ्यो। तर, सन् २००७ देखि त्यो प्रतिबन्ध पूर्ण रूपमा हटाइएको छ। त्यसयता बालोन डी’ओर विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ, उनी कुन महादेशको क्लबबाट खेल्छन् भन्ने आधारमा होइन।

  • युरोपबाहिर खेलेर बालोन डी’ओर जित्ने एक मात्र खेलाडी मेस्सी

युरोपबाहिरको क्लबबाट खेलिरहेको अवस्थामा बालोन डी’ओर जित्ने अहिलेसम्मका एक मात्र खेलाडी लियोनल मेस्सी हुन्। यद्यपि यसमा एउटा विशेष पक्ष पनि छ। बालोन डी’ओरको आधिकारिक वेबसाइटका अनुसार सन् २०२२ देखि पुरस्कारको मूल्याङ्कन क्यालेन्डर वर्षका आधारमा नभई सिजन (अगस्टदेखि जुलाई) का आधारमा गरिन्छ।

त्यसैले मेस्सीले सन् २०२३ मा इन्टर मियामीमा छँदा बालोन डी’ओर ग्रहण गरे पनि निर्णायक मण्डलले उनको मूल्याङ्कन मुख्यतः पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा गरेको प्रदर्शनका आधारमा गरेको थियो। विश्वकप जितेपछि उनले त्यही सिजन पीएसजी छाडेर इन्टर मियामी पुगेका थिए।

अब यदि अर्जेन्टिनाले २०२६ को विश्वकप जितेमा, युरोपेली फुटबल छाडिसकेका मेस्सीले पूर्ण रूपमा इन्टर मियामीबाट खेल्दै बालोन डी’ओर जित्ने सम्भावना कत्तिको बलियो हुन्छ भन्ने प्रश्न फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप